माघ १९ पछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग तत्कालीन राजा ज्ञानेन्द्रको त्यो 'कटुतापूर्ण' भेटवार्ता

  • 2 फेब्रुअरी 2020

बाङ्ग्लादेशको राजधानी ढाकाबाट कतारको राजधानी दोहातर्फ तत्कालीन शाही नेपाल वायु सेवा निगमको जहाज उडेको केही बेरमै राजा ज्ञानेन्द्रका अङ्गरक्षक बिनोज बस्न्यात जहाजको पछाडितिर आए।

बस्न्यात केही अघि बढेर पत्रकार पी खरेल बसेको सीटनजिक पुगे, 'खरेलजी' भनेर बोलाए। नजिकै बसिरहेका अर्का पत्रकार मनरञ्जन जोशीलाई पनि उस्तै गरी उनले 'जोशीजी' भने।

दुवै पत्रकारले कान ठाडो बनाउँदै बस्न्याततर्फ हेरे। अनि बस्न्यातले भने, "तपाईंहरूलाई मौसुफबाट बोलावट छ।"

खरेल र जोशीले बुझिहाले- जहाजको अग्रभागमा रहेको बिज्नेस क्लासमा बसेका राजा ज्ञानेन्द्रले उनीहरूलाई भेट्न खोजेका रहेछन्।

"त्यसपछि हामी अगाडि गयौँ र राजा ज्ञानेन्द्रलाई भेट्यौँ," करिब १४ वर्ष तीन महिना अघिको घटना सम्झिँदै आइतवार पत्रकार खरेलले बीबीसीसँग भने, "राजाले 'बिट्वीन अस्' अर्थात् हामीबीच सीमित होस् भन्ने आशयका साथ कुरा सुरु गरे।"

खरेलले स्मरण गरेको यो घटना हो- २०६२ कात्तिक २८ गतेको।

त्यस दिन तत्कालीन राजा ज्ञानेन्द्र, परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेसहित उच्च अधिकारी र केही पत्रकारहरू ढाकाबाट ट्युनिशियाको राजधानीतर्फ प्रस्थान गरेका थिए।

राजा ज्ञानेन्द्रकै इच्छामा निगमले त्यो विशेष उडान गरेको थियो। र, राजधानी ट्युनिस पुग्नुअघि दोहामा उक्त जहाज ट्रान्जिटमा रोकिने तय भएको थियो।

ढाकाबाट उडेपछि र दोहा पुग्नुअघि ज्ञानेन्द्रले दुवै पत्रकारलाई केही विशेष कुरा सुनाउन चाहेका थिए।

"राजाहरूले प्राय: हामीमा मात्र सीमित होस् भन्ने गर्दैनथे। तर उनले त्यसरी कुरा सुरु गर्दा मलाई उनको बानी राजा वीरेन्द्रको भन्दा फरक रहेछ कि जस्तो लाग्यो," खरेलले आफ्नो धारणा सुनाए, "तर उनले हामी फर्किने बेलामा पनि बिट्वीन अस् है! भनेपछि सायद उनलाई मनमा निकै बोझ लागेको होला र त्यो बिसाउन चाहेका रहेछन् जस्तो लाग्यो।"

के भनेका थिए ज्ञानेन्द्रले?

२०६२ कात्तिक २६ र २७ गते ढाकामा आयोजना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १३औँ शिखर सम्मेलनमा भाग लिएर राजा ज्ञानेन्द्र नेतृत्वको सरकारी टोली ट्युनिशियातर्फ लागेको थियो।

सम्मेलन सकिएपछि ढाकामै राजा ज्ञानेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री दुई जनाबीच मात्र (वन् अन् वन्) भेटवार्ता भएको थियो।

तस्वीर कपीराइट Reuters

खरेलका अनुसार ज्ञानेन्द्र शाहले उनी र जोशीलाई त्यही भेटको सङ्क्षिप्त विवरण सुनाउन बोलाएका रहेछन्।

खरेल भन्छन्, "उनले (ज्ञानेन्द्रले) मनमोहन सिंहको प्रस्ताव सुनाउँदै 'टु मेक नेपाल अ प्रोटेक्टोरेट लाइक भुटान' अर्थात् नेपाललाई भुटानजस्तै भारतको संरक्षित राज्य बनाउन चाहेको तर आफूले नमानेको सुनाए।"

आफूले प्रस्ताव अस्वीकार गरेपछि भारतीय प्रधानमन्त्री सिंहले रातो मुख लगाएको ज्ञानेन्द्र शाहले सुनाएको खरेलको भनाइ छ।

त्यसपछि सिंहले ज्ञानेन्द्र शाहलाई 'देन गिभ मी सम्थिङ टु अपीज् पोलिटिकल पार्टी लीडर्स' अर्थात् 'राजनीतिक (नेपाली) नेताहरूलाई चित्त बुझाउन केही त दिनुहोस् न त' भने भनेर पनि सुनाएको खरेलको दाबी छ।

शाहले सिंहको प्रस्ताव अस्वीकार गरेपछि भारतीय पक्ष रिसाएको र त्यसकै परिणामस्वरूप भारतकै सहायतामा नेपालका प्रजातान्त्रिक दलहरू र माओवादी मिल्ने कुरा बाहिर आएको खरेल बताउँछन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
नारायणहिटीमा नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्रसँग पौने एक घण्टा के कुरा गरेका थिए?

जोशीको केही फरक धारणा

ज्ञानेन्द्रसँगको भेटमा खरेलसँगै उपस्थित अर्का पत्रकार मनरञ्जन जोशीले चाहिँ उनले उक्त भेटमा ठ्याक्कै के भनेका थिए भन्ने अहिले पूरा सम्झना नरहेको बताए।

उनले भने, "मनमोहन सिंहले राजालाई तिमीहरू चीनको धेरै नजिक भएछौ भनेर आरोप लगाएछन् अनि त्यसमा आफूले के जवाफ दिए भनेर राजाले हामीलाई सुनाएका थिए।"

उनका अनुसार ज्ञानेन्द्र शाहले मनमोहन सिंहलाई नेपाल चीनतर्फ नजिक हुनुमा को जिम्मेवार भनेर प्रश्न गरेको जोशी र खरेललाई सुनाएका थिए।

जोशीले भने, "हाम्रो कुराकानी अङ्ग्रेजीमा भएको थियो, राजाले मनमोहन सिंहलाई दिएको उत्तर सुनाउँदै 'हु इज रेस्पोन्सिबल?' भनेको सम्झन्छु।"

त्यो भेटले राजतन्त्र समाप्त पार्न भूमिका खेल्यो?

ज्ञानेन्द्र शाहले के भने भन्ने कुरामा खरेल र जोशीबीच केही फरक मत देखिए पनि ढाकामा भएको उक्त भेटपछि नै भारतले खुलेर नेपालमा राजतन्त्र समाप्त गर्न भूमिका खेलेको भन्नेमा भनेमा दुवैको धारणा एकै खालको देखिन्छ।

सार्क शिखर सम्मेलनमा चीनलाई पर्यवेक्षक बनाउन ज्ञानेन्द्रले गरेको प्रस्तावका कारण रिसाएको भारत उनले सिंहको प्रस्ताव अस्वीकार गरेपछि थप चिढिएको खरेल बताउँछन्।

जोशी चाहिँ त्यसबेला नेपालले चीनलाई पर्यवेक्षक बनाउन खोजेको र भारतले अफगानिस्तानलाई सदस्य बनाउन चाहेको बताउँछन्।

उनी भन्छन्, "दुवैका आफ्नै आफ्नै स्वार्थ थिए तर राजाले चीनलाई सार्कको पर्यवेक्षक नबनाइए अफगानिस्तानको सदस्यताका पक्षमा आफू सहमत नहुने अडान राखे।"

"सार्क बडापत्रले सर्वसम्मतिबाट मात्र निर्णय हुने व्यवस्था गरेको छ। त्यसले भारत चेपुवामा परेर चीनलाई पर्यवेक्षक बनाउन सहमत भएको थियो।"

उनले आफ्नो प्रकाशोन्मुख पुस्तकमा पनि उक्त घटना र ढाका शिखर सम्मेलनबारे विस्तृत रूपमा लेखेको जानकारी दिए।

उनका भनाइमा ज्ञानेन्द्र शाह र मनमोहन सिंहबीचको उक्त भेट र उनीहरूबीचको मनमुटाव नै नेपालमा राजतन्त्रको अन्त्य हुने अन्तिम कारण बनेको हो।

उनी त्यसलाई 'स्ट्र द्‌याट ब्रोक द क्यामेल्स् ब्याक' भन्ने अङ्ग्रेजी भनाइसँग तुलना गर्दै भन्छन्, "अरू धेरै कारणहरूले नेपालबाट राजतन्त्र हटाउने कुरामा भारत अघि बढेको थियो होला तर अन्तिम परालको त्यान्द्रो चाहिँ त्यो बन्यो भन्ने मलाई लाग्छ।"

उनी त्यही भेटपछि भारतले राजालाई देखाइदिन्छु भन्ने नीति लिएको ठान्छन्।

सुरुदेखि नै तनाव

खरेलका भनाइमा द्विपक्षीय भेटका क्रममा समेत भारत र नेपालबीच तनाव देखिएको थियो।

तस्वीर कपीराइट SAARC Secretariat

उनका अनुसार भारतले 'वन् अन् वन्' भनिएको उक्त भेटघाटमा विदेश मन्त्रालयका अधिकारीलाई पनि राख्न चाहेको थियो।

नेपालले भारतीय विदेश मन्त्रालयका प्रतिनिधि बस्ने भए नेपालको परराष्ट्र मन्त्रालयका अधिकारी पनि बस्न पाउनु पर्ने सर्त राख्यो। अन्त्यमा दुवैले विदेश मन्त्रालयका प्रतिनिधि नराखी भेटघाट गरेका थिए।

ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्रीबीच भएको उक्त भेटमा सिंहले राखेको उक्त प्रस्तावबारे बीबीसीले स्वतन्त्र पुष्टि भने गर्न सकेको छैन।

तर ज्ञानेन्द्रले ढाकाबाट ट्युनिशियातर्फ जाँदै गर्दा खरेल र जोशीलाई बोलाएर भेटेको कुरा भने त्यसबेलाका उनका अङ्गरक्षक बिनोज बस्न्यातले पनि पुष्टि गरे।

उनले बीबीसीसँग भने, "उहाँहरू त्यही जहाजमा हुनुहुन्थ्यो र राजा ज्ञानेन्द्रले पनि भेट्नुभएको हो। तर के-के कुराकानी भयो भन्ने चाहिँ हामीलाई थाहा हुने कुरा भएन।"

ढाकाबाट उडेको उक्त जहाज २०६२ कात्तिक २८ गते नै ट्युनिशियाको राजधानी पुगेको थियो।

ज्ञानेन्द्र शाहसहित नेपाली प्रतिनिधिमण्डल त्यहाँ वर्ल्ड समिट अन इन्फर्मेशन सोसाइटीमा सहभागी भई मंसिर ४ गते दक्षिण अफ्रिकाको जोहानेसबर्गतर्फ लागेको थियो।

ज्ञानेन्द्र शाह अफ्रिका भ्रमणमै रहँदा दिल्लीमा नेपालका प्रजातान्त्रिक शक्तिहरू र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीबीच १२ बुँदे समझदारी भइसकेको थियो।

र, उनी नेपाल फर्किँदा नेपालमा राजतन्त्रविरोधी आन्दोलनका रणनीतिक योजनाहरू बनिसकेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भारतीय लेखकहरू बारम्बार नेपालको परिवर्तनमा भारतको भूमिका किन देखाउँछन्?