अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण, इरानसमर्थित २५ लडाकुको मृत्यु भएको दाबी

  • 30 डिसेम्बर 2019
अलकाइम तस्वीर कपीराइट EPA

आफ्नो देशका एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको छ।

इराकी सुरक्षास्रोतहरूका अनुसार आइतवार गरिएका आक्रमणमा कताइब हेज्बुला समूहका कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

उक्त समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकाले हेज्बुलालाई आतङ्कवादी सङ्गठन मानेको छ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।

समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो।

उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ।

वाशिङ्टन डीसीमा बोल्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गरिने चेतवानी इरानलाई दिएका थिए।

"हामीले राष्ट्रपति ट्रम्पले महिनौँदेखि भन्दै आएको कुरा स्पष्ट पार्नेगरी आज निर्णायक प्रतिक्रिया दिएका हौँ। अर्थात् अमेरिकी महिला र पुरुषलाई जोखिममा पार्ने इरानको गतिविधि हामी सहँदैनौँ," उनले भने।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले एफ-१५ लडाकु विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँचवटा स्थानमा आक्रमण गरेको संवाददाताहरूलाई बताए।

तीमध्ये तीनवटा स्थान पश्चिम इराक र दुईवटा पूर्वी सिरियामा थिए।

कताइब हेज्बुला के हो?

इरानको समर्थन रहेको शिया मुस्लिमहरूको मिलिसिया समूह कताइब हेज्बुला सन् २००७ मा गठन भएको हो।

अमेरिकाका अनुसार उक्त समूहको इरानको कुड्स फौजसँग बलियो सम्बन्ध छ र यसले इरानबाट पटकपटक सहयोग प्राप्त गर्दै आएको छ।

ट्रम्प प्रशासनले कुड्स फौज अमेरिकाप्रति लक्षित विभिन्न आतङ्कवादी समूहलाई लगानी गर्ने, तालिम, हतियार र विभिन्न किसिमका उपकरण दिने इरानी संयन्त्र रहेको आरोप लगाउँदै आएको छ।