'हिमालमा पहिला नहुने स्थानमा बिरुवा उम्रिन थाले'

  • 12 जनवरी 2020
४७५० मिटर तस्वीर कपीराइट Elizabeth A. Byers

सगरमाथा क्षेत्रसहित पहिला वनस्पति नभएका हिमालयका उच्च स्थानहरूमा बोटबिरुवा फैलिन थालेको नयाँ अध्ययनले देखाएको छ।

अध्ययनकर्ताहरूले पहिला बोटबिरुवा नभएका उचाइमा बोटबिरुवा देखिन थालेको बताएका हुन्।

सो अध्ययनले विभिन्न क्षेत्रमा स्थायी रूपमा हिमनदी वा हिउँ हुने स्थानको पाँचदेखि १५ गुणा स्थानमा वनस्पति देखिएको देखाएको छ।

वैज्ञानिकहरूले बढ्दो वनस्पतिले दक्षिण र दक्षिण-पूर्वी एशियामा करिब डेढ अर्ब मानिसहरूलाई हुने जलप्रणालीमा के असर पर्छ भन्ने स्पष्ट नभइसकेको बताएका छन्।

यूकेको एक्सिटर विश्वविद्यालयका अध्ययनकर्ताहरूले सन् १९९३ देखि सन् २०१८ सम्मको भूउपग्रहको तथ्याङ्कमा आधारित भएर अध्ययन गरेका हुन्।

बढ्दो वनस्पति

"सबैभन्दा बढी बढेको वनस्पति ५,००० देखि ५,५०० मिटरसम्मको उचाइमा देखिएका छन्," प्रमुख अध्ययनकर्ता कारेन एन्डरसनले भनिन्।

"माथिल्लो उचाइमा सम्म स्थानमा र तल्लो उचाइमा भीरमा वनस्पति बढेको देखिएको छ।"

सो अध्ययन नासाको ल्यान्डस्याट भूउपग्रहको तस्बिरमा आधारित रहेर ४,१५० र ६,००० मिटरको उचाइलाई चार भागमा विभाजन गरेर गरिएको थियो।

अध्ययनमा पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्मको हिन्दू कुश हिमालयको विभिन्न स्थान समेटिएको छ।

सो अध्ययनको निष्कर्ष ग्लोबल चेञ्ज बायोलोजी नामक जर्नलमा प्रकाशित भएको हो।

तस्वीर कपीराइट Karen Anderson

सगरमाथाको वरपर वनस्पति

सगरमाथा क्षेत्रमा भने सबै उचाइमा वनस्पतिको उल्लेख्य वृद्धि भएको देखिएको छ।

ती क्षेत्रका वनस्पतिहरू घाँस र साना बोटबिरुवा हुन्।

हिमालयका हिमनदी र जल प्रणालीका बारेमा अध्ययन गरिरहेका अन्य वैज्ञानिकले पनि सो कुराको पुष्टि गरेका छन्।

"यो अध्ययन मौसम तातो र वर्षा बढी हुँदा जे हुने अपेक्षा गरिएको छ त्योसँग मेल खान्छ," अध्ययनमा संलग्न नभएका जियोसाइन्सका प्राध्यापक वाल्टर इम्मरजीलले भने।

"हिउँरेखा अर्थात् जहाँसम्म वनस्पति अन्त्य भएर हिउँ सुरु हुन्छ त्यो धेरै संवेदनशील उचाइ रेखा हो। त्यो माथि चढ्नु भनेको त्यहाँ वनस्पति उम्रिन सहयोग पुग्नु हो।"

तस्वीर कपीराइट Dominic Fawcett
Image caption सगरमाथा क्षेत्रमा वनस्पति: सन् १९९३ (नीलोमा) र सन् २०१७ (रातोमा)

सो अध्ययनले यो परिवर्तनको कारण भने समेटेको छैन।

अन्य अध्ययनहरूले भने जलवायुका कारण हुने वनस्पतिजन्य परिवर्तनका लागि हिमालय क्षेत्र जोखिममा रहेको देखाएका छन्।

"तापक्रम वृद्धिसँगै नेपाल र चीनका वनस्पति रेखा बढिरहेको देखिएको छ," हिमालयमा वनस्पति विषयमा अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका वनस्पतिशास्त्रका सहायक प्राध्यापक अच्युत तिवारीले बताए।

"यदि तल्लो उचाइका वनस्पतिमा परिवर्तन हुन्छ भने स्पष्ट रूपमा माथिल्लो उचाइमा पनि बढ्दो तापक्रमको असर हुन्छ।"

हिमालय क्षेत्रमा नियमित भ्रमण गरेका वैज्ञानिकहरूले पनि त्यहाँ हरियो बढेको अनुभव गरेका छन्।

वनस्पतिको उपनिवेश

"हिमालयमा पहिले हिउँ भएका केही स्थानहरूलाई अहिले वनस्पतिले उपनिवेश बनाएका छन्," नेपालको हिमालयमा ४० वर्ष अध्ययन गरेकी एलिजाबेथ बयेर्स भन्छिन्।

"धेरै वर्षअगाडि हिमनदी भएका केही स्थानमा अहिले फोहोरको डुङ्गुर देखिन्छ र तीमाथि काई र फूल पनि देखिन्छ।"

ती उचाइमा भएका वनस्पतिका बारेमा धेरै थाहा छैन किनभने हिमालयमा भएका धेरै अध्ययनहरू बढ्दो तापक्रमका कारण घट्दै गएका हिमनदी र बढिरहेका हिमतालमा केन्द्रित छन्।

ती वनस्पतिले कसरी हिउँ र माटोसँग सम्बन्ध राख्छ भन्ने कुरो बुझ्न थप अध्ययन आवश्यक भएको वैज्ञानिकहरू बताउँछन्।

जल प्रभाव

"वनस्पतिको यो परिवर्तनले त्यस क्षेत्रको पानीको गुणलाई कसरी असर गर्छ भन्ने महत्त्वपूर्ण प्रश्न हो," एन्डरसन भन्छिन्।

"के त्यसले हिमनदी र हिउँ पग्लन कम गर्छ वा त्यो प्रक्रियालाई अझ तीव्र बनाउँछ?"

तस्वीर कपीराइट Elizabeth A. Byers

प्राध्यापक इम्मरजील त्यो अध्ययन महत्त्वपूर्ण हुने बताउँछन्।

"यो यसकारण पनि महत्त्वपूर्ण हुन्छ कि माथिल्लो उचाइमा वनस्पतिको अर्थ त्यहाँबाट वाष्पीकरण पनि बढी हुन्छ।"

"उच्च तापक्रमका कारण त्यस्तो हुन्छ जसको अर्थ खोलामा बग्न पानी कम हुन्छ भन्ने हो।"

हिन्दू कुश हिमालय अफगानिस्तानदेखि म्यान्मारसम्म आठ देशमा रहेको छ र करिब डेढ करोड मानिसहरू त्यो क्षेत्रको पानीमा आधारित छन्।