पेरुस्थित विमानस्थलमा सुटकेसमा २० वटा दुर्लभ चरा बोकेका व्यक्ति पक्राउ

  • 16 जनवरी 2020
ह्युगो कोनिङ्गसको सुटकेसबाट चराहरू उद्धार गरिएपछि तस्वीर कपीराइट AFP
Image caption ह्युगो कोनिङ्गस्‌को सुटकेसमा चराहरू भेटिएको हो

२० वटा जीवित चराहरू सुटकेसमा राखेर यात्रा गर्न लागेका बेल्जियमका एकजना मानिसलाई पेरुको लिमा विमानस्थलमा पक्राउ गरिएको छ।

५४ वर्षीय ह्युगो कोनिङ्ग्सले कागजका साना खाले बाकसभित्र चराहरूलाई राखेर तस्करी गर्ने कोशिश गर्दै गर्दा उनलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका हुन्।

सबै संरक्षित जातका ती चराहरूलाई बेच्नका लागि स्पेनको मड्रिडमा लैजाने योजना रहेको पनि ती अधिकारीहरूले बताए।

सबै चराहरू जीवित नै भए पनि केहीले पानीको कमी र तनावको सङ्केत देखाएका थिए र घण्टौं बाकसभित्र बिताएपछि केहीको प्वाँख झरेका थिए।

कोनिङ्गस सोमवार पक्राउ परेका थिए र उनले जङ्गलीजनावरको गैरकानूनी तस्करीको कसुरमा पाँच वर्षसम्मको जेलसजायको सामना गर्नुपर्ने हुनसक्छ।

तस्वीर कपीराइट AFP
Image caption चराहरूलाई कागजका साना बाकसमा राखिएको थियो
तस्वीर कपीराइट AFP
Image caption यी चराहरूलाई पानीको कमी र तनावको सङ्केतहरू देखापरेका थिए

ती चराहरू पेरुका जङ्गलका रैथाने हुन् र तिनलाई इक्वेडर र बोलिभियामा पनि भेटिन्छ।

तीमध्ये दुईवटा हरियो प्वाँख भएका टुकानेट्स् चरा छन् भने १६ वटा एकदमै चम्किलो प्वाँख भएका ट्यानाजर प्रजातिका चरा छन्।

यी दुवै प्रकारका साना खाले चराहरूमा रङ्गिन र चम्किलो प्वााँख हुने भएकाले यी चराहरूलाई तस्करहरूले निसानामा पार्ने गर्छन्।

पेरुमा १८ सय भन्दा बढी किसिमका चरा पाइन्छन्।

सम्बन्धित सामग्री