कासिम सुलेमानी: अहिले किन मारिए र अब के हुन्छ

  • जोनाथन मार्कस
  • रक्षा तथा कूटनीतिक संवाददाता
कासिम सुलेमानी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

कासिम सुलेमानी

इरानको क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि अमेरिका र इरानबीच चलिरहेको न्यून तहको द्वन्द्वलाई नाटकीय रूपमा उचाइमा पुर्‍याइदिएको छ र यसको परिणाम निकै गम्भीर हुन सक्छ।

इरानले त्यसको जवाफ दिन्छ भन्ने ठानिएको छ।

विभिन्न क्रियाप्रतिक्रियाले दुई मुलुकलाई प्रत्यक्ष टकरावको स्थितिमा पुर्‍याइदिन सक्छ। इराकमा वाशिङटनको भविष्यमाथि पनि प्रश्न उठ्नेछ।

र, राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वबारे कुनै रणनीति बनाएको भए त्यसको अभूतपूर्व रूपमा परीक्षण हुनेछ।

बराक ओबामा सरकारमा मध्यपूर्व तथा पर्सियाली खाडीका लागि ह्वाइट हाउसका प्रतिनिधि फिलिप गोर्डनले सुलेमानको हत्यालाई अमेरिकीहरूले इरानमाथि एक प्रकारले 'युद्ध घोषणा गरेको' रूपमा व्याख्या गरेका छन्।

क्विड फोर्स इरानको विदेशमा रहेका सैन्य कारबाहीका लागि जिम्मेवार निकाय हो।

क्विड फोर्समार्फत् ‍वर्षौँदेखि सुलेमानीको नेतृत्वमा लेबनन, इराक. सिरिया वा अन्यत्र योजनाबद्ध हमला गरेर तथा तेहरानका स्थानीय समर्थकहरूलाई बलियो बनाएर इरानको प्रभाव बढाउने काम हुँदै आएको थियो।

तस्बिर स्रोत, Reuters

वाशिङटनका लागि उनी अमेरिकी रगत लतपतिएको हात भएका मानिस थिए।

तर उनी इरानमा लोकप्रिय थिए। र, व्यावहारिक रूपमा हेर्दा अमेरिकी प्रतिबन्ध र दबावहरूविरुद्ध लडाइँको नेतृत्वकर्ता थिए।

सुलेमानी राष्ट्रपति ट्रम्पको निशानामा थिए भन्ने कुरा त्यति आश्चर्यजनक छैन, तर अहिले नै अमेरिकाले किन उनीमाथि आक्रमण गर्‍यो भन्ने कुरा चाहिँ आश्चर्यजनक छ।

इराकमा रहेको अमेरिकी सैन्य शिविरहरूमा सानोतिनो रूपमा भइरहेका रकेट आक्रमणका लागि तेहरानलाई दोष लगाइएको थियो। एकजना अमेरिकी ठेकेदारको त्यस्तै रकेट आक्रमणमा मृत्यु भएको थियो।

तर यसअघिका इरानी कारबाहीहरू- खाडीमा ट्याङ्करहरूमाथि हमला, अमेरिकी मानवरहित विमान झारेको र साउदी अरबमा एउटा तेल केन्द्रमाथि ठूलो आक्रमणको अमेरिकाले प्रत्यक्ष प्रतिक्रिया दिएन।

अमेरिकी विदेश मन्त्री माइक पम्पेओले इरानको रिभोलुशनरी गार्ड्स कर्पलाई गत वर्ष आतङ्ककारी समूह भनेका थिए।

इराकमा रहेको अमेरिकी सैन्य शिविरहरूमाथि भएका रकेट आक्रमणबारे पेन्टागनले इरान समर्थक मिलिशियाहरूलाई दोष लगाउँदै त्यसविरुद्ध कारबाही गरेको थियो।

त्यसले बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण गर्न उक्सायो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

इरानले इराकमा रहेका अमेरिकी फौजमाथि आक्रमण गर्ला कि?

सुलेमानीलाई अहिले नै मार्ने निर्णय गर्नुपरेको विषयको जवाफ दिँदै अमेरिकाले उनका पहिलेका गतिविधिमाथि मात्र केन्द्रित नभएर चेतावनीका रूपमा गरेको बताएको छ।

पेन्टागनको विज्ञप्तिमा भनिएको छ, "ती जेनरल इराक र यो क्षेत्रमै रहेका अमेरिकी राजदूत र सेवा प्रदायकहरूमाथि आक्रमण गर्ने योजनामा सक्रिय रूपमा संलग्न रहेका थिए।"

अब के हुन्छ?

अब के हुन्छ भन्ने ठूलो प्रश्न उत्पन्न भएको छ।

राष्ट्रपति ट्रम्पले एउटा तीरले दुइटा निशाना बनाउने आशा राखेका होलान्।

एक त इरानमाथि आक्रमण गरेका छन्, अर्को यो क्षेत्रमा अमेरिकाका समर्थक इजरेल र साउदी अरेबियालाई अमेरिकाको शक्ति अझ पनि बाँकी छ भन्ने लाग्नेछ।

तर तत्काल नभए पनि इरानले बलियो प्रतिक्रिया दिँदैन कि भनेर सोच्नै सकिँदैन।

इराकमा तैनाथ ५,००० अमेरिकी सैनिक सम्भावित निशाना हुन्। विगतमा पनि इरान र उसका समर्थकहरूले त्यस्तै गरेका थिए।

खाडीमा तनाव बढ्नेछ। त्यसको प्रारम्भिक प्रभाव तेलको मूल्य बढाएकोमा देखिनेछ।

अमेरिका र उसका सहयोगी अब प्रतिरक्षात्मक कुरामा ध्यान दिनेछन्।

अमेरिकाले बगदादस्थिति आफ्नो दूतावास सुरक्षाका लागि केही सैनिकहरू थपिसकेको छ।

आवश्यक परे यो क्षेत्रमा अरू सैनिक पनि थप्ने उसको योजना हुनेछ।

इरानले के गर्ला?

तस्बिर स्रोत, EPA

इरानको प्रतिक्रिया फरक किसिमको पनि हुन सक्ने उत्तिकै सम्भावना छ अर्थात् आक्रमणको बदला आक्रमण नहुन पनि सक्छ।

सुलेमानीले बनाएको र पैसा खर्च गरेको यो क्षेत्रमा रहेको इरानको बृहत् समर्थन उपयोग गर्ने उसको रणनीति हुन सक्छ।

उदाहरणका लागि उसले इराकी सरकारलाई कठिन परिस्थितिमा धकेल्दै त्यहाँको अमेरिकी तैनाथीलाई प्रश्न गर्दै बगदादस्थित अमेरिकी दूतावासमाथि घेराबन्दी बढाउन दबाव दिन सक्छ।

त्यसले अरूतिर प्रदर्शनहरू गर्न उक्साउन सक्छ र अरू ठाउँमा आक्रमण हुन सक्छ।

तस्बिर स्रोत, AFP

क्विड फोर्सका कमान्डरमाथि आक्रमण अमेरिकी सैन्य गुप्तचरी र क्षमताको स्पष्ट प्रर्दशन हो।

सुलेमानीको मृत्युमाथि यो क्षेत्रमा कैयौँले शोक मनाउने छैनन्।

तर उनको हत्या गर्ने अनुमति दिनु राष्ट्रपति ट्रम्पको बुद्धिमत्तापूर्ण कार्य थियो?

पेन्टागन के यसपछिको परिणाम झेल्नका लागि तयार छ?

यो आक्रमणले यो मध्यपूर्वबारे राष्ट्रपति ट्रम्पको रणनीतिबारे के प्रस्ट्याउँछ?

के त्यसमा केही परिवर्तन भएको छ?

के इरानी कारबाहीप्रति शून्य सहनशीलता नीति हो?

वा राष्ट्रपति ट्रम्पले "असाध्यै नराम्रो मान्छे" ठान्ने एक इरानी कमान्डरको सफाया मात्र हो?