मेसुट ओजिल विवाद: चीनको सीसीटीभीले आर्सनल क्लबको खेल प्रसारण गरेन

  • 16 डिसेम्बर 2019
ओजिल तस्वीर कपीराइट Reuters

चीनको सरकारी प्रसारणकर्ता सीसीटीभीले आइतवार भएको आर्सनल र म्यान्चेस्टर सिटीबीच भएको खेललाई प्रसारण तालिकाबाट हटाइदिएको छ।

आर्सनलका मिडफील्डरले चीनमा उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।

लगत्तै आर्सनल क्लबले उनको टिप्पणीबाट आफूलाई अलग्याएको थियो।

उसले क्लब सधैँ गैरराजनीतिक सङ्गठन रहेको उल्लेख गरेको थियो।

तीखो प्रतिक्रिया

चीनको ग्लोबल टाइम्स पत्रिकाले जर्मन खेलाडी ओजिलको टिप्पणीलाई 'झूटो' भन्दै त्यसले खेल अधिकारीहरूलाई 'निराश' बनाएको जनाएको छ।

चीनको फुटबल सङ्घले ओजिलका टिप्पणी 'अस्वीकार्य' भन्दै त्यसले चिनियाँ फुटबल प्रेमीहरूको 'चित्त दुखेको' बताएको छ।

सीसीटीभीले आइतवारको आर्सनल र लीग च्याम्पियन म्यान्चेस्टर सिटीको खेलको साटो टोटनम र वुल्भ्सको खेल देखाउने तालिका बनाएको थियो।

आफू स्वयम् मुस्लिम समुदायका ओजिलले सामाजिक सञ्जालको पोस्टमा उइगरहरूलाई "दमनविरुद्धका लडाकुहरू" भन्दै चीनको तथा त्यस विषयमा मौन बसेका मुस्लिमहरूको आलोचना गरेका थिए।

Image caption चीनले बारम्बार उइगर मुस्लिमहरूलाई दुर्व्यवहार नगरिएको भन्दै आएको छ

चीनले बारम्बार उइगर मुस्लिमहरूलाई दुर्व्यवहार नगरिएको भन्दै आएको छ।

अधिकारवादी समूहहरूका अनुसार अधिकांश मुस्लिम उइगर समुदायका गरी १० लाख मानिसहरूलाई चीनमा कुनै सुनुवाइ नगरीकनै उच्च सुरक्षा दिइएका बन्दी शिविरमा राखिएको छ।

चीनका अनुसार तिनलाई हिंसात्मक धार्मिक कट्टरताविरुद्ध लड्न 'व्यावसायिक प्रशिक्षण केन्द्र'मा राखिएको छ।

अक्टोबर महिनामा अमेरिकाको राष्ट्रिय बास्केटबल सङ्घ (एनबीए)का एक कार्यकारी अधिकृतले गरेको टिप्पणीका कारण चीनसँग उसको सम्बन्ध बिग्रिएपछि उसले निकै आर्थिक घाटा बेहोर्नुपरेको थियो।

हङ्‌कङका प्रजातन्त्रवादी प्रदर्शनकारीहरूको समर्थनमा ह्यूस्टन रकेट क्लबका व्यवस्थापक ड्यारिल मोरेले ट्वीट गरेका थिए।

परिणामस्वरूप चिनियाँ कम्पनीहरूले प्रायोजन एवम् टेलिकास्ट सम्झौता स्थगित गरिदिएका थिए।

विवादपछि के होला? एक विश्लेषण

बिन ब्र्यान्ट, बेइजिङस्थित बीबीसी संवाददाता

केही साताअगाडि मैले चीन-यूके सम्बन्धका एक विज्ञलाई प्रीमीअर लीगका कुनै खेलाडीले चीनको सार्वजनिक आलोचना गरे 'एनबीए'को जस्तै समस्या भोग्नुपर्ला भनेर सोध्दा तिनले 'हो' भन्ने उत्तर दिएका थिए।

इङ्ग्लिश फुटबल लीग प्रतियोगिता संसारभरि लोकप्रिय छ। यसका खेलाडी तथा दर्शकमा अत्यधिक विविधता पाइन्छ।

चीनमा एनबीएले बेहोरेको समस्याले त्यसको परिणाम कति गम्भीर र वित्तीय स्वार्थमा कति तत्काल हुन्छ भन्ने देखाएको छ।

यूकेको निम्ति फुटबल र त्यसले विश्वभरि यूकेको छविमा पार्ने प्रभाव अत्यधिक महत्त्वपूर्ण छ।

तस्वीर कपीराइट EPA

वरिष्ठ ब्रिटिश कूटनीतिज्ञहरूले ओजिलको टिप्पणीले निम्त्याए जस्तै विवाद भए त्यसको दुई देशको सम्बन्धमा पर्न सक्ने प्रभावबारे सोचविचार गरेका छन्।

अहिलेका लागि ओजिलको टिप्पणीप्रति गत अक्टोबरमा ड्यारिल मोरेको हङ्‌कङसम्बन्धी टिप्पणीमा गरिए जस्तो ज्यादै चर्को प्रतिक्रिया जनाइएको छैन।

त्यतिखेर त चिनियाँ सरकारी संयन्त्र व्यक्तिगत रूपमा मोरे वा उनको क्लबविरुद्ध मात्र नभई पूरै एनबीएप्रति खनिएका थिए।

यसपालि उनीहरूको निसानामा केवल ओजिल र केही हदसम्म आर्सनल परेको छ।

यसको दीर्घकालीन प्रभाव ओजिललाई व्यक्तिगत रूपमा पर्न सक्छ।

ओजिलका निम्ति केही प्रशंसा र समर्थन पनि देखिएका छन्। तर त्यस्ता प्रतिक्रिया चीनका सरकारी सञ्चारमाध्यममा भने पटक्कै देखिने छैनन्।

सम्बन्धित सामग्री