जापानी बालबालिका किन विद्यालय जान मान्दैनन्

  • आलेस्या चेरन्टोला
  • बीबीसी विश्व सेवा
जापान विद्यालय

तस्बिर स्रोत, Stephane Bureau du Colombier

जापानमा अझ बढी बालबालिकाले विद्यालय जान अस्वीकार गर्न थालेका छन्। फुटोको भनिने यो प्रवृत्ति बढिरहँदा यो कतै विद्यार्थीको समस्या नभई विद्यालय प्रणालीकै समस्या हो कि भनेर प्रश्न उठेको छ।

दश वर्षीय युटा इटोले आफूलाई कस्तो अनुभूति भएको छ त्यो भन्न गत वसन्तमा वार्षिक गोल्डेन वीक बिदा कुरे। परिवारसँग बिदामा बाहिर गएको एक दिन उनले आफूलाई विद्यालय जान मन लाग्न छाडेको स्वीकारे।

महिनौँदेखि विद्यालय जान उनी आनाकानी गर्दै आएका थिए, उनी प्रायः जान अस्वीकार नै गर्थे। उनलाई सहपाठीहरूले सताउँथे र उनीसँग झगडा गर्थे।

उनका अभिभावकसँग तीनवाटा विकल्प थिए - समस्यामा सुधार आउन सक्छ कि भन्ने आशामा युटालाई मनोपरामर्श दिलाउने, घरमै पढाउने अथवा निःशुल्क विद्यालय पठाउने। उनीहरूले अन्तिम विकल्प रोजे।

अहिले युटाले विद्यालय समयमा आफूलाई मनलाग्दी गर्छन् र उनी धेरै खुसी छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

फाइल तस्बिर

युटा जापानका फुटोकोमध्ये एक हुन्। स्वास्थ्य वा आर्थिक विषयसँग सम्बन्धित नभएका विषयका कारण ३० दिनभन्दा बढी दिनसम्म बालबालिका विद्यालय नजानुलाई जापानी शिक्षा मन्त्रालयलाई फुटोको भन्ने गरेको छ।

त्यो समस्यालाई अनुपस्थित हुने, कामचोरी, विद्यालय जान डराउने वा अस्वीकार गर्ने भनेर अनुवाद गर्ने गरिएको छ।

फुटोकोप्रति धारणामा दशकौँयता परिवर्तन आएको छ। सन् १९९२ सम्म विद्यालय जान अस्वीकार भनियो - त्यसपछि टोकोक्योशी अर्थात् प्रतिरोध भनियो जसलाई एक किसिमको मानसिक रोगको रूपमा बुझियो।

तर सन् १९९७ मा फुटोको अर्थात् अनुपस्थित भनेर थप तटस्थ नाम दिइयो।

अक्टोबर १७ मा सरकारले घोषणा गरेअनुसार एलमेन्ट्री र जूनीअर हाईस्कूलका विद्यार्थीहरू अनुपस्थित हुने सङ्ख्या अहिलेसम्मकै उच्चबिन्दुमा छ। अर्थात् सन् २०१८ मा एक लाख ६४ हजार ५२८ बालबालिका ३० दिनभन्दा बढी समय अनुपस्थित भए।

सरकारी तथ्याङ्कअनुसार त्यो सङ्ख्या सन् २०१७ मा एक लाख ४४ हजार ३१ थियो।

तस्बिर स्रोत, Stephane Bureau du Colombier

तस्बिरको क्याप्शन,

तामागावा निःशुल्क विद्यालय

बढ्दो फुटोको समस्यालाई सम्बोधन गर्ने प्रयासमा सन् १९८० को दशकमा जापानमा निःशुल्क शिक्षा दिने अभियान आरम्भ भयो।

तिनीहरू वैकल्पिक विद्यालय हुन् जुन स्वतन्त्रता र 'इन्डभिजूयालिटी'को सिद्धान्तअनुसार चल्छन्।

तिनीहरू स्वीकृत अनिवार्य शिक्षा व्यवस्था हुन् जुन घरमा पनि दिइन्छ, तर त्यसले मान्यताप्राप्त योग्यता प्रदान गर्दैन।

निःशुल्क अथवा वैकल्पिक शिक्षा लिनेहरूको सङ्ख्या बढेको छ। सन् १९९२ मा सात हजार ४२४ रहेकोमा सन् २०१७ मा २० हजार ३४६ पुगेको छ।

विद्यालय छाड्ने समस्याको दीर्घकालीन परिणाम हुन सक्छ र किशोरहरू समाजबाटै पूर्ण रूपमा अलग भई आफूलाई कोठामा सीमित पार्न सक्ने उच्च जोखिम रहन्छ जुन समस्यालाई हिकिकोमोरी भनिन्छ।

अझ बढी चिन्ताको समस्या त विद्यार्थीले आत्महत्या गर्छन्। सन् २०१८ मा ३० वर्षयताकै सबैभन्दा बढी ३३२ वटा घटना भएका थिए।

आत्महत्या गर्ने बढ्दो सङ्ख्यालाई दृष्टिगत गर्दै सरकारले सन् २०१६ माखासगरी विद्यालयहरूलाई विशेष सुझावसहित आत्महत्या रोक्नेसम्बन्धी एउटा ऐेन नै ल्यायो।

तस्बिर स्रोत, Stephane Bureau du Colombier

तस्बिरको क्याप्शन,

निःशुल्क शिक्षा दिने विद्यालयले आफ्ना नीति आफैँ बनाउँछन्

उसो भए जापानमा बालबालिकाहरू किन विद्यालय गइरहेका छैनन्?

पारिवारिक परिस्थिति, साथीहरूसँगको समस्या र सताउने कुरा मुख्य कारण भएको शिक्षा मन्त्रालयले गरेको एउटा सर्वेक्षणले देखाएको छ।

विद्यालय छोड्ने बालबालिकाका अनुसार उनीहरू प्राय: अरू विद्यार्थीसँग र कहिलेकाहीँ शिक्षसँग घुलमिल हुन सकेनन्।

तोमोई मोरिहासीको हकमा पनि त्यही लागु हुन्छ।

"मैले धेरैसँग सहज महसुस गरिनँ," १२ वर्षीया बालिका भन्छिन्। "विद्यालय जीवन पीडादायी थियो।"

तोमोई बोल्न डराउने समस्याबाट पीडित थिइन् जुन समस्या मानिसहरूको बीचमा हुन्थ्यो।

"म घरबाहिर अथवा परिवारभन्दा बाहिर बोल्न सक्दिनथेँ," उनी भन्छिन्।

र, जापानी विद्यालयहरूमा हुने कडा नियमहरूको पालना गर्न कठिन भएको उनले पाइन्।

"टाईट्स (कमरमुनि लगाइने कसिलो सुरुवालजस्तो वस्त्र) रङ्गाएको हुनु हुँदैन, कपाल रङ्गाएको हुनु हुँदैन, कपालको इलास्टिक मिलेको हुनुपर्छ, र त्यसलाई नाडीमा लगाउनु हुँदैन," उनी भन्छिन्।

तस्बिर स्रोत, Getty Images

धेरै जापानी विद्यालयमा विद्यार्थी देखिनेसम्बन्धी हरेक कुरामाथि नियन्त्रण गर्छन्, बच्चाहरूलाई खैरो कपाल कालो बनाउन बाध्य बनाउँछन्, अथवा हिउँदमा उनीहरूलाई टाईट्स वा कोट लगाउन प्रतिबन्ध हुन्छ।

केही हदसम्म त उनीहरूले विद्यार्थीको भित्रीवस्त्रको रङ्ग पनि निर्धारण गर्छन्।

हिंसा र सताउने समस्यालाई दृष्टिगत गर्दै सन् १९७० र ८० का दशकमा विद्यालयमा कडा नियम लागु गरिएको थियो।

सन् १९९० को दशकमा त्यसलाई खुकुलो बनाइए पनि हालै झन् कडा पारिएको छ।

यी नियमावलीलाई "ब्ल्याक स्कूल रूल्ज" भनिन्छ। यसले कामदारलाई शोषण गर्ने कम्पनीहरूको बेहोरालाई प्रतिबिम्बित गर्छ।

अहिले तोमोई युटाले जस्तै टोकियोस्थित तामागावा निःशुल्क विद्यालय जान्छिन् जहाँ विद्यालय, विद्यार्थी र अभिभावकबीचको सहमति अनुसार विद्यार्थीहरूले औपचारिक पोसाक लगाउनुपर्दैन, मन लागेका गतिविधि गर्न स्वतन्त्र हुन्छन्।

उनीहरूलाई व्यक्तिगत क्षमता र रुचिलाई पछ्याउन प्रोत्साहित गरिन्छ।

जापानी र गणित कक्षाका लागि कक्षाकोठामा कम्प्युटर हुन्छ र किताबहरू भएको एउटा पुस्तकालय तथा माङ्गाज अर्थात् जापानी चुट्किलाका किताब हुन्छन्।

तस्बिर स्रोत, Stephane Bureau du Colombier

तस्बिरको क्याप्शन,

निःशुल्क विद्यालयमा विद्यार्थीले रुचिका कुरा गर्न पाउँछन्

वातावरण एकदमै अनौपचारिक हुन्छ, एउटा ठूलो परिवारको जस्तै। विद्यार्थीहरू कुरा गर्न र खेल्न साझा ठाउँमा भेट्छन्।

"यो विद्यालयको उद्देश्य भनेको मानिसहरूको सामाजिक क्षमताको विकास गर्नु हो," विद्यालयका प्रमुख ताकाशी योशिकावा भन्छन्।

पूर्ण अभ्यास होस्, खेलकुद अथवा अध्ययन होस्, महत्त्वपूर्ण कुरा भनेको ठूलो समूहमा हुँदा उनीहरू नआत्तिन सिकून्।

यो विद्यालय हालै ठूलो ठाउँमा सरेको हो र हरेक दिन १० जना विद्यार्थी आउँछन्।

तस्बिर स्रोत, Stephane Bureau du Colombier

तस्बिरको क्याप्शन,

तामागावा निःशुल्क विद्यालयमा दैनिक १० विद्यार्थी आउँछन्

टोकियोको आवासीय छिमेकी फुचुमा सन् २०१० मा योशिकावाले एउटा तीनतले भवनमा निःशुल्क विद्यालय खोले।

"म १५ वर्षमाथिका विद्यार्थीको अपेक्षा गर्छु,तर खासमा खासमा सात अथवा आठ वर्षका मात्रै आउँछन्," उनी भन्छन्। "अधिकांश बोलाइसम्बन्धी समस्याका पीडित छन् जो विद्यालयमा केही गर्दैनथे।"

योशिकावाका अनुसार अधिकांश विद्यार्थीहरू विद्यालय नजाउन चाहनुको प्रमुख कारणमध्ये सञ्चारको समस्या एउटा हो।

तस्बिर स्रोत, Stephane Bureau du Colombier

तस्बिरको क्याप्शन,

ताकाशी योकिकावाले सन् २०१० मा निःशुल्क विद्यालउ खोले

उनकै शैक्षिक यात्रा अस्वाभाविक थियो। ४० को दशकको उमेर उनले एउटा कम्पनी छाडे, जब उनलाई लाग्यो कि उनी जागिरको भर्‍याङ उक्लिनमा उनलाई कुनै रुचि छैन।

उनका बुवा डाक्टर थिए उनले जस्तै योशिकावाले समाजको सेवा गर्न चाहन्थे। अतः उनी एक सामाजिक कार्यकर्ता र बच्चाहरूको हेरचार गर्ने मान्छे बने।

बच्चाहरूले सामना गर्दै आएको समस्याको अनुभव उनलाई भयो। उनलाई लाग्यो गरिब भएकै कारण अथवा घरेलु हिंसाका कारण कति विद्यार्थीहरूले विद्यालयमा राम्रो गर्न नसकिरहेका होलान्।

नागोया विश्वविद्यालयस्थित शिक्षाविद् प्राध्यापक रियो उचिडाका अनुसार विद्यार्थीहरूले झेल्ने समस्याको एउटा हिस्सा ठूलो आकारको कक्षा पनि हो।

"करिब ४० जना विद्यार्थी जसले कक्षाकोठाहरूमा एक वर्ष बिताउँछन्, त्यहाँ धेरै कुरा हुन सक्छ," उनी भन्छन्।

उनका अनुसार जनघनत्व धेरै भएकोले मिलेर बस्नु जापानमा बाँच्न सक्नुको एउटा महत्त्वपूर्ण पाटो हो। अतः यदि तपाईँ अरूसँग सहकार्य गर्नुहुन्न भने तपाईँ बाँच्न सक्नुहुन्न।

यो कुरा विद्यालयमा मात्रै नभई सार्वजनिक यातायात र अरू क्षेत्रमा पनि लागु हुन्छ जहाँ सबै भिडभाड हुन्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

विद्यालयमा मिलेर बस्नु महत्त्वपूर्ण कुरा हो

तर यसलाई लागु गर्नु धेरै विद्यार्थीका लागि एउटा समस्या छ।

उनीहरू भिडभाडयुक्त कक्षाकोठमा सहज अनुभूति गर्दैनन् जहाँ सानो ठाउँमा मिलेर गर्नुपर्ने हुन्छ।

"यस्तो अवस्थामा असहज महसुस गर्नु स्वाभाविक हो," प्राध्यापक उचिडा भन्छन्।

जापानमा अक्सर के हुन्छ भन्दा बालबालिकाहरू एउटै कक्षामा एकपछि अर्को वर्षमा रहन सक्छन्। अतः यदि यो समस्या हुन्छ भने विद्यालय पीडादायी हुन पुग्छ।

"यो अवस्थामा निःशुल्क विद्यालयहरूले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ," प्राध्यापक उचिडा भन्छन्।

तस्बिर स्रोत, Stephane Bureau du Colombier

तस्बिरको क्याप्शन,

तामागावा निःशुल्क विद्यालयमा खेलिरहेका विद्यार्थी

तर निःशुल्क विद्यालयहरूले वैकल्पिक शिक्षा दिइरहे पनि शिक्षा प्रणाली आफैँ समस्याग्रस्त छ।

प्राध्यापक उचिडाको दृष्टिमा विद्यार्थीभित्रको विविधतालाई फस्टाउन नदिनु उनीहरूको मानव अधिकारको उल्लङ्घन हो र यो कुरामा धेरै सहमत देखिन्छन्।

"ब्ल्याक स्कूल रूल्ज" को आलोचना र जापानी विद्यालयको वातावरणलाई लिएर देशव्यापी कुरा चर्किँदो छ।

हालैको एउटा स्तम्भमा द टोकियो शिम्बुनले त्यसलाई मानव अधिकारको उल्लङ्घन र विद्यार्थीहरूको विविधतामा अवरोधको रूपमा अर्थ्यायो।

गत अगस्टमा "ब्ल्याक कोसोकु ओ नाकुसो! प्रोजेक्ट" [ब्ल्याक स्कूल र‍ूल्जबाट मुक्ति पाऊँ!] भन्ने अभियानले ६० हजारभन्दा बढीको हस्ताक्षरसहितको एउटा अनलाइन ज्ञापनपत्र शिक्षा मन्त्रालयलाई बुझाएको थियो।

त्यसमा विद्यालयका विनाकारणका नीतिहरूबारे अनुसन्धान गर्न माग गरिएको थियो। ओसाका प्रीफेक्टरले सबै हाईस्कूललाई तिनको नीतिको समीक्षा गर्न भन्यो र ४० प्रतिशतले परिवर्तन ल्याए।

प्राध्यापक उचिडाका अनुसार शिक्षा मन्त्रालयले विद्यार्थी अनुपस्थित हुनुलाई असामान्य नभई प्रवृत्तिको रूपमा मान्न थालेको देखिन्छ।

उनलाई लाग्छ फुटोको विद्यार्थीहरू समस्या होइनन् बरू उनीहरूले शिक्षा प्रणालीप्रति प्रतिक्रिया जनाइरहेका छन् जसले उनीहरूले सहज वातावरण उपलब्ध गराइरहेको छैन।