'घरेलु काममा महिलाको सम्मान र मूल्याङ्कन दुवै हुनुपर्छ'

  • 14 जनवरी 2020
घरेलु काम
Image caption हुम्लाकी देउमा दिनमा १८ घण्टाभन्दा बढी काम गर्छिन्

हुम्लाकी देउमा रावल काठमाण्डूको एउटा निजी विद्यालयमा काम गर्छिन्। बिहान ४ बजे उठेर काम गर्ने उनी राति १० बजेअघि सुत्दिनन्।

पुरुषले नगरे घरेलु काममा महिलाको समय घट्दैन त्यसबीचमा खाना बनाउने, खाना खुवाएर बच्चालाई विद्यालय पठाउने, कोठाको सरसफाइ गर्ने, लुगा धुनेलगायतका सबै काम गर्छिन्।

देउमाले आरामसँग सास फेर्न विद्यालयको लामो बिदा कुर्नुपर्छ।

आफ्नो सबै कामका साथै श्रीमान्‍को काममासमेत सघाउन पर्ने हुँदा कामको बोझले सधैँ थिचिएको महसुस हुने उनी बताउँछिन्।

"मेरो काम सरसफाइ गर्ने मात्र हो। तर श्रीमान्‍लाई सघाउन बिहानै भ्यानमा जान्छु। भ्यानबाट फर्केर आएपछि चिया बनाउने, खाना बनाउने अनि छोरालाई स्कुल पठाउने काम गर्छु। दिनभरी व्यस्तै हुन्छु," देउमाले आफ्नो व्यस्तताबारे भनिन्, "राति हुँदा श्रीमान् काम सक्यो भनेर आराम गर्छन्। मैले गर्न पनि दिएको छैन। लुगा धुने काम राति नै गर्छु। आराम भनेको राति तीनचार घण्टा सुतेको बेला मात्रै हो।"

देउमा आफूले नपढेर धेरै काम गर्न परेको होला भन्ने सम्झन्छिन्। तर पढेलेखेकी सरकारी जागिरे रमा थापाको कथा पनि उस्तै छ।

उनी घरको सरसफाइ, बगैँचाको काम, बालबच्चाको पढाइ, खाना पकाउने, लुगा धुने लगायतका सबै काम गर्छिन्। कार्यालयमा पनि कामको चाप उत्तिकै हुन्छ।

आमा‚ बुहारी‚ छोरी‚ श्रीमती सबैसबै भूमिकाहरूमा उत्तिकै खरो उत्रन पर्ने अपेक्षासहितको व्यवहारले कहिल्यै फुर्सद नपाउने र जससमेत नपाउँदाको पीडा सुनाउने फुर्सद पनि नभएको उनी बताउँछिन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
'महिला सीडीओ भएकै कारण आफूलाई बारम्बार प्रमाणित गरिरहनुपर्छ'

"आफूले कमाएर पनि सुख छैन। एक छाक खाना बनाएर खुवाउने कसैले होइन। बालबच्चा आफूले नगरे भोकै हुन्छन्। सासूलाई मैले नै बनाएर खुवाउन पर्छ। परिवारको लागि गर्न पाउँदा त खुशी नै लाग्छ। तर कहिलेकाहीँ केही कुरा उनीहरूले भनेजस्तो भइदिएन भने यसरी बात लाउँछन् मानौँ मैले कहिल्यै केही गरेको छैन। कति चित्त दुखाउनु कति आँसु खसाल्नु," थापा दुखेसो पोख्छिन्।

प्रशंसा

देउमा र रमा जस्तै नेपाली महिलाहरूले गरिरहेको कामको मूल्य कायम गरी राष्ट्रिय आयमा उनीहरूको योगदानको गणना गर्ने लक्ष्य सरकारको १५ औँ राष्ट्रिय योजनामा समेटिएको छ।

महिला अधिकारको क्षेत्रमा काम गर्नेले यस्तो योजनाप्रति खुसी व्यक्त गरेका छन्।

पोखराकी प्राध्यापक तथा महिला अधिकारकर्मी चन्द्रा भद्रा सरकारको यो कदमले समाज र परिवारमा सकारात्मक परिवर्तनको क्रम सुरु हुने बताउँछिन्।

"सन् १९९२ मा मैले महिलाहरूले घरमा गर्ने कामको मुल्याङ्कन किन र कसरी हुनपर्छ भनेर स्थानीय अधिकारीहरू समक्ष एउटा कार्यक्रममा राखेकी थिएँ। अहिले आएर राष्ट्रिय योजना आयोगले आफ्नो १५औँ आवधिक योजनामा ब्ल्याक एन्ड ह्वाइटमा भए पनि राखेको छ भन्दा म त एकदम खुशी छु," महिला अधिकारकर्मी भद्राले बीबीसीसँग भनिन्, "सरकारले नै महिलाहरूको घरेलु कामको मुल्याङ्कन गरिदिए आम मानिसहरूले पनि महसुस गर्ने थिए।"

चुनौती

तस्वीर कपीराइट AFP
Image caption एक जना नेपाली महिलाले दिनमा १२ घण्टा काम गर्छन् भन्ने सरकारी अनुमान छ जुन सन् २०३० सम्ममा ६ घण्टा बनाउने योजना छ

रोजगारी तथा आयआर्जनको काममा समान अवसर तथा पहुँच हुनुपर्ने, मर्यादित श्रमको व्यवस्था कार्यान्वयन गरिनुपर्ने, प्रजनन् अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता हुनुपर्ने, बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्याङ्कन गर्ने जस्ता व्यवस्था संविधानमै उल्लेख भएका छन्।

तर यथास्थितिमा योजना र नीति बन्दैमा महिलाहरूको कामको बोझ कम नहुने जानकारहरू बताउँछन्।

एक जना नेपाली महिलाले दिनमा कति समय काम गर्छिन् भन्ने विषयमा यकिन तथ्याङ्क भेट्टाउन मुस्किल छ।

तर सरकारी अनुमान भने दैनिक १२ घण्टा काम गर्छन् भन्ने छ। जसलाई दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा ६ घण्टा पुर्याउने सरकारी योजना छ।

जे जस्ता नीति तथा कानूनी व्यवस्थाहरू आए पनि पारिवारिक तथा सामाजिक हिसाबमा महिलाले गर्नैपर्ने वा गरिरहेका कामलाई काम नै नमान्ने प्रवृत्ति अझै कायमै रहेको बताइन्छ।

यस्तो अवस्थामा नेपाली महिलाहरूको घरेलु कामको मूल्याङ्कन मात्र होइन उनीहरूले त्यसमा दिने समय कम गर्ने कुरा निकै चुनौतीपूर्ण रहेको महिला तथा बालबालिका विभागकी निर्देशक अनिता अधिकारी बताउँछिन्।

महिलाहरूले दिनमा १८ घण्टा काम गर्ने गरेको तथ्याङ्क विभिन्न तालिमहरूको क्रममा भेटिएको उनको भनाइ छ।

"महिला मुद्दाहरूमा काम गर्ने महिला कार्यालय नै खारेज भइ अब स्थानीय तहमा त्यसको जिम्मेवारी बाँडिएको छ। दक्ष जनशक्ति अस्तव्यक्त भएका छन्। स्थानीय तह यस्ता विषयमा त्यति जानकार छैनन्। अवस्था झन् भयावह छ। यस्तोमा सरकारले दिगो विकास लक्ष्य अन्तर्गत महिलाले गर्ने कामको अवधि ६ घण्टा बनाउने भनेको कुरा धेरै नै गाह्रो छ," महिला तथा बालबालिका विभागकी निर्देशक अनिता अधिकारीले भनिन्।

कसरी घटाउने?

प्रविधिमा महिलाहरूको पहुँच बढाउन सकिएको खण्डमा घरेलु काममा महिलाहरूको समय कम हुने प्राध्यापक भद्रा सुझाउँछिन्।

"पहिला दाउरा बालेर भात पकाउँदा दाउरा खोज्न समय लाग्थ्यो, भाँडा माझ्न समय लाग्थ्यो। अहिले ग्यास र राइस कुकरको प्रयोगले दाउरा खोज्न हिँड्ने, कालो भाडा माझ्ने काम कम भयो," भद्राले भनिन्, "यसरी कम समयमै गुणस्तरीय कामको प्रतिफल दिने प्रविधिमा महिलाको पहुँच हुनुपर्छ। सरकारले यस्ता प्रविधिहरूको विकास र प्रयोगमा जोड दिनुपर्छ।"

अर्की महिला अधिकारकर्मी सरू जोशी श्रेष्ठ भन्छिन्, "विदेशी कलाकार वा उद्यमीहरूले घरमा आफ्नी श्रीमतीलाई सहयोग गरेको कुरा सार्वजनिक हुँदा सबैलाई प्रेरणा मिल्छ। नेपाली पुरुषहरूले घरको काम गरेको सुनाउने वातावरण बन्न पर्‍यो। मिडियाले पनि त्यस्ता पुरुषहरूका कुरा बाहिर ल्याउनुपर्छ।"

छोरोछोरीलाई पनि घरको काम बाँडेर गर्न लगाउनाले महिलाको काम कम हुने र त्यसले उनीहरूलाई आफ्नो लागि समय निकाल्न सजिलो हुने जानकारहरू बताउँछन्।

औपचारिक अर्थोपार्जनका क्षेत्रमा समेत समान सहभागिताका लागि घरका पुरुषहरूले घरायसी काममा समान सहभागिता जनाउन पर्नेमा उनीहरू जोड दिन्छन्।

महिलाहरूलाई उनीहरूले घरमा गर्ने कामको पैसा होइन सम्मान दिन पर्छ र उनीहरूको काम अनुसार सामाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्छ भन्ने माग महिला अधिकारकर्मीहरूको छ।

सम्बन्धित सामग्री