कोरोनाभाइरस: कोभिड-१९ ले चीनको हुबे प्रान्तमा एकै दिनमा २४२ जनाको ज्यान लियो, बिरामीको सङ्ख्या पनि ह्वात्तै बढ्यो

  • 13 फेब्रुअरी 2020
कोरोनाभाइरस तस्वीर कपीराइट Getty Images

चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो।

नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ।

मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको देखिएको थियो।

यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबे प्रान्तका सचिवलाई हटाएर शाङ्घाईका पार्टी प्रमुखलाई त्यहाँ पठाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

हुबेमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीहरूमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो।

केही दिनअघि सरकारले स्वास्थ्यसेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो।

रोग पुष्टि गर्ने नयाँ विधि

चीनभरि भएका सङ्क्रमित मानिसमध्ये ८० प्रतिशत हुबेका हुन्।

उक्त प्रान्तले अहिले चिकित्सकीय रूपमा रोग निदान भएका मानिसको सङ्ख्यालाई मात्र सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा समाविष्ट गर्ने थालेको छ।

तस्वीर कपीराइट Getty Images

अब न्यूक्लेइक एसिड परीक्षणमा मात्र निर्भर नभएर सङ्क्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा परेको असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ।

वुहानमा ज्यान गुमाउने २४२ मध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो।

अर्थात् नयाँ परिभाषा अनुसरण नगर्दा पनि बुधवार १०७ जनाको मृत्यु भएको थियो।

नयाँ सङ्क्रमण भएका कुल १४,८४० मध्ये १३,३३२ जनामा नयाँ विधिबाट रोग लागेको पुष्टि भएको थियो।

अहिलेसम्म उक्त प्रान्तमा सङ्क्रमण भएको व्यक्तिको सङ्ख्या ४८,२०६ पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनको चिन्ता

मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको परिप्रेक्ष्यमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनमा देखा परेको उक्त प्रकोपलाई अतिसावधानीपूर्वक लिनुपर्ने बताएका थिए।

जिनिभामा भएको एउटा सम्मेलनमा बोल्दै टेड्रोस एड्हानोम गेहब्रेयससले व्यक्ति वा देशैविरुद्ध यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणका लागि गरिएका प्रयासमा असर पार्ने बताए।

तस्वीर कपीराइट Getty Images

"यो प्रकोप अझै पनि जुनसुकै दिशामा जान सक्छ। सङ्क्रमितको सङ्ख्याबारे बताउने देशहरूको सङ्ख्या पनि फेब्रुअरी ४ यता परिवर्तन भएको छैन।"

गत डिसेम्बरदेखि फैलिएको उक्त भाइरसलाई परास्त गर्न सयौँको सङ्ख्यामा जनस्वास्थ्य अधिकारी, सरुवा रोग नियन्त्रणका अधिकारी र वैज्ञानिकहरूले विश्वव्यापी योजनाबारे छलफल गरेका छन्।