कर्णालीका युवा: 'विदेशको भन्दा राम्रो कमाइ गाउँमै बसेर गरेका छौँ'

  • 14 जनवरी 2020
सुर्खेतको बराहताल गाउँपालिका जीतबहादुर शाहीले नर्सरी व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्
Image caption सुर्खेतको बराहताल गाउँपालिका जीतबहादुर शाहीले नर्सरी व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्

बराहताल गाउँपालिका सुर्खेतका जीतबहादुर शाही घाँसका बिरुवा बेचेर बर्सेनि १०-१२ लाख रुपैयाँ कमाउने बताउँछन्।

आर्थिक समस्याले गर्दा विगतमा बिहान-बेलुकीको छाक जुटाउन मुस्किल पर्ने उनका 'बिरुवा बेच्न थालेपछि सबै दु:ख हराए'।

शाहीमात्रै होइन, नर्सरीलाई व्यवसायको रूपमा अपनाएर कर्णालीका युवाहरूले गाउँमै लोभलाग्दो आम्दानी गरिरहेका छन्।

कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा झण्डै डेढ सय युवाले नर्सरी व्यवसाय गरेर वार्षिक २० करोड रुपैयाँ आम्दानी गर्दै आएका छन्।

जीवन धान्न सजिलो

आठ वर्षदेखि नर्सरी सञ्चालन गरिरहेका कुशे गाउँपालिका जाजरकोटका शिव मल्ल पनि बिरुवाबाट गतिलो आम्दानी गरिरहेको बताउँछन्।

भारतको शिमलामा काम खोज्न गएको बेला नर्सरीमा काम गरेको अनुभव उनले गाउँ फर्केर सुन्तलाको नर्सरीमा प्रयोग गरे।

उनी भन्छन, "नर्सरीबाट बर्षेनि १४-१५ लाख रुपैयाँ कमाइ हुन्छ। परिवार पाल्न, छोराछोरी पढाउन र अप्ठ्यारो पर्दा छरछिमेकलाई सहयोग गर्न पुगेको छ।"

चन्दननाथ नगरपालिका जुम्लाका अमर रावत पनि बर्सेनि स्याउका २७-२८ हजार बेर्ना बेच्छन्।

Image caption ओखरका बेर्ना गोडमेल गदै जाजरकोटकी महिला किसान

सात वर्षदेखि स्याउको नर्सरी चलाउँदै आएका उनी जुम्लामै उत्पादन भएका बिरुवामा रोग किरा कम लाग्ने, वातावरण अनुकूल र गुणस्तरीय हुने भएकोले व्यवसाय फस्टाएको बताउँछन्।

रोयल, रेड र गोल्डेन डेलिसियस जातका स्याउका बेर्ना उत्पादन गर्दै आएका उनी भन्छन, "बेर्ना बेचेर वार्षिक १४-१५ लाख रुपैयाँ कमाउँछु। श्रम गर्न छोडिएन, त्यसैले सफल भइयो।"

गाउँमै लोभलाग्दो कमाइ

स्याउ, सुन्तला, टिमुर, अलैँची, ओखर, अनार र कागतीजस्ता विभिन्न जातका बिरुवाबाट वर्षमा सातदेखि २० लाख रुपैयाँसम्म कमाइ हुने उनीहरू बताउँछन्।

जाजरकोटका कृष्ण बुढा भन्छन्, "गाउँमा केही गर्न सकिएन भनेर धेरै साथीहरू विदेश गएका छन्।"

"विदेशको भन्दा राम्रो कमाइ हामीले गाउँमै बसेर गरेका छौँ।"

बदलिँदै जीवन

युवाहरू नर्सरीले आफुहरूको जीवनमा परिवर्तन ल्याएको र रोजगारीको खोजीमा बर्सेनि कालापहाड जानुपर्ने बाध्यता पनि अन्त्य भएको दाबी गर्छन् ।

शाही भन्छन्, "कालापहाडको कमाइले खानालाउनै पुग्दैनथ्यो। ऋणसापट गरेर घरखर्च चलाउनु पर्थ्यो।"

शाहीकी पत्नी लक्ष्मी भन्छिन्, "पहिला अरूसँग सापट माग्थ्यौँ, अहिले अरूलाई दिने भएका छौँ।"

पैसा कमाउन थालेपछि समाजले हेर्ने दृष्टिकोण पनि बदलिएको युवाहरूको अनुभूति छ।

खिसीटिउरी गर्नेहरू चकित

"पहिला घरखर्च चलाउन निकै समस्या हुन्थ्यो", नर्सरीबाट राम्रो आम्दानी गरिरहेका युवा केशव रावल भन्छन्।

"अहिले छोराछोरी पढाउन र खान लाउन पुगेको छ।"

लक्ष्मी खड्का भन्छिन, "बिरुवा बेचेर पनि पैसा हुन्छ भनेर सुरुमा कसैले पनि पत्याएका थिएनन्, अहिले कमाइ देखेर सबै चकित छन्।"

उनका श्रीमान पूर्णबहादुर खड्काले माओवादी युद्धबाट फर्केपछि गाउँमा पहिलो नर्सरी खोलेका थिए।

नर्सरीबाट बर्षेनि २० लाख रुपैयाँ आम्दानी गर्दै आएको उनी बताउँछिन्।

नाम र दाम दुवै

गाँउमा युवाले बिरुवा उत्पादन गर्न थालेपछि बाहिरबाट बिरुवा ल्याउनु पर्ने झन्झटबाट मुक्त भएको किसानहरू बताउँछन्।

तीन सय टिमुरका बिरुवा लगाएकी सल्यानकी थुमरादेवी ओली गाउँमै नर्सरी खुलेपछि बाहिरबाट बेर्ना ल्याउनु पर्ने बाध्यता हटेको बताउँछिन्।

उनी भन्छिन् "गाउँमा किन्दा र बाहिरबाट किनेर ल्याउँदा खर्च दोबर फरक पर्छ।"

"गाउँका बेर्ना राम्रोसँग उमर्छन्।"

विगतमा मजदुरी गर्न भारत जाने कर्णालीका युवाले गाउँमै बसेर लाखौँ रुपैयाँ कमाएर अन्यलाई पनि रोजगारी दिएको बताउँछन्।

थोरै लगानीबाट राम्रो फाइदा लिन सकिने भएकोले नर्सरीलाई व्यवसायको रूपमा अपनाएको उनीहरु बताउँछन्।

Image caption जुम्लाको चन्दननाथ नगरपालिका उमगाडमा रतनबहादुर रावलले उत्पादन गरेका स्याउका बिरुवा

वार्षिक ३० करोड

कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा झण्डै डेढ सय युवाले नर्सरी व्यवसाय गरिरहेका छन्।

उनीहरुले बिरुवा बेचेर वार्षिक २० करोड रुपैयाँ आम्दानी गदै आएको कृषि निर्देशक चित्रबहादुर रोकायले बताए।

उनले भने, "युवाकै कारण कर्णाली प्रदेश बिरुवामा आत्मनिर्भर हुँदै गएको छ। अहिले अन्य जिल्लाबाट बिरुवा आउँदैन।"

सरकारको सहयोग

युवालाई कृषि पेशामा आकर्षित गर्न प्रदेश सरकारले अनुदानका साथै ज्ञान, सीप र प्रविधिमा सहयोग गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले बताए।

उनले भने, "व्यक्तिगत कृषि व्यवसाय गरेकालाई ५० प्रतिशत र सामूहिक गरेकालाई युवालाई ७० प्रतिशत रुपैयाँसम्म अनुदान दिएका छौँ।"

सम्बन्धित सामग्री