कोरोनाभाइरस: वुहानका एक नेपाली भन्छिन्- 'असहाय अनुभव गरिरहेका छौँ'

  • 24 जनवरी 2020
कोरोनाभाइरस तस्वीर कपीराइट Getty Images

एउटा नयाँ सङ्क्रामक भाइरसका कारण सबैभन्दा बढी प्रभावित चीनको वुहान सहरमा अहिले सहर भित्रने र बाहिरिने कार्यलाई नियन्त्रित गरिएको छ।

त्यहाँ अध्ययनका लागि बसोबास गरिरहेका नेपालीहरूले आफूहरू "सङ्क्रमणको त्रास"मा बाँचिरहेको बताएका छन्।

बेइजिङस्थित नेपाली दूतावासले भने वुहानमा रहेका नेपालीहरूको सम्पर्कमा आफू रहेको र हालसम्म कसैलाई पनि सङ्क्रमण नभएको जनाएको छ।

सबैलाई सतर्क रहन र आवश्यक परे सहायताका लागि तत्काल खबर गर्न सूचित गरिसकेको दूतावासको भनाइ छ।

कोरोनाभाइरस फैलिन सुरु भएको उक्त सहरमा यातायात सेवा बन्द गराइएकाले नेपाल फर्कने विकल्प पनि हाललाई नभएको त्यहाँस्थित नेपालीहरूले बताए।

मध्य चीनको उक्त सहरमा डिसेम्बरमा पहिलोपटक कोरोनाभाइरस देखा परेको थियो।

उक्त भाइरसका कारण हालसम्म २५ जनाको ज्यान गइसकेको छ भने सयौँलाई त्यसले सङ्क्रमित तुल्याइसकेको छ।

बीबीसीका लागि विष्णु पोखरेलले वुहानमा अध्ययनरत चारजना नेपालीसँग त्यहाँको हालको अवस्थाबारे टेलिफोनमा कुराकानी गरेका छन्।

वुहानमा रहेका नेपालीहरूको अनुभव उनीहरूकै शब्दमा:

'उपभोग्य सामानको अभाव देखिन थाल्यो'

बिगेसमान शाक्य, विद्यावारिधि गर्दै

वुहान विश्वविद्यालय

म सन् २०१८ सेप्टेम्बरमा वुहान आएको हुँ। म अहिले नाकरोगबारे विद्यावारिधि गर्दै छु।

श्रीमती र सानो छोराका साथमा हामी सपरिवार विश्वविद्यालय नजिकैको एउटा अपार्टमेन्टमा बस्छौँ।

अहिले यहाँको अवस्था असहज छ। चीनमा यो चिनियाँ नयाँवर्ष र वसन्त उत्सवको बेला हो।

यी पर्वका बेला यहाँ पहिले पनि निकै सुनसान हुने गर्थ्यो। तर अहिलेको अवस्था भने कर्फ्यु लागेको बेलाको जस्तै छ।

मानिसहरू बाहिर निस्किएका छैनन्। मास्क नलगाई कोही पनि बाहिर निस्किँदैनन्।

तस्वीर कपीराइट Getty Images

कोरोनाभाइरस जब मानिसबाट मानिसमा पनि सर्छ भन्ने थाहा भयो त्यसपछि हामी पनि मास्क किन्न गयौँ।

त्यसबेला मास्क नै अभाव भएको थियो। अहिले पनि दैनिक उपभोग्य सामानहरू पाउन निकै गाह्रो भइरहेको छ।

प्राय: पसलहरू बन्द छन्। हुन त उत्सवका कारण पनि यो समय धेरै पसल बन्द हुने गर्थे।

अहिले चाहिँ यो सङ्क्रमणले थप असहज स्थिति बनेको जस्तो लाग्छ।

सर्ने सङ्क्रमण भएकाले हामी सकभर बाहिर निस्किएका छैनौँ। यहाँका नेपालीहरू आपसी सम्पर्कमै रहेका छौँ।

कतिले नेपाल फर्कने प्रयास गरे पनि सफल हुन सकेनन्।

मेरो चाहिँ सानो बच्चा भएकाले मलाई नेपाल जान समस्या छ। बच्चाले मास्क लगाउन मान्दैन।

तस्वीर कपीराइट Getty Images

फेरि यहाँबाट जाँदा हामीमै सङ्क्रमण भएर नेपालसम्म पुग्ने पनि डर हुन्छ।

हुन त यो सङ्क्रमणबाट भएको मृत्युको अवस्था हेर्दा वयस्क मान्छेहरूमा कम असर पर्ने जस्तो देखिएको छ।

त्यसैले जोखिम धेरै छ भनेर डराउनु पर्ने अवस्था त छैन। मुख्य कुरो भनेको खानेकुराको समस्या हुने हो कि भन्ने हो।

हामीले पनि १० दिन जतिलाई पुग्ने सामान किनेर राखेका छौँ। त्यसपछि त यस्तो अवस्था नहोला भन्ने लाग्छ।

यो सङ्क्रमण फैलने बित्तिकै यहाँको सरकारले तत्काल कदमहरू चाल्यो। पूर्व सतर्कता र सङ्क्रमण रोक्ने विभिन्न उपायहरू अपनाएको छ।

नेपालले पनि चीनबाट आउने हरेक व्यक्तिको परीक्षण गराउनु राम्रो हुन्छ। नेपालमा यस्ता कुरालाई रोकथाम गर्ने प्रणाली छैन।

त्यसैले नेपालमा यो सङ्क्रमण फैलियो भने भयावह हुनसक्नेमा सबैले ध्यान दिन जरुरी छ।

'निकै असहाय अनुभव गरिरहेकी छु'

श्रद्धा श्रेष्ठ, एमबीबीएस पाँचौँ वर्ष

वुहान विश्वविद्यालय

म चीन आएको ६ वर्ष भयो। एक वर्ष मैले भाषा अध्ययन गरेँ। त्यसपछि मैले चिकित्सा विज्ञान पढ्न सुरु गरेकी हुँ।

कोरोनाभाइरसबारे कडा सतर्कता अपनाउनु अघि नै हाम्रो विश्वविद्यालय बिदा भइसकेको थियो।

तस्वीर कपीराइट COURTESY: Shraddha Shrestha
Image caption श्रद्धा श्रेष्ठ वुहान विश्वविद्यालयमा एमबीबीएस पाँचौँ वर्षमा अध्ययनरत छन्

चीनमा नयाँ वर्ष र वसन्त पर्व पर्ने भएकाले यसबेला विश्वविद्यालयहरू बिदा हुने गर्छन्।

यहाँ अध्ययन गर्ने कति साथीहरू नेपाल फर्किएका पनि छन्। फेब्रुअरी १५/१६ तारिखतिर हाम्रो विश्वविद्यालय सुरु हुने भनिएको थियो।

एकाएक यो भाइरसको कुरा आयो। त्यसपछि विश्वविद्यालयले के गर्ने भन्नेबारे हामीलाई जानकारी दिन थाल्यो।

सुरुमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) सँग बैठक गरेर विद्यार्थीहरूलाई जानकारी दिइने विश्वविद्यालयले बताएको थियो।

गत बुधवार डब्लूएचओसँग छलफल भयो। त्यसपछि हामीलाई विश्वविद्यालयले भरसक यहाँबाट बाहिर नगए हुन्थ्यो भन्ने खालको जानकारी दियो।

विदेशी विद्यार्थीलाई विश्वविद्यालय खुलेको दुई साता सम्ममा आए पनि हुन्छ पनि भन्यो।

त्यसपछि यहाँ अध्ययन गर्ने भारतीय साथीहरूले स्वदेश फर्कने टिकट लिन थाले।

मलाई पनि यहाँ बस्नुभन्दा नेपाल फर्कनु नै उचित जस्तो लागेर बुधवार राति ८ बजेतिर टिकट लिएँ।

मैले शनिवार बिहानका लागि टिकट काटेकी थिएँ। तर त्यसै दिन राति ९ बजेतिर बिहीवार बिहान १० बजेदेखि सबै यातायात बन्द हुने सूचना आयो।

त्यसपछि भारतीय साथीहरू भागाभाग गर्दै राति नै रेल स्टेसनतर्फ जान थाले।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरस: नेपाल जोखिममा छ?

उनीहरू जसरी पनि वुहान बाहिर जाने भन्न थाले। मलाई पनि यहाँको यस्तो अवस्थामा बस्नुभन्दा बाहिरिएर नेपाल जानु नै उपयुक्त हुन्छ जस्तो लाग्यो।

त्यसपछि केही साथीहरूसँगै म पनि रेल स्टेसनमा गएँ। हामीले यहाँबाट ग्वान्जाउ जाने रेल पाइन्छ कि भनेर कोसिस गर्‍यौँ।

तर टिकट पाइएन। रेल स्टेसनमै बिहानको ६ बजिसकेको थियो। त्यसपछि हामी विमानस्थल गएर पनि टिकट लिन खोज्यौँ। त्यहाँ पनि पाइएन।

१० बजेदेखि स्थानीय यातायात पनि बन्द हुने भनिएकाले हामी निराश भएर छात्रावास फर्कियौँ।

तर १२ जना भारतीय साथीहरू भने ग्वान्जाउ जान सफल भए। उनीहरू अब भारततर्फ जाने योजनामा छन्।

सरकारले बन्द गराएकाले हामीलाई हवाई टिकटको रकम फिर्ता गरिदिने भनेका छन्।

तर यो टिकटको कुरा भन्दा पनि यहाँको अवस्थाको कुरा हो। मैले चाहिँ यहाँ निकै असहाय (हेल्पलेस) अनुभव गरिरहेकी छु।

छात्रावास लगभग खाली छ। विदेशी विद्यार्थी मात्रै छन्। सक्ने जति सबै बाहिर गइसके।

यहाँ अहिले खानेकुराको निकै अभाव देखिएको छ। सामान्य मास्कले हुँदैन भनेर 'एन-९५' भनिने माक्स प्रयोग गर्नुपर्छ भनिएको थियो।

तर न त्यो मास्क पसलमा पाइन्छ न अनलाइन स्टोरहरूमा नै। अनलाइनबाट हुने डेलिभरी शून्यजस्तै भएको छ।

अब मेरो खानेकुराहरू एक साताका लागि मात्र पुग्ने छ। त्यसपछि कस्तो अवस्था आउने हो भन्ने चिन्ता छ।

मेरो परिवारका सदस्यहरूसँग नेपालमा नियमित सम्पर्क त भइरहेको छ। तर मलाई निकै सहयोगविहीन बनेको अनुभव भइरहेको छ। खासमा हामीलाई सहयोगको आवश्यकता छ।

'मास्क किन्न पनि पाइएको छैन'

नेलिया शाक्य, एमई

ह्वाङ्जुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (हस्ट)

म डेढ वर्षदेखि वुहानमा बस्दै आएकी छु। म यहाँ इन्जिनियरिङमा स्नातकोत्तर गर्दै छु।

दुई दिनदेखि यहाँ सबै कुराहरू बन्द छन्। धेरै नै सतर्कता अपनाउन थालिएपछि यहाँ यातायातलगायत बन्द गरिएको हो।

मुख्य कुरा अहिले यहाँ खानेकुराको समस्या देखिन थालेको छ। अरू खानेकुरा नपाएर मैले प्याकेज फुड ल्याएकी छु।

तस्वीर कपीराइट COURTESY: Neliya Shakya
Image caption नेलिया शाक्य वुहानस्थित ह्वाङ्जुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (हस्ट) मा एमई गर्दैछिन्

यहाँ मास्क पनि नपाइने अवस्था छ। मास्क किन्न पनि पाइएको छैन।

कहिलेकहीँ पसलेहरूले ठगेर महँगोमा बिक्री गर्ने गरेको पाइन्छ।

म छात्रावासमा बस्छु। म बाहिर निस्केकी छैन। यो भाइरसको हल्ला चलेदेखि नै म विश्वविद्यालय बाहिर गएको छैन।

वुहानमा धेरै नेपाली छन्। हाम्रो विश्वविद्यालयमा मात्र २५ जना जति अध्ययन गर्छन्।

तर अहिले बिदामा धेरै नेपाल गएका छन्। अहिले चाहिँ हामी ५/६ जना नेपाली मात्र छौँ।

सके नेपाल जाऔँ भन्ने सोच त छ तर अहिले सबै यातायात बन्द भएकाले सम्भव छैन।

मेरो नेपाली दूतावाससँग कुनै सम्पर्क छैन। तर यहाँ अध्ययनरत नेपालीबीच भने हाम्रो सम्पर्क छ।

अवस्था कहिले सुध्रेला भन्ने चिन्ता लागिरहेको छ। चाँडै नै अवस्थामा सुधार आउला भन्ने आशा छ।

'दूतावासले सहयोग गरोस्'

दिवंगर खोटेजा, विद्यावारिधि गर्दै

ह्वाङ्जुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (हस्ट)

म वुहानमा आएको तीन वर्ष भयो। म यहाँ जियो-टेक्निकल इन्जिनियरिङमा विद्यावारिधि गर्दै छु।

अहिले विश्वविद्यालयले सूचना जारी गरेर सतर्कता अपनाउन भनेको छ। त्यसैले सबैजसो विद्यार्थी कोठबाट बाहिर निस्केका छैनन्।

बाहिर निस्कनका लागि पनि मास्क लगाएर मात्र निस्कनु पर्छ।

यहाँका खुद्रा पसलहरू बन्द भइसके। सुपरमार्केटहरू मात्र खुलेका छन्।

तस्वीर कपीराइट COURTESY: Dibangar Khoteja
Image caption दिवंगर खोटेजा ह्वाङ्जुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (हस्ट) मा विद्यावारिधि गर्दैछन्

विश्वविद्यालय बाहिर जाँदा र बाहिरबाट आउँदा पनि शरीरको तापक्रम परीक्षण अनिवार्य गरिएको छ।

सामान किन्न तीन दिन अघि म पनि विश्वविद्यालय बाहिर गएको थिएँ।

त्यसबेला मेरो सुपरमार्केटमा पनि तापक्रम परीक्षण भयो। विश्वविद्यालयमा पनि भयो।

मेरो तापक्रममा खासै परिवर्तन नदेखिएर केही पनि भएन। तर कसैको तापक्रम बढ्यो भने उनीहरूलाई अरूभन्दा पर राखेर उपचार गरिन्छ।

मैले अहिले १०/१२ दिनलाई पुग्ने खानेकुरा ल्याएर राखेको छु।

अहिले नेपाल जानसक्ने अवस्था छैन। एक त यहाँ यातायात बन्द छ अर्को नेपाल जाने हवाई टिकट निकै महँगो भएको छ।

नेपाली दूतावासले चीनको कुन ठाउँमा कतिजना नेपाली छन् भनेर विवरण सङ्कलन गरेर राख्नुपर्ने आवश्यकता मैले देखेको छु।

कति बेला के हुन्छ टुङ्गो छैन। हामी यहाँ रोग सर्ला कि भन्ने डरमा बाँचिरहेका छौँ।

त्यसैले दूतावासले मिल्यो भने नेपालीहरूलाई हवाई टिकटको व्यवस्था गरेर नेपाल पठाइदिए हुन्थ्यो।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरसका कारण बन्द वुहानको अवस्था