सोमालियामा कार बम विस्फोट हुँदा दर्जनौँको मृत्यु
सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।
सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको छ।
सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।
मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्।
"अहिलेसम्म हामीले ५१ जना मृत मानिसलाई लगेका छौँ," आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर अब्दिरहमान हाजी आदेनले समाचार संस्था रोयटर्सलाई भने।
विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल-शबाब समूहले गर्ने गरेको थियो।
तस्बिर स्रोत, Reuters
अल-कायदासँग सम्बन्धित अल-शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ।
प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको बताएका छन्।
मृतकको सङ्ख्या बढ्नसक्ने ठानिएको छ।
"मैले देखेको भनेको छरिएका शवहरू मात्रै हुन्," विस्फोटको बेला नजिकै रहेका साकारिया अब्दुकादिरले बताए।
तस्बिर स्रोत, Reuters
सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको सङ्ख्या ९० भन्दा बढि भएको बताएपनि त्यो पुष्टि हुन सकेको छैन।
"यस दानवीय घटनामा जीवन गुमाएकाहरूको मृत आत्मालाई चीर शान्ति प्राप्त होस्," एक पूर्वगृहमन्त्रीले भने।