पुनर्निर्माण: “धरहराको भग्नावशेषका इँट कहाँ गए कसैलाई थाहा छैन"

  • 4 डिसेम्बर 2019
धरहरा तस्वीर कपीराइट Alamy/EPA

काठमाण्डूका कम्तीमा दुईवटा होटलमा झण्डै सय वर्ष पुराना पुरातात्विक तथा कलात्मक महत्त्वका इँटाहरू सजावटका रूपमा प्रदर्शनमा राखेको थाहाभएपछि पुरातात्विक महत्वका अन्य महत्त्वपूर्ण अवशेषको सुरक्षाका बारेमा गम्भीर चिन्ताहरू व्यक्त भएका छन्।

सुरुमा समाजिक सञ्जालको एक वेबसाइट ट्विटरमा ती इँटहरू सहित होटलका फोटोहरू राखिएपछि कतिपय समाजिक सञ्जाल प्रयोगकर्ताहरूले भूकम्पका कारण क्षतिग्रस्त धरहरा लगायतका पुरातात्विक तथा सांस्कृतिक महत्वका स्थानहरूबाट अनाधिकृत रूपमा ती इँटहरू लगिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

खुला संग्रहालयका रूपमा चिनिने राजधानी उपत्यकाका प्राचीन तथा ऐतिहासिक स्थलहरूको भग्नावशेषको सुरक्षा, संरक्षणको अवस्था तथा सजावट वा संग्रहणीय वस्तुका रूपमा प्रयोग भएकोप्रति व्यक्त सार्वजनिक अभिव्यक्तिका बारे सत्यतथ्य के हो भन्ने प्रश्नमा काठमाण्डू महानगरपालिकाका एक जना उच्च अधिकारीले यसबारे 'आफूले बुझ्ने' जवाफ बीबीसीलाई दिएका छन्।

तर पुरातत्व विभागका अधिकारीले ऐतिहासिक महत्त्वका इँट , काठ लगायतका भौतिक निर्माणका सामग्री जुनसुकै उपाय गरेर हासिल गरी होटलमा वा अन्य प्रयोगमा राखिएको प्रमाणित भएमा त्यो गैरकानूनी कार्य हुने बताएका छन्।

तस्बिर

यसै साता पत्रकार कशिश दास श्रेष्ठले समाजिक सञ्जाल ट्विटरमा काठमाण्डूको एउटा नयाँ होटलका प्रत्येक कोठामा सन् २०१५ को भुकम्पमा भत्किएका धरहराको इँटहरू राखिएको हुन सक्ने संकेत गर्दै ट्विट गरेका थिए।

श्रेष्ठले लेखेका छन्, 'धरहराको इँटालाई कसरि विक्रि गर्न दिइयो? र किन कुनै होटलले इतिहासकै एउटा पीडादायी भूकम्पको सम्झना दिलाउने र मानिसहरूले धरहरा भत्कदा ज्यान गुमाएको ठाउँको इँटालाई कोठामा सझाउनुलाई उपयुक्त ठान्यो? यसबाहेक पनि यस्ता खरिदका कानूनी मुद्दाहरू पनि छन्।'

उनको पोष्टमा प्रतिक्रिया जनाउँदै अर्का एक जनाले अर्को एउटा होटलले त्यस्तै प्रकृतिका इँटाहरू फ्रेममा हालेर राखेको तस्वीर पोष्ट गरेका थिए।

बीबीसीले ती दुवै होटलका व्यवस्थापकहरूसँग सम्पर्कगरी त्यहाँ प्रयोग भएका ऐतिहासिक इँटाहरूको उदगम के हो, ती कसरी त्यहाँ होटलमा पुगे भन्ने प्रश्न गरेको थियो।

तस्वीर कपीराइट Twitter

त्यसबारे बसेरा बुटिक होटलका व्यवस्थापकले आफूले त्यसबारे बुझेर खबर गर्ने बताए र यो लेख तयार पर्दासम्म हामीले होटलको जवाफ पाएका छैनौँ।

इचिबान रेस्टुराँका व्यवस्थापकले आफूकहाँ सजाएर राखिएका पुराना इँटा कसरी ल्याइएको हो भन्ने थाहा नभएको र ती धरहराको भग्नावशेषका हुन् कि होइनन् यकिन रूपमा भन्न नसक्ने उल्लेख गरे।

बसेरा बुटिक होटलको फेसबुक खातामा प्रत्येक इँटाको पछाडि कथा हुन्छ भन्ने क्याप्सनसँगै १९०९ साल उल्लेख गरिएको एउटा फोटो राखिएको छ।

इचिबान रेस्टुराँले आफ्ना दुई ग्राहक सहितका फोटो राखेको छ जसमा पुराना इँटाहरू फ्रेममा सजाइएको देख्न सकिन्छ।

अधिकारीहरू के भन्छन्?

अधिकारीहरूले ती इँटाहरूबारे आफूले केही भन्न नसक्ने र ती धरहराबाटै लगिएका हुन् होइनन् छुट्याउन गाह्रो हुने प्रतिक्रिया दिएका छन्।

भिमसेन स्तम्भका रूपमा पनि चिनिएको धरहराको निर्माण भिमसेन थापाको पालमा भएको र वि.सं. १९९० सालको भूकम्पमा पुरानो धरहरा भत्किएपछि राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा त्यसको नौलो शैलीमा पुनर्निर्माण गरिएको थियो।

राणाकालमा प्रधानमन्त्रीको शासनकालमा पोलिएका इँटहरूमा त्यसै समयका प्रधानमन्त्रीको नाम र साल अंकित हुने गरेका उदाहरणहरू पाइन्छ। त्यसैले पुराना भवनहरूमा श्री ३ वीर, श्री ३ चन्द्र, श्री ३ भीम, श्री ३ जुद्ध आदी लेखिएका इँटहरू पाउन सकिन्छ।

तर नयाँ बनेका होटलहरूमा प्रदर्शित इँटहरूको यो प्रकरणले ऐतिहासिक र पुरातात्विकत महत्त्वका साथै पुर्खाको धरोहर र नेपाली कलाको पहिचानका रूपमा रहेका सम्पदाहरू हराएको पीडा अभिव्यक्त हुनुका साथै त्यस्ता सम्पदाको संरक्षण र संवर्धनको दुरवस्थासम्बन्धी चर्चालाई फेरी अगाडि ल्याइदिएको छ।

पुरातत्व विभागका कार्यवाहक महानिर्देशक दामोदर न्यौपानेले बीबीसीसँग भने, "वैध रूपमा व्यक्तिगत संकलनमा भएका बाहेक पुरातात्विक महत्वसँग जोडिएका कुनै पनि सामाग्रीहरूलाई निजी रूपमा प्रयोग गर्न नीतिगत, सैद्धान्तिक र कानूनी रूपमा मिल्दैन।"

"इँटाहरू त्यसरी प्रयोग भएका बारे हामीलाई जानकारी छैन। तर सार्वजनिक महत्वका स्मारकका इँटाहरू निजी रूपमा प्रयोग गरिएको छ भने त्यो गैरकानूनी हो।"

काठमाण्डू महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानेले लामो समयसम्म धरहराको भग्नावशेष टुँडिखेलमा थुप्रिएको भन्दै त्यस्ता इँटहरू कस्ले कहाँ कसरी प्रयोग गरेको छ त्यस बारेमा आफूले बुझ्ने बताए।

धरहराका इँटा कहाँ पुगे?

समाजिक सञ्जाल ट्विटरमा धरहराका इँटाहरू ब्रिक्रि गरिएको आशङ्का सहितका धारणाहरू व्यक्त गरिएपनि त्यसबेला पदमा बहाल रहेका सरकारी अधिकारिहरूले त्यस्तो विक्रिवितरण सम्बन्धी कुनै निर्णय नभएको बताएका छन्।

विनाशकारी भूकम्पका समयमा पुरातत्व विभागका महानिर्देशक रहेका भेषनारायण दाहल भन्छन्, "म महानिर्देशक हुँदा जब धरहराबाट इँटाहरू हराइरहेका समाचारहरू आए हामीले ती इँटाहरूलाई त्यहीँ प्रयोग गर्नुपर्छ व्यक्तिगत रूपमा लैजान पाइँदैन भनेर रोकेका थियौँ।"

उनले थपे, "त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्रधिकरण गठन भयो। भग्नावशेषहरू हटाउने कुरा आए। त्यसबेला भएका टेण्डर दस्तावेजले त्यसपछि के भयो बोल्ने कुरा हो। बाहिर प्रयोगका लागि यसरी व्यक्तिगत रूपमा ती इँटाहरू लैजान पाइँदैन। या टेण्डर गरेर विक्रि गरेको प्रमाण हुनुपर्‍यो नत्र भने पुरातात्विक महत्वका सम्पदाहरूको अनाधिकृत प्रयोग गरिएकोमा कानूनी दफा आकर्षित हुने देखियो भने कारबाही पनि हुनसक्छ।"

"तर यस्तो इँटा जोडिएका घटनामा विगतमा कारबाही भएको मलाई जानकारी छैन।"

पुनर्निर्माण प्राधिकरणका अधिकारीहरू चाहीँ वि.सं. २०७२ बैशाखको भूकम्पपछि ६ महिना भन्दा ढिलो गरी पुनर्निर्माण प्रधिकरण गठन गरिएको र त्यसबेला भत्किएर बाँकी रहेको धरहराको खण्डमात्रै आफूहरूले देखेको बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
धरहरा पुनर्निर्माणबारे सर्वसाधारण के भन्छन्?

हाल कन्क्रिटको लगभग ८० मिटर लामो धरहरा पुनर्निर्माण अभियानको रेखदेख गरिरहेका पुनर्निर्माण प्राधिकरणका पूर्व सहसचिव राजुमान मानन्धर भन्छन्, "धरहरा भत्किएर केहि मानिसले ज्यान गुमाएपछि सुरुमा त्यस क्षेत्रमा हिँडडुँल गर्न नै प्रतिबन्ध लगाइएको थियो।

"पछि डोजर चलाएर सबै सफा गरियो र त्यसमा ढुङ्गा, इँटा, माटो सबै थियो। त्यो बेलामा पनि हाम्रो सबै पुरातात्विक समाग्रीहरू गयो भनेर चिन्ता व्यक्त भएको थियो। ट्रकमा राखेर लगिएका ती भग्नावशेष कहाँ छन् अहिले कसैलाई थहा छैन्।"

उनी थप्छन्, "राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउने निर्णय ३ वर्षपछि गर्यो। भत्किएर बाँकी रहेको भर्याङ् रहेको बीचको गोलो भागमा अहिले पनि केही इँटाहरु छन्। केही सिँढीमा फुटेको टुटेको इँटाहरू थियो भुँइमा चाहिँ केही पनि थिएन। त्यसलाई हामीले फ्रेम र जाली राखेर छोपिदियौँ।"

उनले ट्रकमा हालेर सुरुमा टुँडिखेलमा लगेर फालिएका इँटाहरू सबै हराएको हुनसक्ने उल्लेख गरे।

"पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउने निर्णय गर्नुभन्दा अगावै भग्नावशेषहरू टुँडिखेलबाट हटाइए। मेरो विचारमा ठेकेदारहरूले त्यसलाई सडक सहितका खाल्टा खुल्टी पुर्ने प्रयोजनका लागि अन्यत्रै लगेर फ्याले कि जस्तो लाग्छ। त्यो कहाँ गयो म भन्न सक्दिनँ।"

विगतमा पुनर्निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख समेत रहेका मानन्धर धरहराको भत्किएको भागको लगभग सम्पूर्ण इँटाहरु नरहेको उल्लेख गरे।

"हामी त्यहाँ पुग्दा बढारेर सिनित्त भएको जस्तो अवस्थामा थियो। त्यहाँ भग्नावशेषहरू थिएनन् बरू घाँसहरू पलाएका थिए।"

हाल निर्माणाधीन नयाँ धरहरा पहिलेको भन्दा दोब्बर बढी अग्लो बनाउने योजना रहेको छ।

विज्ञहरूले धरहरासँग जोडिएका पुरातात्विक सामाग्रीहरूको संरक्षणमा देखिएका उदासीनतालाई निक्कै चिन्ताजनक भनेका छन्।

यसले राज्यस्तरमा रहेको लापरबाही र सम्भावित अनियमिततालाई सतहमा ल्याइदिएको उनीहरूले बताउने गरेका छन्।