नारायणहिटी सङ्ग्रहालय: राजपरिवारको विमानदेखि हिटलरले दिएको गाडीसम्म प्रदर्शनमा राखिने

  • 23 डिसेम्बर 2019
नारायणहिटी

काठमाण्डूस्थित नारायणहिटी दरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ।

अधिकारीहरूका अनुसार हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत राखिने छन्।

संस्कृति मन्त्रालय मातहत रहेको उक्त सङ्ग्रहालय सञ्चालनका लागि हालै सरकारले दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै उक्त सङ्ग्रहालयको प्रदर्शनीमा ती थप गरिन लागेका हुन्।

२०६५ साल फागुन १५ गते देखि नारायणहिटी दरबारलाई सङ्ग्रहालयका रूपमा सर्वसाधारका निम्ति पनि खुल्ला गरिएको थियो।

उक्त सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले गुरू योजना तयार भइरहेको र त्यो पारित भएसँगै दरबारभित्र आम मानिसले हेर्न चाहेका थप वस्तुहरू प्रदर्शनीका लागि राखिने बताए।

दरबार हत्याकाण्डसम्मको इतिहासको'श्रव्यदृष्य'

उनले भने, "राजसंस्थाको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा प्रदर्शन गर्छौं। त्रिभुवनलाई हिटलरले उपहार दिएको गाडी, राजाका बग्गीहरू, राजाले प्रयोग गरेका सवारीसाधनहरू सबै प्रदर्शनीमा ल्याइने छन्।"

नेपाली सेनामार्फत् राजाले प्रयोग गरेका हेलिकोप्टर र हवाई जहाज हस्तान्तरण गर्न प्रक्रिया चलिरहेको र त्यस लगत्तै प्रदर्शनीमा राखिने बताइएको छ।

राजा वीरेन्द्रको निवास रहेको श्रीसदन, त्रिभुवनको पौडी पोखरी, पुस्तकालय, दरबारले प्रयोग गर्ने फिल्म हल जस्ता स्थान पनि प्रदर्शनीमा छैनन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
राजा वीरेन्द्रको निवासको अहिलेको अवस्था

इन्टरन्याश्नल काउन्सिल अफ म्युजियमका सिद्धान्तहरूलाई उल्लङ्घन नगरि प्रदर्शनीमा राखिने बताइएको छ।

नारायणहिटी दरबार सात सय ५४ रोपनीमा फैलिएको छ। जसमा नेपाली सेनादेखि परराष्ट्र मन्त्रालय अन्तर्गतको एउटा कार्यालय पनि छन्।

गणतन्त्र स्मारकमा सांस्कृति प्रस्तुति

दरबार सङ्ग्रहालयको पूर्वतर्फ हालै गणतन्त्र स्मारक बताइएको छ। जहाँ दुईवटा स्टेडियमा पर्यटकहरूका लागि नेपालको संस्कृतिको पहिचान दिने विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने योजना पनि अगाडि सारिएको छ।

कार्यकारी निर्देशक दाहालले भने, "विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरू पर्यटकलाई देखाउने र २००७ सालको आन्दोलनका शहीदहरूको फोटोका माध्ययमबाट प्रदर्शनी गर्छौं। यी सबै गर्नुको पछाडि आर्थिक उपार्जन गर्ने र सङ्ग्रहालयको खर्च उठाउने लक्ष्य हो।

हाल दरबार सङ्ग्रहालयमा कर्मचारी लगायतका खर्च आठ देखि १० करोडसम्म रहेको र प्रवेशका लागि लिइने शुल्कबाट चार करोड मात्रै वार्षिक आम्दानी हुने गरेको बताइन्छ।

यसलाई आर्थिक रूपमा सबल बनाउने गरि काम गर्ने लक्ष्य राखेर थप प्रदर्शनी र थप आर्थिक उपार्जका काम गर्ने लागेको दाहालको भनाइ छ।

क्याफे समेत खोलिने

त्यस अन्तर्गत सङ्ग्रहालय क्षेत्र र स्मारक क्षेत्रमा क्याफे सञ्चालन गर्ने समेत योजना छ।

घुम्न जानेहरूका निम्ति पानी खाने ठाँउ पनि नभएकाले नेपाल सरकारको आर्थिक ऐन-नियमभित्र रहेर दुईदेखी तीन वटासम्म क्याफे सञ्चालन गर्ने योजना पनि राखिएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
श्रीपेचका डिजाइनर भन्छन्: पैसा नलिइ बनाएँ

त्यस्ता क्याफेहरू बोलपत्रका आधारमा प्रतिस्पर्धा गराएर दिइने र समानको मूल्य बजारभन्दा कम हुने दाबी गरिएको छ।

तर संस्कृतिविद् गोविन्द टण्डन सम्पदा क्षेत्रभित्र क्याफे खोल्दा त्यसको दुरूपयोग हुन सक्ने र सम्पदा ओझेलमा पर्न सक्नेमा सचेत हुनु पर्ने बताउँछन्।

उनले भने, "त्यसले पर्यटकलाई सुविधा त हुन्छ तर सम्पदा क्षेत्र भित्र क्याफेमै जानेको भिड हुने र त्यसको दुरूपयोग हुन सक्नेतर्फ ध्यान दिएर मात्रै बनाउनु पर्छ।"

सम्पदाभित्र क्याफे सञ्चालनका लागि दिँदा थोरै रकममा दिइने गरिएको र त्यस तर्फ पनि ध्यान दिनुपर्ने उनको सुझाव छ। व्यक्तिलाई नभइ सम्पदालाई फाइदा हुने गरि निर्णय गरिनु पर्ने टण्डनको सुझाव छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाण्डूको वृद्धाश्रममा बस्दै आएकी छन्।