मेसुट ओजिल: चीनको आलोचना गरेपछि आर्सनलका यी खेलाडीलाई भिडिओ गेमबाट हटाइयो

  • 20 डिसेम्बर 2019
आइतवार म्यान्चेस्टर सिटीसँगको खेल अघि प्रार्थना गर्दै मेसुट ओजिल तस्वीर कपीराइट Getty Images
Image caption आइतवार म्यान्चेस्टर सिटीसँगको खेल अघि प्रार्थना गर्दै मेसुट ओजिल

चीन सरकारले उइगुर मुस्लिमहरूसँग उचित व्यवहार नगरेको भन्दै आलोचना गरेका आर्सनल क्लबका चर्चित खेलाडीलाई प्रो एभलूशन सकर (PES 2020) नामक भिडिओ गेमको चिनियाँ संस्करणबाट हटाइएको छ।

ओजिल आफू पनि मुस्लिम हुन्। उनले उइगुरहरूलाई "उत्पीडनको विरोध गर्ने योद्धा" भनेरका थिए।

उनले चीन सँगसँगै मौन बसेकाले मुस्लिम समुदायको पनि आलोचना गरेका थिए।

चीनमा उक्त भिडिओ गेम वितरण गर्ने संस्था नेटईजले ओजिललाई तीनवटा शीर्षकबाट हटाइएको बताएको छ।

"जर्मन खेलाडी ओजिलले सामाजिक सञ्जालमा चीनबारे गम्भीर टिप्पणी प्रेषित गरे," एउटा विज्ञप्तिमा नेटईजले भन्यो।

"उनको मन्तव्यले चिनियाँ प्रशंसकहरूको भावनामा चोट पुग्यो तथा खेलकुदको प्रेम र शान्तिको भावना उल्लङ्घन गर्‍यो। स्वीकार गर्ने कि क्षमा दिने त्यो हामी बुझ्दैनौँ।"

आर्सनलले आफ्नो क्लब "गैरराजनीतिक" भएको प्रतिक्रिया दिएको छ। चीनको विदेश मन्त्रालयले ओजिल मिथ्या समाचारबाट भ्रममा परेको जनाएको छ।

तस्वीर कपीराइट Reuters

जर्मनीको राष्ट्रिय फुटबल टोलीका भूतपूर्व खेलाडी ओजिलका पूर्वज टर्कीका हुन्।

मानवाधिकारवादी समूहहरूका अनुसार चीनमा झन्डै १० लाख मानिसहरूलाई हिरासतमा लिएर बिनासुनुवाइ बन्दी शिविरमा राखिएको छ। तीमध्ये अधिकांश उइगुर समुदायका मानिसहरू छन्।

चीनले उइगुर मुस्लिमलाई दुर्व्यवहार गरेको आरोपको निरन्तर खण्डन गर्दै आएको छ।

हिंसात्मक धार्मिक अतिवाद नियन्त्रण गर्न हिरासतमा लिइएका मानिसहरूलाई तालिम केन्द्रमा राखेर सीप सिकाइएको उसको दाबी छ।

मुस्लिम काउन्सिल अफ ब्रिटेनका महासचिव हारुन खानले ओजिलको प्रशंसा गर्दै उनको धारणाबाट आर्सनल पृथक् हुन खोज्नु "खेदजनक" भएको बताएका छन्।

सम्बन्धित सामग्री