उपसभामुख शिवमाया तुम्बाहाङ्फेद्वारा संसद्‌मा राजीनामाको घोषणा

  • 20 जनवरी 2020
शिवमाया तस्वीर कपीराइट parliament of nepal

उपसभामुखबाट राजनीनामा दिनुपूर्व शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभामा सम्बोधन गरेकी छिन्।

सम्बोधनका क्रममा उनले सभामुख चनयका लागि मार्ग प्रसस्त गर्न आफू उपसभामुखबाट हट्ने निर्णयमा पुगेको घोषणा गरिन्।

उनले "सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन" सम्बोधन गरेको उल्लेख गरेकी छिन्।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय आइतवार गरेपछि संसद्‌को बैठक बसेको हो।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले भनिन्, "लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरू जनताको सुक्ष्म निगरानीमा हुने गर्छ।"

"दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा रहुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ।"

"उक्त ओहोदामा रहँदा उ दलको निर्देशनमा होइन, संविधान र कानुनी प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ।... तर कसैले पनि आफ्नो जराहरू बिर्सनु हुदैँन भन्नेमा म सचेत छु।"

उनले समावेशी लोकतन्त्रमा संवैधानिक व्यवस्था महत्वपूर्ण विशेषताका रूपमा रहेको बताइन्।

संविधान कार्यान्वयन अभ्यास र आचरणबाट

"संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाई लाग्छ।"

"राज्यका उच्च ओहदाहरूमा समाजका सबै अङ्गहरूको प्रतिबिम्ब झल्कन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सृदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाइ गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनु हुन्छ भन्ने मैले आशा लिएकी छु," उनले भनिन्।

तुम्बाहाङ्फेले अगाडि भनिन्, "यसै विश्वासमाथि आधारित रहेर मैले आफ्ना धारणाहरू सम्बन्धित निकायहरूमा प्रस्तुत गरेकी हुँ।"

"मेरा यी धारणाहरू कुनै अस्वाभाविक महत्त्वाकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु। यससम्बन्धी विभिन्न प्रतिक्रियाहरूलाई मैले नजिकबाट नियालेकी छु।"

तस्वीर कपीराइट parliament of nepal

नेकपाबाट सांसद् बनेकी उनी उपसभामुख निर्वाचित भएकी थिइन्।

राजीनामाबारे अडान

कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिन बाध्य भएका थिए।

त्यसपछि तुम्बाहाङ्फेले प्रतिनिधि सभामा बैठकहरूको अध्यक्षता गरेकी थिइन्।

सभामुख बनाउने प्रतिबद्धतापश्चात् मात्र राजीनामा दिने अडान लिएकी उनले पटकपटक नेतृत्वको सार्वजनिक रूपमै पनि आलोचना गरेकी थिइन्।

तर तत्कालीन माओवादी र एमाले एकीकरण भएर बनेको नेकपाभित्र पूर्वमाओवादी वा पूर्वएमालेमध्ये कसबाट सभामुख बनाउने भन्ने विषयमा लामै माथापच्ची चलेको थियो।

आइतवार मात्र पार्टीका दुई अध्यक्षहरू ओली र प्रचण्ड बसेर सहमति गरेपछि नेकपा सचिवालय बैठकले पूर्वमाओवादी नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख पद तानातान हुँदा प्रतिनिधि सभाको बैठक एक महिनादेखि बस्न सकेको थिएन।

सभामुखको निर्वाचन भएपछि भने अब संसद्‌ नियमित चल्ने ठानिएको छ।

सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ।