झारखण्ड चुनाव: नरेन्द्र मोदीद्वारा हार स्वीकार, भाजपाले किन जोगाउन सकेन सत्ता

  • 23 डिसेम्बर 2019
मोदी तस्वीर कपीराइट Getty Images

भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड मुक्ति मोर्चा र उनको गठबन्धनलाई बधाई दिँदै शुभकामना दिएका छन्।

उनले ट्वीट गर्दै आफ्नो दललाई 'सेवा गर्न दिएकोमा झारखण्डका जनतालाई धन्यवाद' दिए।

भाजपा अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले पनि जनादेशको सम्मान गर्ने बताएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, "भाजपालाई पाँच वर्षसम्म प्रदेशको सेवा गर्ने जो अवसर दिइएको थियो, त्यसको निम्ति हामी जनताप्रति आभार व्यक्त गर्छौँ।"

निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी भारतीय कांग्रेस पार्टी र झारखण्ड मुक्ति मोर्चा सहितको गठबन्धनले ८१ सीटमध्ये बहुमतमा अग्रता लिइरहेको छ।

परिणाम घोषणा भएको सात सीटमा तीनवटा जित्दै भाजपा २५ सीटमा अगाडि छ।

सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएकाले चुनावी परिणामलाई महत्त्वपूर्ण मानिएको छ।

मुख्यमन्त्री पछाडि

तस्वीर कपीराइट AFP / GETTY

भाजपाका मुख्यमन्त्री रघुबर दास मतगणनामा पार्टीकै विद्रोही उम्मेदवार सरयू रायभन्दा साढे चार हजार मतले पछि परेको बताइएको छ।

आलोचकहरूले मुस्लिम विरोधी ठान्ने गरेको कानुनले निम्त्याएको विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा कम्तीमा २० जनाको मृत्यु भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अपार बहुमतले विजयी भएको थियो।

तर विधान सभा चुनावमा उसको निकै कमजोर प्रदर्शन देखिएको छ।

यसअघि भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा बहुमत गुमाएको थियो।

त्यस्तै महाराष्ट्रमा क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि सरकार बनाउन विफल भएको थियो।

झारखण्डमा स्थानीय मुद्दामा चुनावी भिडन्त भए पनि भाजपाको नीतिहरूका कारण उसलाई धक्का लागेको ठानिएको छ।

हारको कारण

बीबीसी हिन्दीका निम्ति राँचीस्थित रवि प्रकाशले भाजपाका हारका पाँच कारण औंल्याएका छन्।

उनका अनुसार मुख्यमन्त्री रघुबर दासको छवि पनि भाजपा हारको एक कारण भएको त्यहाँका मानिसहरू ठान्छन्।

पार्टीभित्रको असन्तुष्टिलाई उनले उपेक्षा गरेको तर उनैलाई प्रधानमन्त्री मोदी र पार्टी अध्यक्षले साथ दिएको बताइन्छ।

त्यस्तै त्यहाँका आदिवासीको भूमि अधिकार रक्षाको निम्ति गर्न लागिएको भनिएको कानुन संशोधनको विफल प्रयासले पनि भाजपाप्रतिको धारणा बिग्रिएको ठानिएको छ।

भूमि अधिग्रहण सम्बन्धी कानुन संशोधनको प्रयास पनि हारको अर्को कारण मानिएको छ।

त्यस्तै भिडद्वारा हत्या र भोकमरी अनि बेरोजगारीबारे राज्य सरकारको नीतिलाई लिएर पनि ठूलो असन्तुष्टि रहेको बताइन्छ।

त्यसैले प्रधानमन्त्री मोदीले नौ, अमित शाहले ११ र मुख्यमन्त्री दासले ५१ वटा चुनावी सभालाई सम्बोधन गरे पनि भाजपा सत्ता जोगाउन नसक्ने अवस्थामा पुगेको ठानिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भारत निर्वाचन