सागमा पदक जित्ने खेलाडीले प्राप्त गर्ने रकम 'निर्देशिका संशोधन पछि मात्रै थाहा हुने'

  • 14 डिसेम्बर 2019
१३औँ दक्षिण एशियाली खेलकुद तस्वीर कपीराइट RSS

१३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीहरूलाई सरकारले हाल सम्मकै ठूलो नगद पुरस्कार दिने घोषणा गरे पनि खेलाडीहरूको हातमा पर्ने रकमबारे अन्योल देखिएको छ।

बुधवार उनीहरूलाई एक कार्यक्रमबीच सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एकल स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख, रजत पदक जित्नेलाई छ लाख र काश्य पदक जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए।

लगत्तै त्यसका आधारमा कुन खेलाडीले कति रकम प्राप्त गर्ने हुन् भन्नेबारे चर्चा सुरु भयो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधवार नै एउटा ट्वीट गर्दै १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी गौरीका सिंहले चार स्वर्णसहित नौ पदक प्राप्त गरेको भन्दै कुल ६५ लाख प्राप्त गर्ने उल्लेख गरेका थिए।

खेलाडीहरूले प्राप्त गर्ने रकमबारे अन्योल रहेकै अवस्थामा बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले एउटा कार्यक्रममा बोल्दै सिंहले कुल ५९ लाख प्राप्त गर्ने बताएको विवरणहरू सार्वजनिक भएका छन्।

सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएकाले सिंहले प्राप्त गर्ने रकमको चर्चा धेरै भएको हो।

तर अन्य खेलाडीहरूमा पनि हातमा कति रकम पर्ने हो भन्नेबारे अन्योल देखिएको पाइन्छ।

तर बीबीसीले विभिन्न निकायलाई सम्पर्क गरी खेलाडीहरूले प्राप्त गर्ने रकम कति हो त भनेर प्रश्न गर्दा ती जिम्मेवार निकायका अधिकारीहरू नै अन्योलमा देखिएका छन्।

प्रधानमन्त्रीले गरेको घोषणामा सबै स्पर्धाका सबै पदक विजेता तथा प्रशिक्षक लगायतले कति रकम प्राप्त गर्छन् भन्ने उल्लेख नभई केही पदकका हकमा मात्रै रकम घोषणा गरिएकाले सरोकारवालाहरू त्यसबारे अलमलमा परेका हुन्।

भव्य रूपमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सम्पन्न गरेको भन्दै जस बटुलिरहेका बेला सरकारले गरेको अस्पष्ट घोषणाका कारण सामाजिक सञ्जालमा भने तीव्र प्रतिक्रिया देखा परेका छन्।

अन्योल

आफ्नो ट्वीटमा उल्लेख गरिएको रकम प्रधानमन्त्रीले उल्लेख गरेको भनाइका आधारमा आफूले मोटामोटी हिसाब गरेर राखेको थापाले जानकारी दिए।

"त्यो रकममा एकल र सामूहिक प्रतिस्पर्धाका हकमा भने केही अन्तर हुन सक्छ र त्यो कार्यविधि संशोधन हुँदा सम्बोधन गरिने छ। जति पदक जिते पनि ११ लाख प्राप्त गर्ने भन्ने खाले व्याख्या गलत हो भन्ने मेरो ट्वीटको आशय थियो," थापाले भने।

खेलाडीहरूले प्राप्त गर्ने रकमबारे स्पष्टताको खोजी गर्दै बीबीसीले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई सम्पर्क गरेको थियो। तर प्रश्न सुनिसकेपछि उनले आफू एउटा बैठकमा रहेको भन्दै तर्किए।

तर उनले एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा भने एक भन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई जम्मा ११ लाख रुपैयाँ दिइने भाव व्यक्त गरेका थिए जसले रकमबारे अझ अन्योल बढाएको थियो।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले भने एउटा स्वर्ण पदक जित्नेले नौ लाख र एक भन्दा बढी जित्नेले ११ लाखका दरले रकम प्राप्त गर्ने भन्दै तीन वटा स्वर्ण पदक जित्नेले ३३ लाख प्राप्त गर्ने र त्यस्तै गरी नै हिसाब गर्न सकिने बताए।

खेलाडीहरूले प्राप्त गर्ने रकमबारे आफूहरूले बिहिवार नै विज्ञप्ति जारी गरेर स्पष्ट पार्ने बताए पनि हालसम्म त्यस्तो कुनै विज्ञप्ति सार्वजनिक भइसकेको छैन।

सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले गर्ने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार खेलाडीहरूले प्राप्त गर्ने रकमबारे स्पष्ट केही नभने पनि खेलाडीहरूलाई प्रोत्साहन गर्ने क्रममा छुटपुट भएका कुराहरूको सम्बोधन गरिने बताएका थिए।

परिमार्जन

खेलकुद मन्त्रालयका प्रवक्ता पुष्पराज शाहीले खेलाडीहरूलाई पुरस्कृत गरिने निर्देशिका परिमार्जन गरेपछि मात्रै कसले कति रकम प्राप्त गर्ने हो भन्ने विषय स्पष्ट हुने बताए।

खेलाडीहरूलाई दिइने रकम तय भएपछि बजेटको जोहो मन्त्रालयले नै गर्ने उनले जानकारी दिए।

सागका लागि दिइएको खर्च जोगिए त्यही रकमबाट रकमान्तर गरेर वा अर्थ मन्त्रालयबाट थप निकासा लिएर खेलाडीहरूलाई रकम दिइने उनले जानकारी दिए।

हालको कार्यविधिमा स्वर्ण पदकका हकमा पाँच लाख, रजत पदकका हकमा तीन लाख र काश्य पदकको हकमा एक लाख रुपैयाँ दिइने उल्लेख गरिएको उनले बीबीसीलाई बताए।

"प्रधानमन्त्रीले भने बमोजिम निर्देशिका संशोधन गरिनेछ र त्यसलाई मन्त्री परिषद्ले पारित गरेपछि कसले कति पाउने हुन भन्ने विषय स्पष्ट हुने छ," शाहीले भने।

घोषणाका आधारमा प्रधानमन्त्री ओलीसँग छलफल गरेर खेलकुद मन्त्रालयले मन्त्रिपरिष‌द्‌मा प्रस्ताव लाने उनले बताए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
दोस्रो स्वर्ण पदक जितेपछि गौरिका सिंहले यसो भनिन्

सम्बन्धित सामग्री