इन्डियन एयरलाइन्स विमान अपहरण: २० वर्षअघि नेपाली पक्षद्वारा 'सम्भावित घटनाको गुप्तचरी सूचना बेवास्ता'

  • 27 डिसेम्बर 2019
इन्डियन एयरलाइन्स अपहरण तस्वीर कपीराइट BBC WORLD SERVICE

दुई दशकअघि काठमाण्डूबाट एउटा भारतीय विमान अपहरण हुनुमा सम्भावित घटनाबारे प्राप्त गुप्तचरी सूचनालाई बेवास्ता गरिनु प्रमुख कारण रहेको उक्त घटनाको अनुसन्धान गरेका अधिकारीले खुलासा गरेका छन्।

सन् १९९९ डिसेम्बर २४ को अपराह्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणलाई हालसम्म पनि नेपालको विमानस्थल सुरक्षा कमजोरीको रूपमा हेर्ने गरिन्छ।

त्यस बेला भारतप्रशासित कश्मीरमा सक्रिय रहेको एउटा उग्रवादी समूहमा आबद्ध पाँच व्यक्तिले काठमाण्डूबाट उडेको आईसी-८१४ विमानलाई अपहरण गरेर भारतको अमृतसर, पाकिस्तानको लाहोर, संयुक्त अरब इमिरेट्सको दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएका थिए।

तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहारले पुगेर अपहरणकारीहरूको मागबमोजिम भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाएर यात्रुहरूलाई मुक्त गराएका थिए।

अपहरणकारीसँग सम्झौता हुँदा भारतीय जेलबाट छाडिएका तीन जनामध्ये एक मसूद अजहरले पछि जिहादी सङ्गठन जैश-ए-मोहम्मद स्थापना गरेका थिए।

उनको सङ्गठनले भारतमा शृङ्खलाबद्ध आक्रमणहरू गराएको जिम्मा लिँदै आएको छ।

तस्वीर कपीराइट Getty Images

यो वर्ष फेब्रुअरीमा कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणको आरोप पनि जैश-‍ए-मोहम्मदलाई लागेको छ।

घटनापश्चात् तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले "घटनाबारे पूर्वसूचना आएको तर त्यसलाई त्यस बेलाका उच्चपदस्थ अधिकारीहरूले बेवास्ता गरेको पाइएको" बताएका हुन्।

ती सदस्यको दाबीलाई छानबिन समितिका अन्य सदस्य तथा त्यस बेला सुरक्षा निकायको उच्च तहमा कार्यरत कम्तीमा दुई अधिकारीहरूले पनि अस्वीकार गरेनन्।

तर उक्त घटनाबारे अनौपचारिक कुराकानीमा बीबीसीसँग विभिन्न विवरण साझा गरेका ती भूतपूर्व सुरक्षा अधिकारीमध्ये कतिपयले आफ्नो परिचय खुलाउन चाहेनन्।

कस्तो सूचना आएको थियो?

उच्चस्तरीय छानबिन समितिका एक सदस्य एवम् पूर्वगृहसचिव खेमराज रेग्मीले चाहिँ "नेपालको विमानस्थल प्रयोग गरेर अपहरण हुन सक्छ है!" भन्ने खालको सूचना आईस-८१४ अपहरण हुनुभन्दा केही दिनअघि नेपाली अधिकारीहरूलाई प्राप्त भएको पाइएको बताए।

खेमराज रेग्मी
Twitter/Khemraj Regmi
हामीले अनुसन्धानका क्रममा के पनि थाहा पायौँ भने केही समय पहिले 'यस्तो किसिमको जहाज अपहरण हुन सक्छ है!' भन्ने खालको सूचना आएको थियो
खेमराज रेग्मी
विमान अपहरणको छानबिन समितिका सदस्य

उनले बीबीसीसँग भने, "हामीले अनुसन्धानका क्रममा के पनि थाहा पायौँ भने केही समय पहिले 'यस्तो किसिमको जहाज अपहरण हुन सक्छ है!' भन्ने खालको सूचना आएको थियो। र, त्यो सूचना त्यस बेलाका पर्यटन राज्यमन्त्री नारायणसिंह पुनलाई पनि थाहा भएको पाइएको थियो।"

उनका अनुसार त्यस्तो सूचना "बाह्य संयन्त्र"बाट आएको थियो। तर त्यो बाह्य संयन्त्र के थियो भन्ने चाहिँ उनले खुलाएनन्।

"त्यसलाई अलिकति 'नेग्लिजन्स' गरेको र त्योअनुसार पर्याप्त सावधानी नअपनाएको कारणले पनि यो घटना भयो भन्ने हाम्रो कुरा थियो। र, त्यसबारे हामीले मन्त्री (नारायणसिंह पुन)सँग पनि जानकारी लियौँ। मन्त्रीसँग बयान लिन सकिने अवस्था त थिएन," रेग्मीले भने।

तत्कालीन पर्यटन राज्यमन्त्री पुनको मृत्यु भइसकेकाले रेग्मीको दाबीको विषयमा बीबीसीले पुनको पक्ष राख्न भने सकेन।

रेग्मीका अनुसार उक्त सूचना नेपालको राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले पर्यटनमन्त्री वा राज्यमन्त्रीको संयोजकत्वमा रहने विमानस्थलसम्बन्धी एउटा समितिलाई मौखिक रूपमा जानकारी गराएका थिए।

लिखित रूपमा त्यसलाई आदानप्रदान गर्ने काम भने भएको थिएन। तर पुनले उक्त सूचनालाई सही हुन नसक्ने भन्दै बेवास्ता गरेको पाइएको उनी बताउँछन्।

के भन्छन् अरू?

उक्त छानबिन समितिकै अर्का सदस्य एवम् राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख विष्णुराज पन्तले पनि विमान अपहरणबारे 'कुनै एउटा प्रसङ्गमा राज्यमन्त्री पुनसँग उनकै निवासमा गएर सोधिएको' पुष्टि गरे।

तर उनले 'डेफनट इन्फर्मेशन' अर्थात् निश्चित सूचना भएको जस्तो आफूलाई नलागेको जानकारी दिए।

त्यस बेला राष्ट्रिय अनुसन्धानको प्रमुख रहेका हरिबाबु चौधरीले पनि बीबीसीसँग कुरा गर्दै "विमानस्थल प्रयोग गरेर कुनै ठूलै घटना हुन सक्ने 'पर्सेप्शन' रहेको र त्यो सम्बन्धित क्षेत्रमा जानकारी गराएको" बताएका छन्।

तस्वीर कपीराइट Getty Images

तर त्यसबारे धेरै कुरा बिर्सिसकिएको भन्दै उनले थप खुलाउन चाहेनन्।

"बीस वर्षपछि आएर एक अर्कालाई दोषारोपण किन गरौँ? यो निकै संवेदनशील विषय हो," उनले भने।

त्यति बेला नेपाल प्रहरीको उच्च तहमा रहेका एक अधिकारीले चाहिँ माओवादी द्वन्द्वबारे नेपालमा प्रहरी, सेना र अनुसन्धान विभागबीच एकखाले प्रतिस्पर्धा र अविश्वास देखिएको अवस्था रहेको बताए।

त्यसले गर्दा नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका तत्कालीन राज्यमन्त्री नारायणसिंह पुनले अनुसन्धान विभागतर्फबाट आएको सूचनालाई गम्भीर रूपमा नलिएको हुन सक्ने उनको तर्क छ।

प्रतिवेदनमा के छ?

छानबिन समितिका सदस्य रेग्मीले 'अपहरण हुनुअघि नै सूचना आएको थियो' भनी दिएको जानकारीलाई उक्त समितिको प्रतिवेदनमा पनि उल्लेख गरिएको पाइएको छ।

तस्वीर कपीराइट Getty Images

उक्त समितिले बुझाएको प्रतिवेदनको तेस्रो भाग "जिम्मेवार संस्था/व्यक्ति तथा कारबाहीको सिफारिस"मा विमान अपहरणबारे पूर्वसूचना आएको भन्ने कुरा उल्लेख छ।

उक्त भागको बुँदा नम्बर ३.५ मा भनिएको छ, "विमान अपहरण हुन सक्ने पूर्वसूचना प्राप्त भइसकेको सन्दर्भमा हवाई सुरक्षा एवम् विमानस्थल व्यवस्थापनलाई थप सुदृढ पार्ने पक्षमा सम्बन्धित नीति निर्माणमा संलग्न हुने नेतृत्व तह आवश्यक मात्रामा गम्भीर भएको आभास पाइएन।"

तर उक्त प्रतिवेदनमा विमानस्थलको सुरक्षाका लागि खटिएका त्यहाँका अधिकारीहरूलाई कारबाहीको सिफारिस गरिएको भए पनि 'पूर्वसूचना पाएर पनि त्यसलाई बेवास्ता गर्ने' भनिएका व्यक्तिहरूलाई चाहिँ कारबाहीको सिफारिस गरिएको छैन।

विमानस्थलको सुरक्षा चुस्त बनाउनका लागि उक्त प्रतिवेदनले दिएका सुझावमध्ये अधिकांश अझै पनि कार्यान्वयन नगरिएको छानबिन समितिका सदस्यहरू बताउँछन्।

सम्बन्धित समाचार