कोरोनाभाइरस सङ्क्रमण: हुबेबाट नेपाली फिर्ता ल्याउन 'अझै केही दिन लाग्ने' नेपाल सरकारको भनाइ

  • 9 फेब्रुअरी 2020
सतर्कता तस्वीर कपीराइट Getty Images

नेपाल सरकारका एक उच्च अधिकारीले चीनको हुबे प्रान्तमा रहेका नेपालीहहरूलाई फिर्ता ल्याउन "अझै केही दिन लाग्ने" बताएका छन्।

बुधवारसम्म उनीहरुलाई राख्ने व्यवस्था मिलाइ सक्ने र त्यस लगतै मध्य चीनको वुहान र वरपरका नगरमा रहेका नेपालीहरूलाई नेपाल ल्याइने ती अधिकारीले बताए।

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेमा रहेका नेपालीहरुलाई तत्काल फर्काउन सरकारलाई निर्देशन दिए लगत्तै आफ्नो तयारीबारे नेपाल सरकारको पछिल्लो भनाइ आएको हो।

चीन स्थित नेपाली दूतावासका अधिकारीले आफूहरू अझै नेपाल सरकारको निर्णयको पर्खाइमा रहेको बताएका छन्।

चार दिनअघि प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तको वुहान नगर र वरपर रहेका नेपालीहरूलाई फर्काउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

आफन्तजनको छटपटी

तर हाल सम्म उनीहरूका परिवारका सदस्यहरु सरकारका विभिन्न निकायमा पुगेर हारगुहार गर्ने क्रम जारी छ। तीनै मध्येकी एक लिलादेवी भटराईले सरकारले फिर्ता ल्याउने विषयमा चासो नदिएको गुनासो गरिन्।

उनले भनिन्, "हामीलाई धेरै पीडा भइरहको छ। हाम्रा बच्चाहरू पनि चीनमा निकै पीडित छन्। तर सरकार गम्भीर भएको जस्तो लागेन।"

हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फर्काउने विषयमा लगातार जसो सरकारका उच्च अधिकारीहरूबीच बैठक भइरहेका छन्। तर उनीहरूलाई ल्याएर छुट्टै स्थानमा राख्नुपर्ने र त्यसको व्यवस्थापनको काम भइरहेको अधिकारीहरू बताउँछन्।

हुबेमा १८६ जनाको संख्या रहेका नेपालीलाई चिकित्सकीय निगरानीमा अलग्गै राख्नका लागि भइरहेका काम बुधवार सम्ममा सकिने बताइएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिने?

उक्त काम सकिए लगत्तै सबैलाई फर्काइने एकजना उच्च अधिकारीले बताए।

विमानको प्रतीक्षा

चीनमा व्यवस्थापनको काम गरिरहेको नेपाली दूतावासले भने लिन आउने जहाजको टुङगोको पर्खाइमा आफू रहेको जनाएको छ।

चीनको बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने, "कुन मितिमा जहाज आउने हो त्यो थाहा हुने बित्तिकै हामी हुबेका नेपालीहरूलाई बसमा हालेर दुई दिनभित्र वुहान ल्याउन सक्छौँ।"

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेमा रहेका नेपालीहरुलाई तत्काल फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

आइतवार सरकारले पहल नगरेको भन्दै गुनासो लिएर आयोग पुगेका आफन्तसँग भेटघाट र छलफलपछि आयोगले सरकारलाई त्यस्तो निर्देशन दिएको आयोगका सचिव वेदप्रसाद भटराईले बताए।

आयोगले नेपालीहरुलाई फर्काउने विषयमा भएका प्रगतिका बारेमा जानकारी दिन सोमवार परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई बोलाइएको जनाएको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
वुहानबाट उद्धार गर्न सरकारसँग गुहार