इन्डियन एयरलाइन्स विमान अपहरण: त्यो घटना जसले नेपाल-भारत सम्बन्ध खलबलाइदियो

  • 25 डिसेम्बर 2019
विमान अपहरण तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES

दुई दशकअघि डिसेम्बर २४ तारिखमा काठमाण्डूबाट दिल्लीको निम्ति उडेको इन्डियन एअरलाइन्सको विमान अपहरणमा परेपछि त्यसले नेपाल र भारतको सम्बन्धमा सुरक्षा अवधारणालाई केन्द्रमा ल्याइदिएको मानिन्छ।

उक्त घटनापछि भारतीय सञ्चारमाध्यममा नेपालको सुरक्षा व्यवस्थाबारे निकै नकारात्मक टिप्पणीहरू भएका थिए।

"हुन त सो विमानलाई अपहरण गरेर पहिले भारतकै अमृतसर लगिएको थियो। त्यहाँ भारतले नियन्त्रण गर्न सकेन। तर समग्र सुरक्षा कमजोरीको दोष नेपालमाथि थोपरिएको थियो," भारतमा लामो समय काम गरेका पत्रकार युवराज घिमिरे भन्छन्।

"त्यस घटनापछि नेपालसँगको सम्बन्धमा भारतले सुरक्षा अवधारणालाई हावी गराएको पक्कै हो।"

त्यतिखेर भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपालमै थिए।

अपहरणको घटनापछि विकसित घटनाक्रम सम्झिँदै उनी भन्छन्, "त्यो बेला त भारत सरकारले नेपालको विमानस्थलको सुरक्षालाई लिएर निकै आलोचना गरेको थियो। मेरो आफ्नै अनुभवमा पनि त्यो समयमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा एकदम कमजोर थियो। यहाँसम्म कि आगमन र प्रस्थानसमेत छुट्ट्याइएको थिएन।"

इस्लामवादी आतङ्कवादीहरूले काठमाण्डूबाट उडेको आईसी ८१४ जहाजलाई अपहरण गरेर अमृतसर, लाहोर, अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएका थिए।

तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहारले पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए।

तस्वीर कपीराइट Sujeev Shakya/Twitter
Image caption सुरक्षाको कारण देखाउँदै भारतीय विमानसेवाहरूले विमान चढ्न लागेका यात्रुहरूको आफैँ थप सुरक्षाजाँच गर्ने गरेका छन्

त्यो घटनालाई भारतीय संस्थापनले नमिठो धक्काको रूपमा लिने गरेको छ।

त्यस बेला मुक्त गराइएकामध्ये एक मसूद अजहरले पछि जैश-ए-मोहम्मद नामक लडाकु समूह खोले।

उनीमाथि सन् २००१ को भारतीय संसद्‌मा भएको आक्रमण र सन् २०१९ मा कश्मीरको पुलवामामा भएको आक्रमणको आरोप लागेको छ।

तनावपूर्ण समय

तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES
Image caption भारत सरकारले तीन बन्दी बुझाएर अपहृत यात्रुहरूलाई मुक्त गरेको थियो

विमान अपहरणको समयमा दिल्लीस्थित नेपाली दूतावासमा मदनकुमार भट्टराई उपप्रमुख थिए।

राजदूत भेषबहादुर थापा दिल्लीबाहिर गएकाले त्यति बेलाको तनावपूर्ण परिस्थिति उनैले सम्हाल्नुपरेको थियो।

"विमान अपहरण भएको झन्डै १५ मिनेटमै मैले जानकारी पाएँ। राजदूत थापाको अनुपस्थितिमा मैले नै सबै सम्हाल्नुपरेको थियो।"

"एक सातापछि यात्रुहरू रिहा भएर दिल्ली आइपुगे। नेपाली यात्रुहरूलाई हामीले दूतावासमै राखेर परिवारसँग सम्पर्क गरायौँ अनि स्वदेश पठाइदियौँ," भट्टराई सम्झिन्छन्।

नेपालको कमजोर सुरक्षाका कारण विमान अपहरण भयो भनेर भारतमा व्यापक धारणा बनेको थियो।

राजाको जन्मोत्सव नै सारियो

त्यस विषम परिस्थितिको प्रभाव आधिकारिक तहमा पनि धेरथोर पर्ने नै भयो।

सन् १९९९ डिसेम्बर २४ तारिखमा अपहरण भएको विमान डिसेम्बर ३१ मा छाडियो। तर डिसेम्बर २९ मा राजा वीरेन्द्रको जन्मोत्सवको बेला पारेर दूतावासमा राष्ट्रिय दिवस मनाउने पूर्वनिर्धारित कार्यक्रय थियो।

भट्टराईका अनुसार अपहरण भएकै बेला कार्यक्रम गर्दा भारतीय पाहुनाहरूको उपस्थिति कम हुने आशङ्का एकातिर थियो भने त्यही बेला भारतका पूर्व राष्ट्रपति शङ्करदयाल शर्माको पनि निधन भएको थियो।

"त्यसैले हामीले राष्ट्रिय दिवसको समारोह नै पछाडि सारेर ज्यानुअरी ४ मा गर्नुपरेको थियो," भट्टराई भन्छन्।

समारोहमा उपराष्ट्रपति कृष्णकान्तलाई निमन्त्रणा पठाइएको थियो।

"अनेक किसिमका हल्लाहरू चलिरहेका थिए। सुरुमा त उपराष्ट्रपति हाम्रो समारोहमा नआउने जानकारी आएको थियो। पछि फेरि वहाँ आउनुभयो," भट्टराई सम्झिन्छन्।

"उपराष्ट्रपति कृष्णकान्तले नेपालबाट यस्तो होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ, हामी दु:खी छौँ भन्नुभएको थियो। संयोगवश त्यतिखेरै आइपुगेका भारतकै भूतपूर्व विदेशसचिव त्रिलोकीनाथ कौलले भारतकै अमृतसर आइसकेको विमान त्यसरी उडेर जाला भनेर आफूले पनि अपेक्षा नगरेको भन्दिनुभयो। त्यसपछि वातावरण अन्यत्रै मोडियो।"

अपहरणपछिका 'किस्सा'

नेपालको विमानस्थलको सुरक्षाबारे भएका व्यापक आलोचनाका कारण त्यसपश्चात् सुरक्षा व्यवस्थामा निकै परिवर्तन भयो।

तस्वीर कपीराइट Ganii Ansari/BBC
Image caption त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमान चढ्नुअघि भारतीय पक्षले यात्रुहरूको पुन: सुरक्षाजाँच गर्छ

भारतले आफ्ना विमानहरूमा अझै थप सुरक्षाको माग गर्न थाल्यो।

"भारतीयहरूले काठमाण्डूमा आफ्नो विमान अपहरणमा परेको हुनाले उनीहरूका विमानसेवामा बढी सुरक्षा हुनुपर्‍यो भन्ने चासो राख्न थाले," पूर्वगृहसचिव श्रीकान्त रेग्मीले बताउँछन्।

त्यही बेलादेखि नेपालमा एउटा नयाँ चलन सुरु भयो। भारतीय विमानहरूले त्यहाँ विमान चढ्ने भर्‍याङमै थप एक चरणको सुरक्षाजाँच गर्छन्।

"त्यतिखेर विवाद भएपछि नेपाल सरकारले विमानस्थलको भूमिभन्दा केही फिट माथि चेकजाँच गर्न अनुमति दियो। थप जाँचको लागि राखिएको त्यस्ता ल्याडरपोइन्ट सुरक्षा अहिले पनि जारी छ," भारतीय सुरक्षाविद् अशोक मेहता भन्छन्।

उनका अनुसार अपहरणपछि सुरक्षाको धेरै चिन्ता गरिए पनि अहिले भने काठमाण्डू विमानस्थलको सुरक्षा निकै सुध्रिसकेको छ।

तर अझै पनि सुरक्षा संवेदनशीलता भने उस्तै छ।

यो पनि हेर्नुहोस्

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
विमानस्थलका चरा सिकारी