कोरोनाभाइरस: पूरै विश्व सावधान हुनुपर्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

  • 30 जनवरी 2020
यात्रु तस्वीर कपीराइट Press Association

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ।

उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको स्वास्थ्य सङ्कट कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।

डाक्टर माइक र्‍यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे, "चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्।"

बिहीवार डब्ल्यूएचओले यो भाइरसले विश्वव्यापी सङ्कटकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।

गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरसको खोप बनाउन अहोरात्र काम

जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, "सङ्क्रमणका लगातार बढ्दा घटना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चिन्ताजनक छन्। हालसम्म चीनबाहिर सङ्क्रमितहरूको सङ्ख्या थोरै नै छ। तर त्यो बढ्ने सम्भावना छ।"

हाल सङ्क्रमितहरूको सङ्ख्या ७,००० छ। कम्तीमा १७० जनाको ज्यान गएको छ।

सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन्।

चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको छ।

महत्त्वपूर्ण चरण

तस्वीर कपीराइट Reuters
Image caption डब्लुएचओका डा माइक र्‍यानका अनुसार सङ्क्रमण महत्त्वपूर्ण चरणमा पुगेको छ

यो कोरोनाभाइरस सङ्क्रमणको कुनै स्पष्ट उपचार वा खोप छैन। तर कैयौँ मानिसहरू उपचारपछि निको भएका छन्।

डब्ल्यूएचओका डाक्टर र्‍यानले चीन जान विज्ञहरूको एक अन्तर्राष्ट्रिय टोली जम्मा पारिँदै गरेको र सो टोलीले उक्त रोग कसरी सर्छ भन्नेबारे थप जानकारी बटुल्ने बताए।

"हामी यो सङ्क्रमणको एक महत्त्वपूर्ण चरणमा छौँ। यसको फैलावट अझै पनि रोक्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ," उनले भने।

यसबीच अस्ट्रेलियामा वैज्ञानिकहरूले प्रयोगशालामा उक्त कोरोनाभाइरसको विकास गरेका छन् जसले यसको प्रारम्भिक जाँच प्रक्रिया निर्माणमा सघाउ पुग्न सक्छ।

यसै साता सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोमले चीन भ्रमण गरेका थिए।

Coronavirus particles
Science Photo Library
कोरोनाभाइरसको प्रकोप

वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित

  • ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर

  • ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्

  • ५६%सङ्क्रमित व्यक्ति पुरुष

  • ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध

स्रोत: The New England Journal of Medicine

उनले त्यहाँ सङ्क्रमित अधिकांश मानिसमा सामान्य लक्षणमात्र देखा परेको तर २० प्रतिशतमा भने त्यसले न्युमोनिया तथा श्वासप्रश्वासको गम्भीर समस्या उब्जाएको देखिएको बताएका छन्।

उनले चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताए।

विगतका सङ्क्रमणबाट पाठ सिकेर विश्वले काम गर्नुपर्ने उनको भनाइ छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने?

सम्बन्धित समाचार