सगरमाथा र अन्य पाँच हिमाल सफा गर्ने सरकारको योजना, पैसा 'फेरि खेर जान सक्ने' पर्वतारोही कामिरिता शेर्पाको चेतावनी

  • 13 फेब्रुअरी 2020
पर्वतारोहण तस्वीर कपीराइट Nepal Tourism Board

नेपाल सरकारले यो वसन्तऋतुमा सगरमाथासहित पाँचवटा हिमालमा सफाइ अभियान गर्ने योजना सार्वजनिक गरेको छ। तर २४ पटक विश्वको सर्वोच्च शिखरको आरोहण गरेका कामिरिता शेर्पासहित अन्य पर्वतारोहीहरूले हिमालले सफा गर्ने सरकारी शैलीबारे गम्भीर प्रश्न उठाएका छन्।

गत वर्ष विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा गरिएको सफाइ अभियानबाट सगरमाथा क्षेत्रबाट १०,००० किलोग्रामभन्दा बढी फोहोर सङ्कलन गरिएको नेपाली सेनाको भनाइ छ। यसपालि सगरमाथा क्षेत्रदेखि पूर्व र पश्चिमका हिमालमा पनि उक्त अभियान विस्तार गर्ने योजना छ।

तर पोहोर सङ्कलित अधिकांश फोहोर सगरमाथा आधार शिविरभन्दा तलका "सजिला स्थानबाट जम्मा गरिएको" भन्दै पर्वतारोहीहरूले नेपाली सेनाको आलोचना गरिरहेका छन्।

हालैको समयमा वर्षैपिच्छे सफाइ अभियान सञ्चालन भएको पाइन्छ।

तर आरोहीहरूका अनुसार मानिसहरूको भिड हुने सगरमाथा, ल्होत्से, आमादब्लम जस्ता हिमालका माथिल्ला क्षेत्रमा दशकौँ अघिदेखि छरिएर रहेका शव, धातु, प्लास्टिक लगायतका फोहोर अझै तल झार्न सकिएको छैन।

हिमाल सफा गर्ने नयाँ योजना

तस्वीर कपीराइट PURNIMA SHRESTHA

नेपाली सेनाका एक अधिकारीले विगतबाट पाठ सिकेर आउने वसन्तमा छ हिमाली क्षेत्रमा सफाइ कार्यक्रम सञ्चालन गरिने र त्यसक्रममा झन्डै ३५,००० किलोग्राम फोहोर सङ्कलन गर्ने योजना बनाइएको बीबीसी न्यूज नेपालीलाई बताए।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा सगरमाथासहित छवटा हिमाल सफाइ गर्ने योजना सार्वजनिक गर्दै त्यसको जिम्मेवारी नेपाली सेनालाई दिइएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार ती हिमाल सफाइका लागि नेपाली सेनाले आठ करोड ५९ लाख रुपैयाँ प्राप्त गर्दैछ।

चैत महिनादेखि सफाइ टोलीलाई तालिम दिने, वैशाखदेखि ती टोलीलाई हिमाली क्षेत्रमा खटाउने र जेठको तेस्रो सातासम्म सफाइ कार्यक्रम सम्पन्न गर्ने सेनाको योजना छ।

सगरमाथा
GETTY
नेपालका हिमालमा फोहोर

  • २०,००० किलोग्रामसगरमाथा, ल्होत्से र पुमोरी

  • ५,००० किलोग्राम मकालु, धौलागिरि र आमादब्लम प्रत्येकमा

स्रोत: नेपाली सेना

कुन हिमालमा कति फोहर

पर्वतारोहीहरूका अनुसार आरोहीहरूको धेरै भिड हुने सगरमाथा क्षेत्रमा अवस्थित सगरमाथा, ल्होत्से, पुमोरीमा धेरै फोहोर जम्मा भएको छ। सेनाले यसपालि ती हिमालका आधार शिविरमाथि र तलका क्षेत्रबाट झन्डै २०,००० किलोग्राम फोहोर सङ्कल गर्ने योजना बनाएको छ।

सगरमाथा क्षेत्रका हिमशिखरमध्ये आरोहीहरूको सर्वाधिक भिड हुने आमादब्लम हिमालमा अत्यधिक फोहोर भएको आरोहीहरू बताउँछन्।

त्यो हिमालको आधार शिविरमाथि र तलका क्षेत्रबाट ५,००० किलोग्राम फोहोर उठाउने सेनाको योजना छ।

तस्वीर कपीराइट Twitter/Dhaulagiri2016

सगरमाथाभन्दा पूर्वमा अवस्थित मकालु हिमालको आधार शिविरमाथि र तलका क्षेत्रबाट ५,००० किलोग्राम फोहोर जम्मा गर्ने योजना छ। पश्चिम नेपालको धौलागिरि हिमालमा आरोहीहरूको भिड तुलनात्मक रूपमा कम हुने गर्छ।

यो वसन्तऋतुमा त्यो हिमालको आधार शिविरमाथि र तलका क्षेत्रबाट झन्डै ५,००० किलोग्राम फोहोर उठाउने योजना नेपाली सेनाले बनाएको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

"हिमाल सफाइका लागि आवश्यक समन्वय, तालिम, उपकरण र हेलिकप्टर व्यवस्था गर्न परामर्श थालिसकेका छौँ," उनले भने।

कामिरिता शेर्पा किन आक्रोशित

गत मेमा २४ औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेका कामिरिता शेर्पाले आउने वसन्तऋतुमा २५ औँ पटक सगरमाथा आरोहण योजना बनाएका छन्।

यो वर्ष फेरि नेपाली सेनाकै अगुवाइमा हिमाल सफा गर्ने नेपाल सरकारको योजनाको उनले आलोचना गरे।

"यो वर्ष पनि पोहोरजस्तै तलतलको फोहर टिप्ने हो भने हिमाल सफाइको कुनै अर्थ हुँदैन। फेरि त्यसो गरियो भने सरकारको ढुकुटीको पैसा खेर जान्छ।"

तस्वीर कपीराइट Reuters

उनको विचारमा शिखरको माथिमाथि जाने शेर्पा आरोहीहरूलाई राम्रो पारिश्रमिक दिएर हिमाल सफाइमा बढीभन्दा बढी अनुभवी शेर्पाहरू परिचालन गर्न सकिए माथिल्ला क्षेत्रमा वर्षौँदेखि थुप्रिएका शव तथा अन्य फोहोर सफा गर्न सकिन्छ।

"शेर्पाहरूलाई किलोको ६०० रुपैयाँ दिएर पनि फोहोर तल आउँछ। उनीहरूलाई किलोको २,००० वा २,५०० रुपैयाँसम्म दिन सक्यो भने फोहोर ल्याउन सकिन्छ। हिमाल सफाइको काममा नेपाली सेनाभन्दा पनि अनुभवी आरोहण कम्पनी लगाउन सक्यो भने केही प्रगति हुन्छ।"

अर्का आरोही फुर्बाटाशी शेर्पाले २१ पटक सगरमाथा चढिसकेका छन्।

उनका विचारमा आरोहीको भिड हुने मनास्लु हिमालको माथिल्लो क्षेत्रमा पनि सफाइ अभियान सञ्चालन आवश्यक छ। यस पटक सफाइका लागि सरकारले छानेका हिमालमा मनास्लु परेको छैन।

विगतका सफाइ अभियान

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाले "विगतका कमीकमजोरीबाट पाठ सिकेर" यस पटकको हिमाल सफाइ अभियान प्रभावकारी बनाइनेमा जोड दिए। उनले पोहोर सगरमाथा क्षेत्रबाट सङ्कलित अधिकांश फोहोरमैला पुन: प्रयोग गर्ने सामग्री बनाउने एउटा कम्पनीलाई दिइएको बताए।

हिमाल सफाइ अभियान

कुन वर्ष कति फोहोर सफा गरियो?

* सन् २००२ देखि २०१८ सम्मको तथ्याङ्क स्पष्ट छैन
स्रोत: केन नगुची, नेपाली सेना

आरोहीहरूका अनुसार सगरमाथा र अन्य हिमाली क्षेत्रमा सन् १९५० को दशक र त्यसअघिको कालखण्डदेखिका फोहोरमैला रहेका छन्।

दिवङ्गत आरोहीका शव, आरोहण गर्दा लगाउने पोसाक र जुत्ता, अक्सिजन र ग्यासका सिलिन्डरजस्ता उपकरण हिउँ पग्लिँदा देखिने र अरू बेला छोपिने गरेको उनीहरू बताउँछन्।

सन् ११९० को दशकमा सगरमाथाको फोहरमैलाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारसामग्री छापिन थालेपछि विभिन्न सफाइ अभियान हुन थालेका हुन्।

सन् १९९९ र सन् २००१ मा जापानी आरोही तथा पर्यावरणवादी केन नगुचीको अगुवाइमा भएका सफाइ अभियानपछि सगरमाथा क्षेत्रबाट झन्डै २४,००० किलोग्राम फोहोर सङ्कलन भएको थियो।

त्यसपछिका वर्षमा पनि प्रत्येक वर्षजसो सफाइ अभियान सञ्चालन हुने गरेका छन्। त्यसको आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
सर्वोच्च शिखर सगरमाथाको सफाइ

सम्बन्धित समाचार