क्लब विश्वकपको उपाधि लिभरपुलको पोल्टामा

  • 22 डिसेम्बर 2019
फेर्मिनो तस्वीर कपीराइट Getty Images
Image caption फेर्मिनोको गोलले लिभरपुलले सन् २०१९ को क्लब विश्वकप जितेको छ

कतारमा आयोजित क्लब विश्वकपको फाइनल खेल लिभरपुलले जितेको छ।

युरोपेली च्याम्पियन्स लिगको विजेता लिभरपुलले ब्राजिलको फ्लामेङ्गो क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो।

लिभरपुलका ब्राजिलियन खेलाडी रोबेर्टो फेर्मिनोले अतिरिक्त समयमा उक्त एक गोल गरेका थिए।

लिभरपुलको पहिलो उपाधि

क्लब फुटबलमा लिभरपुलको यो पहिलो उपाधि हो।

क्लब विश्वकप प्रतियोगितालाई युरोपमा कतिपयले धेरै प्रतिष्ठित मान्दैनन् तर दक्षिण अमेरिकामा यसलाई निकै पछ्याइन्छ।

फेर्मिनोले नै अन्तिम समयमा गरेको विजयी गोलका कारण लिभरपुलले सेमिफाइनलमा मेक्सिकोको मोन्तेरे क्लबलाई हराएको थियो।

उनै खेलाडीले फाइनलमा पनि ९९ औँ मिनेटमा गोल गरेर लिभरपुललाई जिताए।

सन् २००८ मा म्यान्चेस्टर युनाइटेडले क्लब विश्वकप उपाधि जितेपश्चात् सो उपाधि जित्ने लिभरपुल दोस्रो इङ्ग्लिश टोली बनेको छ।

युरोपेली टोलीको दबदबा

सन् २००० मा सुरु भएको क्लब विश्वकप प्रतियोगिताका पछिल्ला १३ संस्करणमा युरोपेली क्लबहरूले १२ पटक उपाधि जितिसकेका छन्।

लगातार पछिल्लो सातपटक उक्त उपाधि युरोपेली क्लबले हात पारेका छन्।

यसपाली फाइनल खेल अतिरिक्त समयसम्म लम्बियो।

यसअघि सन् २०००, सन् २००९ र सन् २०१६ मा पनि फाइनल खेल अतिरिक्त समयसम्म लम्बिएका थिए।

सम्बन्धित सामग्री