बालिकाबीच नक्कली विवाह गर्ने पश्चिम नेपालको परम्परा

  • 15 जनवरी 2020
कठपुतली विवाह

सुर्खेत चौकुने गाउँपालिका गुटुकी लक्ष्मीदेवी शर्मा सात वर्षको हुँदा कठपुतली विवाहको बेहुला बनेकी थिइन् ।

नक्कली बेहुला भएर बेहुली भित्र्याउँदाको रमाइलो संगालेकी ६२ वर्षीय शर्माले अहिलेसम्म झण्डै चार दर्जन छोरीहरूलाई बेहुलाबेहुली बनाएर कठपुतली विवाह गराइदिएको बताउँछिन्।

बर्सेनि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन गुटुको भाप्र, डावगाउँ, तल्लो मोतिसेरा, माथिल्लो मोतिसेरा र लगाम गाउँमा कठपुतली विवाह गर्ने चलन छ।

एउटा मेलामा आगो ताप्ने क्रममा दुईजना बालिकाको जलेर मृत्यु भएपछि उनीहरूको बाबुआमाको धोको पूरा गरिदिन दुई बालिकाको कठपुतली विवाह गर्ने प्रचलन सुरु भएको हो।

पुर्खाले चलाएको चलनलाई आफूहरूले निरन्तरता दिएको र कठपुतली विवाह नगरे गाउँमा अनिष्ट हुने विश्वास मानिसहरूको छ।

कसको हुन्छ विवाह?

विवाहका लागि १० देखि १२ वर्षका रजस्वला नभएका बालिकाहरूको चुनिन्छन्।

सङ्क्रान्तिका दिन कठपुतली विवाह हुने भए पनि त्यसको तयारी भने दुई तीन दिन अगाडिदेखि सुरु हुन्छ।

दुलहा र दुलही कसलाई बनाउने भन्ने कुराको निर्णय अगुवा महिलाहरूले गर्छन्।

रत्ना विक भन्छिन्: "महिलाहरूकै सल्लाह अनुसार कठपुतली विवाहमा चाहिने आवश्यक सामाग्री जुटाउनेदेखि भर्लाका टाटा ल्याएर पोल्ने, मुढा बाल्ने र दुलही माग्ने कामहरू हुन्छन्।"

विवाह धूमधाम...

माघे सङ्क्रान्तिको अघिल्लो रात एकै ठाउँमा जम्मा भएर गाउँलेहरु मुढाको आगो ताप्ने र रातभर जाग्राम बस्ने गर्छन्।

"सङ्क्रान्तिको दिन विवाहको रमझम हुन्छ," रामलाल बयक भन्छन।

"दिउँसो बाजागाजा र डोलीसहित जन्तीहरू दुलही ल्याउन अर्को गाउँ जाने र एक-डेढ घण्टापछि दुलही लिएर फर्किन्छन्।"

गोकर्ण जैसी भन्छन्: "अहिले बिस्तारै रमाइलो कम भएको जस्तो देखिन्छ, तर महत्व घटेको छैन।"

सोही अवसरमा भर्लाको बियाँको सगुन बनाएर कोसेलीको रुपमा लिने चलन समेत छ।

पदमादेवी थापा भन्छिन्: "छोरीहरूले जङ्गलबाट भोर्ला ल्याउँछन्। मुढा बालेकै ठाउँबाट बेहुली माग्न जाने र धुमधामसँग दुलही भित्याउने चलन छ।"

विवाह गर्दा दुलहालाई काँधमा र दुलहीलाई डोलीमा राखेर ल्याइन्छ।

... तर नक्कली

कठपुतली विवाहमा दुलहादुलहीजस्तै उनीहरुका बुबाआमा पनि नक्कली राखिन्छ।

बिहे सकिएपछि दुलाहदुलहीको भूमिका निर्वाह गर्ने बालिकाहरू आफ्नो घर फर्किन्छन्।

हरेक वर्ष दुलाहदुलही फरक-फरक गाउँका हुने चलन छ।

कस्तुरा विक भन्छिन्: "कठपुतली विवाह पनि वास्तविक जस्तै हुने भएकोले पहिलोपटक हेर्नेले सक्कली हो कि नक्कली छुट्याउनै सक्दैनन्।"

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
म्वाइँ खाने परम्परा

सम्बन्धित सामग्री