कोरोनाभाइरस: नेपाली बजारका मास्क चीन निर्यात, स्वदेशी उत्पादकको खोजी

  • 5 फेब्रुअरी 2020
मास्क तस्वीर कपीराइट AFP

छिमेकी चीनमा फैलिएको नयाँ खाले कोरोनाभाइरसको सङ्क्रमण र नेपालमा पनि कम्तीमा एक जनामा उक्त भाइरस देखिएको पुष्टि भएसँगै अत्यधिक प्रचलनमा आएको 'सर्जिकल मास्क' को नेपाली बजारमा अभाव देखिएको व्यवसायीहरूले बताएका छन्।

गम्भीर प्रकारका सङ्क्रमणबाट जोगिन प्रयोग हुने कतिपय विशेष प्रकारका मास्कहरू समेत बजारमा उपलब्ध हुन छाडेको व्यवसायीहरूले बताएका छन्। नेपाल सर्जिकल उपकरण व्यवसायी सङ्घका अध्यक्ष सुरज घिमिरेले बीबीसीसँग कुरा गर्दै बजारमा मास्कको अभावका कारण "त्रसित नै हुनुपर्ने अवस्था नरहे पनि" उच्च गुणस्तरका 'एन नाइन्टीफाइभ' भनिने मास्कहरू आपूर्ति गर्न नसक्ने बताए।

उनका अनुसार विगतमा भण्डारण गरिएका मास्कहरूबाट अहिले काम चलाइएको छ।

राजधानीका दुईवटा अस्पतालले पनि आफूलाई आवश्यक सर्जिकल मास्क भण्डार गरेर राखेकाले अहिले नै सङ्कटको अवस्था नरहेको तर लामो समय आपूर्ति ठप्प रहेमा भने आफ्नो सेवा प्रभावित हुन सक्ने बताएका छन्।

अधिकारीहरूले नेपालमा रहेका मास्क उत्पादकहरूलाई सक्रिय गरिएको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ।

बजारमा अभाव

नेपाल सर्जिकल उपकरण व्यवसायी सङ्घका अध्यक्ष सुरज घिमिरेले कोरोनाभाइरस देखिएसँगै नेपालमा रहेका मास्क ठूलो परिमाणमा चीनतर्फ गएको बताए।

उनी भन्छन्, "कति चिनियाँहरूले आफैँले सङ्कलन गरेर लगे भने कति सहायतास्वरूप खरिद गरेर पठाइयो जसका कारण बजारमा अभावको अवस्था छ। तर नेपाल भित्रै एकाध उत्पादकहरू रहेकाले उनीहरूबाटै हामीलाई पुग्ने साधारण सर्जिकल मास्क तयार हुने हामीले ठानेका छौँ।"

उक्त सङ्घका अनुसार देशभरिका अस्पताल र अन्यत्र शल्यक्रिया, विभिन्न चिकित्सा प्रयोजन र अन्य प्रयोगका लागि मासिक १० लाख वटासम्म सर्जिकल मास्क खपत हुने गरेको छ।

काठमाण्डूको वायुप्रदूषणलाई लक्षित गरी सन् २०१५ बाट सर्जिकल मास्कको विक्रीवितरण गरिरहेको बताउने मेट्रो मास्कका सञ्चालक टासी शेर्पा नेपालमा उच्च गुणस्तरका मास्कहरू उत्पादन नहुने भएकाले अहिलेको अवस्था चुनौतीपूर्ण रहेको बताउँछन्।

तस्वीर कपीराइट AFP

उनी भन्छन्, "हामीले फिल्टर समेत भएका २.५ पीएम आकारका सूक्ष्म कणलाई रोक्न सक्ने किसिमका मास्कहरू विक्री गर्ने गरेका छौँ। नेपालमा यस्ता मास्कको प्रयोग कम नै हुने गरेकाले लाखौँको सङ्ख्यामा कसैले नी मास्क भण्डारण गरेको हुँदैन। हामीले पनि चीनबाटै मगाउने हो। अहिले उतै खपत र अभाव भएकाले हाम्रोमा पनि आपूर्ति ठप्प छ।"

उनका अनुसार नेपालमा अहिले गुणस्तरीय मास्क उत्पादन गर्ने क्षमता छैन र त्यसकालागि आवश्यक कच्चा पदार्थ पनि उत्पादन हुँदैन।

अस्पतालहरू के भन्छन् ?

काठमाण्डूस्थित एउटा निजी अस्पताल चिरायुका व्यवस्थापकीय निर्देशक चन्द्रेश्वर वैद्यले "एकदेखि डेढ महिनासम्म" पुग्ने मास्क अस्पतालहरूले भण्डारण गर्ने गरेको भन्दै अहिले आफ्नो अस्पतालमा समस्या नरहेको बताए।

उनले भने, "हामीले अहिले हाम्रा आपूर्तिकर्ताहरूसँग कुरा गरिरहेका छौँ र उनीहरूले बजारमा अभाव रहेको भनिरहेका छन्। यसले समस्या निम्त्याउन सक्छ। अरू अस्पतालका साथीहरू मिलेर हामीले एक पटक छलफल पनि गरेका छौँ।"

"यस्तो बेलामा कालोबजारी पनि हुने भएकाले हामीले सरकारले अनुगमन कडा गरेर बजारमा उपलब्ध रहेका सर्जिकल मास्कहरू अस्पतालहरूमा समानुपातिक रूपमा वितरण गर्नुपर्‍यो भनिरहेका छौँ।"

सरकारी वीर अस्पतालले कोरोनाभाइरसको सङ्कटसँगै आफूले थप २५,००० सर्जिकल मास्क खरिद गरेको भन्दै आफूसँग लगभग १५ देखि १६ हजार मास्क अझै उपलब्ध रहेको जनाएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मास्कको माग बढ्दो, तर भाइरसबाट जोगिन कति प्रभावकारी?

तर टेन्डर प्राप्त गरेको आपूर्तिकर्ताले अभावका कारण आफूले मास्क उपलब्ध गराउन नसकिरहेको बताएको अस्पतालआबद्ध एक अधिकारीले जानकारी दिए।

उनका अनुसार वीर अस्पतालले इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखालाई पत्र लेखेरै ५०० वटा एन नाइन्टीफाइभ मास्क र कुनै सङ्क्रमित बिरामी फेला परेको अवस्थामा टाउकोदेखि खुट्टासम्म ढाक्ने सङ्क्रमणनिरोधक सामग्री, पीपीई सेट १०० वटा माग गरेको उल्लेख गरे।

महाशाखाबाट मास्क पाउन नसकेको तर दुईवटा पीपीई सेट प्राप्त गरेको वीर अस्पतालले जनाएको छ।

गम्भीर प्रकृतिका सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार गर्ने क्रममा उनीहरूको उपचारमा खटिने स्वास्थ्यकर्मीले पीपीई सेटको प्रयोग गर्ने गर्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अघिल्लो दुई हप्तामा नेपालबाट सात लाख ५९ हजारवटा मास्क चीन र हङ्‌कङ निर्यात भएको जनाएको छ।

तस्वीर कपीराइट Getty Images
Image caption कोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन्

विमानस्थल भन्सार कार्यलयका सूचना अधिकारी राजकुमार अधिकारीले पाँच अलगअलग विक्रेताले त्यसरी चीनमा मास्क पठाएको बताए।

तर अहिले सरकारले मास्क निर्यातमा रोक लगाएको उनी बताउँछन्।

"लिखित रूपमा मास्कको निर्यातमा रोक लगाउने निर्णय भएको छैन, तर हाम्रो मौज्दात व्यावहारिक रूपमा देशभित्रको माग धान्ने अवस्थामा नहुन्जेलसम्म हामीले बाहिर आपूर्ति गर्न रोकेका छौँ।"

सम्बन्धित सामग्री