नेपाल-भारत नाकामा कोरोनाभाइरसको निगरानी सुरु

  • 29 जनवरी 2020
कांकरभिट्टा

नेपालको पूर्वी सीमाबाट आवतजावत गर्नेहरूका लागि भारत र नेपाल दुवैतर्फ कोरोनाभाइरसको निगरानी तथा परामर्श सुरु भएको छ।

आइतवारबाट भारतले नेपालबाट आउने व्यक्तिलाई चीनबाट फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका लागि छानबिन गर्न सुरु गरेपछि नेपालतर्फ पनि परामर्श कक्ष राखिएको हो।

कोरोनाभाइरसको लक्षण पाइए त्यस्ता व्यक्तिलाई थप परीक्षणका लागि नजिकैको अस्पतालको लग्ने व्यवस्था गरिएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

भारतले पश्चिम बंगालको दार्जिलिङ, नेपालको सीमा र बागडोग्रा विमानस्थलमा गरी चारवटा 'स्क्रिनिङ क्याम्प' खडा गरेको दार्जिलिङका स्वास्थ्य सेवा प्रमुख डा. प्रणय आचार्यले बीबीसीलाई बताए।

नेपालतर्फ भने पूर्वी नाका काँकरभिट्टामा दुई जना प्रयोगशाला प्राविधिकको व्यवस्था गरी एउटा परामर्श शिविर राखिएको छ।

सामान्य परामर्शको व्यवस्था

मङ्गलवार नेपालका सीमामा भारतबाट आउने व्यक्तिहरुका लागि सामान्य परामर्श शिविर राखिएको हो।

भारतबाट आउने व्यक्ति स्वयम् परामर्श कक्षमा कमै आउने गरेको प्राविधिक पासाङ शेर्पाले बताइन्।

उनले भनिन्, "आज बिहान एकजना ज्वरो आएको मान्छे आउनु भएको थियो। उहाँलाई स्वास्थ्य चौकी पठाइएको छ।"

जिल्ला स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईंका अनुसार कोरोनाभाइरस परामर्श शिविरमा जनशक्ति तथा उपकरणहरू थप्ने योजना छ।

शङ्कास्पद व्यक्तिका लागि काँकरभिट्टा स्वास्थ्य चौकीमा एउटा कोठाको व्यवस्था गरिएको उनले बताए।

सडकमै प्रचार

भारतीय सीमावर्ती बजार पानीट्यांकीमा बुधवार केही महिला कोरोनाभाइरसबारे जानकारी दिने पर्चा लिएर सडकमा बसेका थिए।

त्यहाँ लाउडस्पीकरमा नेपाली, हिन्दी तथा बङ्गाली भाषामा कोरोनाभाइरससम्बन्धी प्रचार सामग्री बज्ने गरेको छ।

आशारत्न वर्माले रुघा लागेका, ज्वरो आएका तथा असामान्य स्वास्थ्य अवस्था लिएर आएका व्यक्तिलाई चिकित्सकसम्म पुर्याउने व्यवस्था मिलाइएको बताइन्।

उनले भनिन्, "हामीले उहाँहरूलाई चिकित्सककहाँ पठाउँछौँ। त्यहाँ चिकित्सकले जाँच गरेर आवश्यक परे नर्थ बङ्गाल मेडिकल कलेज पठाउँछन्।"

सो कलेजमा 'आइसोलेसन' शैय्यासहितको उपचार सेवा उपलब्ध भएको बताइएको छ।

नेपाल-भारतबीच सीमा नाका रहेका सबै भारतीय राज्यहरूमा कोरोनाभाइरस जाँच डेस्क राखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

डा. आचार्यले भने: "अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमित व्यक्ति भेटिएका छैनन्। तर हामी अलर्ट छौँ।"

सम्बन्धित सामग्री