बीस वर्षअघि काठमाण्डूबाट भएको इन्डियन एयरलाइन्स अपहरणबारे नसुल्झिएका तीन विवाद

  • 29 डिसेम्बर 2019
विमान अपहरण तस्वीर कपीराइट Getty Images

दुई दशकअघि काठमाण्डूबाट भएको एउटा जहाज अपहरणबारे त्यस घटनासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिन पुगेका व्यक्तिहरूबाट विभिन्न खालका विरोधाभासपूर्ण विवरणहरू सार्वजनिक भएका छन्।

गएका बीस वर्षमा पटक-पटक गरी सार्वजनिक ती परस्पर बाझिएका विवरणहरूका कारण सन् १९९९ डिसेम्बरको अन्तिम साता भएको उक्त जहाज अपहरणलाई थप रहस्यमयी बनाइदिएको छ।

त्यस वर्षको डिसेम्बर २४ तारिखमा काठमाण्डूबाट भारतको राजधानी दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्स उडान नम्बर आईसी-८१४ को जहाज दिल्ली पुगेन।

नेपाल कटेर भारतीय आकाशमा प्रवेश गर्ने बित्तिकै पाँचजना इस्लामिक उग्रवादीहरूले कब्जामा लिएको उक्त विमानलाई अमृतसर, लाहोर, दुबई हुँदै अफगानिस्तानको कान्दहार पुर्‍याइएको थियो।

भारतमा रहेका कश्मीरी सशस्त्र समूहका तीनजना व्यक्तिहरूलाई कान्दहारमै पुर्‍याएर छाडिएपछि मात्र उक्त विमान र यात्रुहरू अपहरणकारीबाट मुक्त भएका थिए।

गएको दुई दशकमा त्यस घटनामा बन्धक बनेका, त्यसको अनुसन्धान गरेका, त्यसबेला उच्च पदमा रहेर विभिन्न निर्णय गरेका र प्रत्यक्षदर्शीहरूमध्ये कतिले किताब नै लेखेर त कतिले अन्य माध्यमबाट विभिन्नखाले विवरणहरू सार्वजनिक गरेका छन्।

त्यो जहाज अपहरणमा संलग्न ठहरिएर भारतको अदालतबाट सजाय पाएकाहरूले अदालतमा दिएको बयान, नेपाल र भारतबाट गरिएका अनुसन्धान तथा विकिलिक्सद्वारा सार्वजनिक गरिएका कूटनीतिक पत्रहरूका माध्यमबाट पनि केही विवरण बाहिर आएका छन्।

तीनै विवरणहरूको अध्ययन गरी बीबीसीले फेला पारेका तीनवटा रोचक कुराहरू:

अपहरणकारीको हतियार

अपहरणकारीले प्रयोग गरेको हतियारबारे विभिन्न व्यक्तिहरूले दिएका विवरणहरू फरक-फरक देखिएका छन्।

उक्त घटनाका आधारमा बनेका बलिउड चलचित्रदेखि वृत्तचित्र सम्ममा जहाज भारतीय आकाशमा प्रवेश गर्ने बित्तिकै अपहरणकारीले पेस्तोल तेर्स्याएको देखाइएको छ।

त्यस्तै उक्त जहाजका मुख्य चालक, फ्लाइट इन्जिनियर लगायतले दिएका अन्तर्वार्ताहरू र उनीहरूले प्रकाशित गरेका पुस्तकमा पनि त्यस्तै विवरण पाइन्छ।

उक्त जहाज अपहरणकारीको कब्जाबाट मुक्त भएपछि सन् २०० ज्यानुअरीको पहिलो साता बीबीसी विश्व सेवालाई दिएको अन्तर्वार्तामा पनि जहाजका प्रमुख चालक क्याप्टेन देवी शरणले अपहरणकारीसँग सक्कली हतियार रहेको बताएका थिए।

उक्त जहाजका फ्लाइट इन्जिनियर अनिलकुमार जगियाले एकजना भारतीय पत्रकार सौरभ शुक्लासँग मिलेर लेखेको पुस्तक 'आईसी-८१४ हाइज्याक्ड: द इन्साइड स्टोरी'मा सुरुमै एकजना अपहरणकारीले पाइलटहरू र उनलाई पेस्तोल तेर्स्याएको र हाते ग्रिनेड देखाएको लेखेका छन्।

"...ढोका ठेलेर एउटा व्यक्ति ककपिटमा प्रवेश गर्‍यो र 'बसबस' भनेर करायो। क्याप्टेन शरणले 'के हो यो?' भने। मैले 'के भयो? तिमी को हौ?' भने। निश्चय नै तत्कालै उनी को थिए भन्ने स्पष्ट भयो, उसको देब्रे हातमा ग्रिनेड र दाहिने हातमा रिभल्वर थियो।"

सोही कुरालाई क्याप्टेन शरणले पनि पटकपटक पुष्टि गर्दै विभिन्न माध्यमहरूबाट सार्वजनिक गरेका छन्।

जहाजमा यात्रा गरेकाहरूकै विवरणका आधारमा उक्त जहाजलाई अपहरणकारीहरूलाई मुक्त गर्न मध्यस्थता गरेकाहरूले पनि सुरुमै पेस्तोललगायतका हतियार अपहरणकारीसँग रहेको लेखेका छन्।

तर सोही कुरालाई भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलाइसिस् विङ्ग (रअ) का पूर्वप्रमुख अमरजीत सिंह दुलतको संस्मरणात्मक एउटा पुस्तकले भने शङ्कास्पद बनाइदिएको छ।

दुलतले आफ्नो पुस्तक 'कश्मीर: द बाजपेयी इयर्स'मा विमान अपहरण ताका भारतमा धेरैले विश्वास गर्ने गरेको कुरालाई आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

काठमाण्डूबाट उडेर इन्धन भर्नका लागि भनी भारतको अमृतसरमा अवतरण गरिएको जहाज अपहरणकारीको दबाबमा इन्धन नहाली पाकिस्तानको लाहोरमा पुर्‍याइएको थियो।

तस्वीर कपीराइट Getty Images

त्यसक्रममा पाकिस्तानी गुप्तचर निकायले अपहरणकारीलाई सहायता गरेको भन्ने खालको सङ्केत दुलतले उक्त पुस्तकमा गरेका छन्।

उनले लेखेका छन्, "... जहाज लाहोरमा अवतरण गर्‍यो, इन्धन भरियो र धेरैले विश्वास गरेजस्तै, अपहरणकारीहरूले हतियारको एउटा झोला लिए।"

आदित्य सिन्हासँग मिलेर दुलतले लेखेको उक्त पुस्तक चार वर्षअघि मात्र प्रकाशित भएको हो।

त्यसले अपहरणलगत्तै नेपाली अधिकारीहरूको अनुसन्धानमा काठमाण्डू विमानस्थलबाटै अपहरणकारीले पेस्तोल, ह्यान्ड ग्रिनेडलगायतका हतियार विमानसम्म पुर्‍याएको नहुन सक्छन् भनी गरेको शङ्कालाई थप बल पुर्‍याएको ठानिन्छ।

भारतीयहरूले उक्त अपहरणमा सुरुमै पेस्तोललगायतका हतियार प्रयोग गरेको विवरण दिएका भए पनि नेपाली अधिकारीहरू र उक्त जहाजमा यात्रा गरेका नेपालीहरूले भने त्यसमा शङ्का व्यक्त गर्दै आएका छन्।

दुई साता अघि मात्र बीबीसीले अन्तर्वार्ता गरेका उक्त जहाजमा यात्रा गरेका एकजना यात्री जनकलाल श्रेष्ठले पनि कान्दहार पुग्नुपूर्व अपहरणकारीसँग चक्कु मात्र देखेको बताए।

अपहरणको छानबिन गर्न तत्कालिन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि अपहरणकारीले प्रयोग गरेको हतियारबारे निश्चय गर्न नसकेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

Image caption उक्त विमानमा यात्रा गरेका नेपाली यात्रु जनकलाल श्रेष्ठ

प्रतिवेदनमा अपहरणकारीले प्रयोग गरेको हतियारबारे थाहा पाउन चालक दलका सदस्य र यात्रुहरूको बयान महत्त्वपूर्ण हुने तर आफूलाई चालक दलका सदस्य र धेरै यात्रुसँग बुझ्ने अवसर नमिलेको भनिएको छ।

नेपाल फर्किएका यात्रुहरूको जानकारीका आधारमा समितिले प्रतिवेदनमा "सुरुमा अपहरणकारीले पेस्तोल र बम भनेका हतियार सक्कली वा नक्कली छुट्ट्याउन नसकिएको तर कान्दहार पुगेपछि भने सक्कली पेस्तोल र बम देखिएको, ती दुवै पहिलेका हतियारभन्दा फरक देखिएको" भन्ने खालको विवरण उल्लेख गरेको छ।

अपहरित विमानका एकजना यात्रु रुपेन कात्याललाई घाँटीमा छुरा हानी हत्या गरेकाले अपहरणकारीसँग छुरा पनि रहेको भन्ने विवरण पनि त्यसमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, "अपहरणकारीले प्रयोग गरेको हतियारहरूमध्ये छुरा भएको त प्रस्टिन्छ तर पिस्तोल र हाते बम भने सुरु अपहरण हुँदा सक्कली नै थियो वा नक्कली थियो स्पष्ट भन्न सकिने स्थिति छैन।"

हिमाल खबरपत्रिकाको २०५६ माघ (१-१५) को अङ्कमा पत्रकार सुधीर शर्माले लेखेको एउटा रिपोर्टमा पनि त्यसबेला नक्कली हतियार प्रयोग हुनसक्ने सम्भावना औल्याइएको उल्लेख छ।

उक्त रिपोर्टमा पत्रकार शर्माले लेखेका छन्, "घटनाक्रमलाई सूक्ष्म रूपमा केलाउँदा अपहरणकारीसँग सुरुमा भएका हतियारहरू अर्थात् दुइटा रिभल्वर र दुइटा ग्रिनेड नक्कली हुनसक्ने आधार पाएको बुझिएको छ। गृह मन्त्रालयले सहसचिव टीकादत्त निरौलाको अध्यक्षतामा गठन गरेको छानबिन समितिले पनि त्यस्तै ठहर गरेको छ।"

तर उक्त जहाज अपहरण भएको २० वर्ष बितिसक्दा पनि अपहरणकारीले अपहरण गर्दा सुरुमा कस्ता हतियार प्रयोग गरेका थिए र ती सक्कली थिए वा नक्कली भन्ने विवाद सुल्झिन सकेको छैन।

पूर्वसूचना

जहाज अपहरणबारे पूर्वसूचना थियो वा थिएन भन्नेबारे पनि फरक-फरक विवरणहरू सार्वजनिक भएका छन्।

त्यसबारे नेपाली अधिकारीहरू र भारतीय अधिकारीहरूका भनाइहरू त्यसैबेला पनि बाझिएको देखिन्छ।

कतिले पूर्व सूचना आएको भन्दै नेपाली अधिकारीहरूले बेवास्ता गरेको आरोप लगाएका छन् भने रअका एकजना पूर्व अधिकारीले त रअका तत्कालिन नेपाल प्रमुखलाई नै दोष लगाएका छन्।

तस्वीर कपीराइट Getty Images

रअका पूर्व अधिकारी आरके यादवले आफ्नो पुस्तक 'मिसन रअ'मा त्यस्तो आरोप लगाएका हुन्।

उक्त पुस्तकको कुमुद अधिकारीले गरेको नेपाली अनुवादमा लेखिएको छ, "...आईसी-८१४ को अपहरण हुनुअघि रअका एक जना कनिष्ठ जासुस द्वितीय सचिव यूभी सिंहले आफ्ना परामर्शदाता भारतीय दूतावास काठमाण्डूका रअका वरिष्ठ अधिकारी एबीएस तोमरलाई आफ्नो सम्पर्कसूत्र अनुसार पाकिस्तानी उग्रवादीहरूले विमान अपहरण गर्ने आशङ्का रहेको जानकारी गराएका थिए। रअका ती जासुसलाई तोमरले यस रिपोर्टको सत्यता प्रमाणित गर्न भने।"

"रअका ती अधिकारीले आफ्नो सम्पर्कस्रोत विमानस्थलको जिम्मेवार अधिकारी रहेको खुलासा गरेपछि तोमरले उनलाई झपारे र त्यस्तो हल्ला नचलाउन चेतावनी दिए। यो रिपोर्ट तोमरले रअको मुख्यालयमा कहिल्यै पठाएनन् पुन: जाँच पनि नगरी त्यत्तिक दबाएर राखे।"

त्यस्तो पूर्वसूचनाबारे न भारतीय अधिकारीहरूले आधिकारिक रूपमा स्वीकार गरेका छन् न त नेपाली अधिकारीहरूले नै।

तर गत साता मात्र बीबीसी नेपालीसँगको अन्तर्रवार्तामा उक्त घटनापछि नेपालले बनाएको उच्चस्तरीय छानबिन समितिका एकजना सदस्य पूर्व गृहसचिव खेमराज रेग्मीले पूर्वसूचना आएको पाइएको बताएका छन्।

उनले त्यसबारे तत्कालीन पर्यटन राज्यमन्त्रीसँग पनि सोधिएको जानकारी दिए।

सो कुरालाई उक्त छानबिन समितिले आफ्नो प्रतिवेदनको एउटा बुँदामा पनि समेटेको छ।

रेग्मीले त्यस्तो पूर्व सूचना लिखित रूपमा आदानप्रदान भएको नपाइएको बताएका थिए।

तर हिमाल खबर पत्रिकाको २०५६ माघ (१-१५) को अङ्कमा प्रकाशित रिपोर्टमा विमान अपहरण हुनु दुई दिन अघि पनि प्रहरी प्रधान कार्यालयले एउटा गोप्य पत्रमार्फत गृह मन्त्रालयलाई "विमान अपहरण हुनसक्ने खालको महत्त्वपूर्ण सूचना दिएको" उल्लेख छ।

अपहरण हुनुभन्दा तीन महिना अघि नै राष्ट्रिय अनुसन्धान विभागले पनि गृह मन्त्री र सचिवलाई छुट्टाछुट्टै रिपोर्ट पेस गरेर नेपालमा विमान अपहरण हुनसक्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा सुरक्षा सतर्कता अपनाउन सुझाव दिएको उक्त रिपोर्टमा उल्लेख छ।

विमान अपहरणबारे पूर्व सूचना रहेको भन्ने कुरालाई त्यसबेलाका नेपाली अधिकारीले औपचारिक रूपमा अस्वीकार गर्दै आएका छन्।

त्यसले गर्दा उक्त घटनाको पूर्व सूचना थियो कि थिएन भन्ने विषयमा अझै विवाद कायमै छ।

ती रहस्यमयी यात्रु

उक्त जहाजमा यात्रा गरेका एकजना यात्रीलाई लिएर धेरैले प्रश्न मात्र गरेनन् भारत र पाकिस्ताबीच वाक्‌युद्ध नै चल्यो।

'षड्यन्त्रको सिद्धान्त'मा विश्वास गर्नेहरूले त उनकै योजना अपहरण भएको समेत भनेर आरोप लगाए।

अपहरणलगत्तैका विभिन्न समाचारहरूमा उनलाई "रहस्यमयी यात्री"का रूपमा पनि चित्रित गरियो।

ती यात्री थिए- काठमाण्डूस्थित रअका वरिष्ठ अधिकारी एबीएस तोमर।

उनी पनि सोही जहाजमा दिल्ली जाँदै थिए। अन्य यात्रुसँगै उनी पनि अपहरणमा परे।

तस्वीर कपीराइट SAEED KHAN/AFP/GETTY IMAGES

उनीबारे अपहरणकारीलाई थाहा नभएको भारतीय अधिकारीहरूले आफ्ना संस्मरणहरूमा लेखेका छन्।

तर उक्त जहाजमा उनको उपस्थितीलाई लिएर भारत र पाकिस्तानबीच मात्र होइन रअका पूर्व अधिकारीहरूबीच नै पनि वाक्‌युद्ध चल्यो।

आरके यादवले आफ्नो पुस्तकमा तोमरबारे लेखेका छन्, "एसबीएस तोमरको भाग्य, उनी त्यही विमानमा थिए र उनलाई पनि अन्य यात्रुझैँ कान्दहरमा बन्दी बनाइएको थियो। यदि अपहरणकर्ताहरूले उनको परिचय प्राप्त गरेका भए उनलाई निर्दोष रुपेन कत्यालको ठाउँमा मारिने ठूलो सम्भावना थियो।"

यादवले तोमरलाई उक्त अपहरणको पूर्वसूचना पाएर पनि रअको मुख्यालयमा त्यसलाई नपठाएको आरोप लगाउँदै लेखेका छन्, "... उनी प्रधानमन्त्री कार्यालयका एक जना वरिष्ठ अधिकारीका नजिकका नाता पर्ने भएकाले उनलाई त्यस्तो विपत्ति निम्त्याउने लापरबाही गरेकोमा दण्डित गर्नुको साटो अमेरिकाको लाभदायक वैदेशिक नियुक्तिमा पठाइयो।"

यादवले दुलतको पुस्तक सार्वजनिक भएपछि उनले तोमरबारे विवरणहरू लुकाएको आरोप पनि लगाएका थिए। त्यसलाई दुलतले खण्डन गरिसकेका छन्।

यादवले सन् २०१५ जुलाईमा इण्डिया टुडेसँग तोमर उक्त जहाजमा कुन सिटमा बसेका थिए समेत खुलाएर दुलतले आफ्नो पुस्तकमा उनको भूमिका लुकाएको बताएका थिए।

उक्त जहाजमा तोमर भएकैले अमृतसरमा जहाज अवतरण भएका बेला गर्न लगिएको कमाण्डो कारबाही समेत नभएको भन्दै कतिपयले त्यसबेलाका अधिकारीहरूलाई आरोप लगाउने गरेका छन्।

त्यसको कारणबारे यादवले तोमर तत्कालिन प्रधानमन्त्री अटलबिहारी बाजपेयीका प्रमुख सचिव एनके सिंह र पछि न्याशनल सेक्युरेटी गार्डस्‌का महानिर्देशक बनेका निखिल कुमारका नातेदार भएकाले नै त्यस्तो कारबाही नभएको दाबी गरेका छन्।

भारतमा धेरैले यादवकै जस्तो दाबी गर्ने गरेका छन् र उनीहरूले रअका एकजना अधिकारीलाई बचाउन त्यसबेला अमृतसरमा सैन्य कारबाही नगरिएको दाबी गर्ने गर्छन्।

तस्वीर कपीराइट Getty Images
Image caption अपहरित विमान छुटाउन भारतले छाडेका तीनमध्येका एक उग्रवादी मसुद अजहर

दुलतले चाहिँ तोमर त्यस जहाजमा भएको थाहा भए पनि उनलाई जोगाउनकै लागि जहाजलाई अमृतसरबाट उड्न दिएको र पछि तीनजना बन्दीलाई छाडिएको भन्ने आरोप सत्य नभएको बताउने गरेका छन्।

अन्य विवाद

उक्त जहाज अपहरणबारे यी तीन बाहेक अन्य धेरै विषयमा पनि विवाद कायमै रहेका छन्।

त्यसमध्येको अर्को विवाद हो उक्त घटनामा प्रत्यक्ष/परोक्ष रूपमा पाकिस्तानी गुप्तचर निकाय आईएसईको हात रहेको भनी भारतले लगाएको आरोप।

त्यसलाई पाकिस्तानले निराधार बन्ने गरेको छ। उक्त घटना लगत्तै पनि दुवै देशहरू आरोप प्रत्यारोपमा उत्रेका थिए।

तर उक्त घटनामा पाकिस्तानको संलग्नता भए/नभएको र भएको भए कस्तो संलग्तना थियो भन्ने विवाद कायमै छ।

फरकफरक व्यक्तिहरूले फरकफरक ढङ्गले त्यसको व्याख्या गरिरहेका छन्।

पछिल्ला वर्षहरूमा भारत-पाकिस्तान सम्बन्ध र अन्य विषयमा लेखिएका पुस्तकहरूमा पनि उक्त जहाज अपहरणसँग जोडिएका कतिपय विषयबारे नयाँ विवरणहरू सार्वजनिक हुने क्रम भने रोकिएको छैन।