इन्डियन एयरलाइन्स विमान अपहरण: यी नेपाली यात्रुलाई पहिला 'कसैले ठट्टा गरे जस्तो' लागेको थियो

  • 24 डिसेम्बर 2019
इन्डियन एयरलाइन्स तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES

बीस वर्षअघि आजकै दिन काठमाण्डूबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको एउटा विमान आतङ्कवादीहरूको अपहरणमा परेपछि नेपालको उड्डयन सुरक्षा प्रणालीबारे उठ्न थालेका प्रश्न अझैसम्म पनि सेलाएको पाइँदैन।

गत महिना मात्र अमेरिकी सरकारको एक प्रतिवेदनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने केन्द्रको रूपमा रहेको र रहिरहन सक्ने उल्लेख गरेको थियो।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली र अवैध विदेशी मुद्रा, सुन, लागुऔषध र वन्यजन्तु तस्करी तथा मानव ओसारपसारजस्ता गतिविधि हुने गरेको अधिकारीहरू बताउँछन्।

नेपालबाट अफगानिस्तानको कान्दहार पुर्‍याइएको विमान र त्यसमा रहेका यात्रुहरूलाई छुटाउन भारतले त्यस आतङ्कवादको आरोपमा भारतमा थुनिएका तीन जना मुक्त गरेको थियो।

अपहरणकारीसँग सम्झौता हुँदा भारतीय जेलबाट छाडिएका मसूद अजहरले पछि जिहादी सङ्गठन जैश-ए-मोहम्मद स्थापना गरेर भारतमा शृङ्खलाबद्ध आक्रमणमा संलग्न भए।

कश्मीरको पुलवामामा ४० भन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी गत फेब्रुअरीमा भएको आत्मघाती आक्रमण जैश-‍ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ।

जेलबाट छुटेलगत्तै उनको संलग्नता सन् २००१ मा भारतीय संसद्‌मा भएको आक्रमण पनि पाइयो जुन कारणले भारत र पाकिस्तानबीच झन्डै लडाइँ भएको थियो।

भारतको आकाशबाट अपहरण

सन् १९९९ मा क्रिस्मसको अघिल्लो दिन अपराह्ण चार बजेपछि काठमाण्डूबाट इन्डियन एयरलाइन्सको विमान उड्यो। विमानमा चालकदलका सदस्यसहित कुल १८० जना थिए।

तर उडान नम्बर ८१४ भारतीय आकाशमा प्रवेश गर्नेबित्तिकै अपहरणमा पर्‍यो।

Image caption जनकलाल श्रेष्ठ श्रीमतीको उपचारका लागि भारत जाँदैथिए

मुखुन्डो लगाएका एक व्यक्तिले चक्कु बोकेको देखेपछि उक्त विमानमा यात्रा गरिरहेका नेपाली यात्रु जनकलाल श्रेष्ठलाई कसैले ख्यालठट्टा गरे जस्तो लागेको थियो।

"तर त्यो ठट्टा थिएन। बरु त्यसपछिका आठ दिन हाम्रा लागि चलचित्रका दृश्यजस्तै भइदिए।"

जावलाखेलस्थित आफ्नै निवासमा बीबीसीसँग कुराकानी गर्दै श्रेष्ठले दुई दशकअघि भएको "त्रासदीपूर्ण" घटनाको स्मरण गरे।

उनी श्रीमतीलाई लिएर दिल्ली हुँदै उपचारका लागि भेलोर जाँदैथिए। उनकी श्रीमतिको त्यो पहिलो विमानयात्रा थियो।

सुरुमा उनले शनिवारको टिकट काटेका थिए। तर बुहारीले शनिवार यात्रा गर्न शुभ नहुने भनेपछि श्रेष्ठ दम्पती एक दिनअघि यात्रा गर्दैथिए।

"यात्राभरि बुहारीसँग धेरै रिस उठ्यो। तर त्यो हाम्रो लागि हुनै लेखेको थियो र भाग्यले बुहारीको मुखबाट त्यो बोलाइएको थियो।"

अमृतसर, लाहोर, दुबई हुँदै कान्दाहार

अपहरण भएपछि विमान पाकिस्तानसँगको भारतीय सीमावर्ती सहर अमृतसर पुर्‍याइएको थियो।

सुरुमा विमान पाकिस्तानी सहर लाहोर लैजान अपहरणकारीले दबाव दिएका थिए। तर एकातर्फ इन्धनको कमी र अर्कोतर्फ पाकिस्तानले अनुमति नदिएपछि विमान अमृतसरमा रोकियो।

अपहरणकारीहरूले भारतीय भूमि छाड्न दबाव दिएकै कारण अमृतसरबाट निकै कम इन्धनका भरमा विमान पुन: लाहोरका लागि उड्यो। पाकिस्तानले अन्तत: अवतरण अनुमति दिएको थियो।

तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES

त्यहाँबाट इन्धन भरेर विमान अफगानिस्तान जान खोजेको भए पनि काबुलमा राति अवतरण गर्ने सुविधा नहुँदा उक्त विमान दुबई गयो।

त्यहाँबाट भने विमानलाई तत्कालीन तालिवान शासन रहेको कान्दाहार पुर्‍याइयो। र त्यहीँबाट भारत सरकारका प्रतिनिधिसँग उनीहरूले महत्त्वपूर्ण वार्ता गरे।

त्यहाँ भएका वार्तामा सघाउन र नेपाली पक्षका कुरा राख्न भनेर पाकिस्तानस्थित नेपाली दूतावासका एकजना कूटनीतिज्ञ युगनाथ पौडेललाई समेत कान्दाहार पठाइएको थियो।

जनकलाल श्रेष्ठ सम्झन्छन्, "विमानभित्र हामीलाई भने कहाँ छौँ, कता गइरहेका छौँ भन्ने केही थाहा थिएन।"

"सुरुमा मैले कति पटक उडेको र ओर्लिएको भनेर विचार गर्न खोजेको थिएँ। तर पछि अरू कुराको तनाव हुन थालेपछि त्यो पनि छाडिदिएँ।"

त्रासदीपूर्ण २४ घण्टा

उनकी श्रीमती शान्ति श्रेष्ठले नियमित औषधि सेवन गर्नुपर्थ्यो। तर अपहरणकारीले सबैका झोलाहरू खोसेर अलग्गै राखिदिएका थिए।

चौबीस घण्टापछि बल्ल उनलाई औषधि खाने अनुमति दिइयो।

सुरुको २४ घण्टा सबैभन्दा त्रासदीपूर्ण रहेको श्रेष्ठ बताउँछन्। बिरामीहरूलाई समेत शौचालय जाने अनुमति नदिँदा छेउमै बसेका एक भारतीय यात्रुले पहिल्यै माफी मागेर बीअरको बोतलमा पिसाब फेरेको उनी अहिले पनि सम्झिन्छन्।

कान्दाहारमा वार्ता चलिरहेका बेला डिसेम्बर ३० मा एक पटक ती अपहरणकारीले "कुरा मिलेन म अब एकएक गरेर मार्छु, ईश्वरको नाम लिऊ" भन्दा आफूलाई सबैभन्दा धेरै डर लागेको उनी बताउँछन्।

तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES

"तैपनि नेपाली भएकाले अन्तिम समयसम्म हामीलाई चाहिँ केही नगर्लान् कि भन्ने झिनो आशा भने थियो," श्रेष्ठले स्मरण गरे।

"सुरुमा मारेनन् भने त कुनै न कुनै बेला वार्ता मिल्ला भन्ने आशा थियो।"

उक्त अपहरण प्रकरणमा ज्यान गुमाउने भारतीय नागरिक रूपन कात्याललाई उनीहरूको मार्ने नै उद्देश्य भए जस्तो श्रेष्ठलाई लाग्दैन।

श्रेष्ठका अनुसार छुरी हानेर पीडितको आर्तनाद भारत सरकारलाई सुनाएर दबाव दिन उनीहरूले खोजेका थिए तर अत्यधिक रक्तस्राव भएर उनले ज्यान गयो।

पाकिस्तानमा अपहरणकारीले एक व्यक्ति बिरामी परेको भन्दै शरण दिन आग्रह पनि गरेका थिए। तर त्यहाँको सरकारले नमानेको हुँदा दुबई पुग्दासम्म उनको ज्यान गएको थियो।

आठ दिनपछि टन्न खाना

आठौँ दिन वार्ता टुङ्गोमा पुगेपछि नयाँ वर्षसँगै भारतबाट गएका दुई विमानले यात्रुहरूलाई दिल्ली फर्काए।

उक्त विमानमा राम्ररी खाना खान पाउँदाको क्षण उनले अझै बिर्सिएका छैनन्।

तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES

जनकलाल श्रेष्ठ भन्छन्, "आठ दिन त सबथोक भद्रगोल थियो। कहिलेकाहीँ थोरै रोटी खान पाउँदा पनि फेरि खाना आउने हो कि हैन भन्ने सोचेर त्यो पनि बचाएर राख्नुपर्थ्यो।"

अरूले थोरैथोरै भए पनि कुखुराको मासु र रोटी पाउँदा कान्दाहारमा एक शाकाहारी दम्पतीलाई भने एउटा सुन्ताला भाग लगाएर खान दिएको देख्दा आफूलाई निकै चित्त दु:खेको उनी बताउँछन्।

आठ दिन त्यसरी पूरा संसारसँग छुटिएर बस्नुपर्दा एक विमानचालकले "यहाँबाट मुक्त हुन पाए साइकल चलाएर बस्थेँ" भनेको उनी सम्झिन्छन्।

त्यत्तिका दिन शौचालय सफा नभएकाले पूरै दुर्गन्धित भएको थियो।

दिल्ली आएपछि भने श्रेष्ठ दम्पती उपचारका लागि भेलोर नगई फर्किए।

केही दिनको दिल्ली बसाइका बेला बजारतिर जाँदा आफूहरू नेपाली भन्ने थाहा पाएपछि भारतीय नागरिकहरू रिसाएको गरेको उनले अझै बिर्सिएका छैनन्।

Image caption भारतीय विमान अपहरणमा परेपछि त्यसबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कति सुरक्षित छ?

एक अवकाशप्राप्त वरिष्ठ प्रहरी अधिकारीले नेपालको प्रतिष्ठामा अपहरण प्रकरण अहिलेसम्मकै ठूलो 'कालो दाग' का रूपमा रहेको बताउँछन्।

भूतपूर्व डीआईजी हेमन्त मल्लका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई एउटा सुरक्षित विमानस्थल मान्न आवश्यक मापदण्डहरू अझै पुगेका छैनन्।

"आन्तरिक टर्मिनल होस् वा भन्सारतिर, विमानस्थलको कम्पाउन्ड पनि ढुक्न हुन सकिने अवस्थामा छैन।"

अर्कोतर्फ विश्वभरि नयाँ सुरक्षा चुनौती आउँदा समेत काठमाण्डू विमानस्थलमा भने हात र आँखाकै भरमा धेरै जाँच हुने अवस्था रहनु ठूलो कमजोरी रहेको उनी बताउँछन्।

अमेरिकी सरकारको प्रतिवेदनमा समेत यात्रुको प्रिस्क्रीनिङ हुन नसक्नु र कागजपत्रको वैधता जाँच्न समेत अल्ट्राभाईलट (यूभी) लाईटको प्रयोग नहुनुलाई समस्या औँल्याइएको छ।

तस्वीर कपीराइट TIA
Image caption त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको फाइल तस्बिर

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले जारी गर्ने सन्दिग्ध व्यक्तिहरूको सूचीमा परेका व्यक्तिको विवरण नेपाल प्रहरीलाई पनि पठाइन्छ। तर त्यसको आधारमा नियमित यात्रुको विवरणसँग जाँचेर हेरिने नगरेको विज्ञहरू बताउँछन्।

पूर्वडीआईजी मल्ल भन्छन्, "विमानस्थल सुरक्षा गर्ने एउटा दक्ष संयन्त्र र जनशक्ति बनाउन ढिलो भइसकेको छ। अपराध गर्ने र त्यसलाई लुकाउने नयाँनयाँ तरिकाहरू आइरहेका छन्।"

"मेटल डिटेक्टर भन्ने एउटा मुख्य जाँच गर्ने प्रविधि नै अब पुरानो भइसक्यो। तर त्यससँग जुझ्ने हाम्रो गति भने निकै सुस्त छ।"

'सीसीटीभी नै छैन'

विमानस्थलको अधिकांश क्षेत्र सीसीटीभीको निगरानीमा हुनुपर्छ।

तर काठमाण्डू विमानस्थलमा सबैतिर सीसीटीभी नभएको त्यहाँका कर्मचारीहरूले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई बताएका छन्।

उनीहरूका अनुसार अहिले दिनहुँजसो विदेशबाट आउने शवपेटिकाको कुनै जाँच गरिँदैन।

"विमानस्थलमै यात्रुका सामान चोरिँदा वा हराउँदा समेत त्यो कसले गर्‍यो भन्ने थाहा हुँदैन। हेर्दा सामान्य घटना भए पनि यस्ता थुप्रै पक्षले हाम्रो विमानस्थलका छिद्रहरू देखाउँछन्," एक अधिकारीले भने।

विमानस्थलले एक्स-रे तथा अन्य उपकरण राखिएको बताए पनि त्यो छलेर ठूलो परिणाममा अवैध विदेशी मुद्रा, सुन र लागुऔषध तस्करी हुने गरेको पाइएको छ।

यदाकदा केही अवैध सामग्री भेटिँदा सुराकीले काम गरेको प्रहरी अधिकारीहरूले बताउने गरेका छन्।

समितिको सुझाव अझै 'कार्यान्वयन भएन'

सन् १९९९ को डिसेम्बर २४ मा भएको अपहरणलगत्तै नेपाल सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा विमानस्थलमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरू आवश्यकतानुसार चनाखो र सक्रियता, उपकरणहरू पुराना भएका र ती बिग्रिए वैकल्पिक व्यवस्था नभएको उल्लेख गरेको थियो।

आफ्नो काम सकिएपछि पनि कर्मचारीहरूले निर्वाध रूपमा विमानस्थल क्षेत्रमा हिँडडुल गर्ने गरेको त्यसमा उल्लेख छ।

विमानसेवालाई खाना पुर्‍याउने 'क्याटरिङ भ्यान'को पनि राम्रोसँग जाँच नगरिने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।

सुरक्षामा कुनै त्रुटि नहोस् भनेर यात्रु र अन्य उद्देश्यले हिँडडुल गर्ने मानिसहरू मिसिने अवस्था रोक्न कदम चाल्नुपर्ने उक्त समितले सुझाव दिएको थियो।

उसले विमानस्थलमा 'क्याजुअल पास' दिने चलनलाई पनि सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण मानेको थियो।

तर अहिलेसम्म "ती सुझाव कार्वान्वयन नगरिएको" र स्थितिमा "खासै परिवर्तन नआएको" विमानस्थलका कर्मचारी तथा प्रहरी अधिकहारी बताउँछन्।

सम्बन्धित समाचार