नेपालको सशस्त्र द्वन्द्व: माओवादी सङ्घर्षको स्मृतिसभामा के प्रचण्डकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका हुन्

  • 13 फेब्रुअरी 2020
प्रचण्ड तस्वीर कपीराइट RSS

विभिन्न जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका शहीदहरूप्रति सम्मान प्रकट गर्न सत्ताधारी नेकपाले आयोजना गरेको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुको 'अन्यथा कारण नरहेको' पुष्पकमल दाहाल प्रचण्डनिकट एक नेताले बताएका छन्।

यस्तै प्रकृतिको कार्यक्रममा प्रधानमन्त्री ओली गत वर्ष पनि सहभागी भएका थिएनन्।

तर यसपालि ओली आफ्नो स्वास्थ्यस्थितिका कारण उपस्थित नभएको नेता हरिबोल गजुरेलले बताएका छन्। उनी पूर्वमाओवादी नेता हुन् र प्रचण्ड निकट मानिन्छन्।

नेकपाको धुम्बाराहीस्थित कार्यालयमा बिहीवार बिहान आयोजित कार्यक्रममा दलका दुवै अध्यक्ष ओली र प्रचण्ड सहभागी हुने प्रचार गरिएको थियो।

प्रधानमन्त्रीका एक सल्लाहकारले प्रधानमन्त्री ओली अन्य पूर्वनिर्धारित कार्यक्रम भएकाले उनी उक्त कार्यक्रममा सहभागी हुन नसकेको बताए।

आउने भनेर प्रचार तर अनुपस्थित

आफ्नै नेतृत्वमा माओवादीसँग अन्तत: पार्टी एकीकरण हुनेगरी सहकार्य गर्नुअघिसम्म तत्कालीन नेकपा एमालेका नेता ओली माओवादी दल र उसले सञ्चालन गरेको राज्यविरुद्धको सशस्त्र सङ्घर्षका कटु आलोचक थिए।

तस्वीर कपीराइट RSS

माओवादीले आफूले सशस्त्र सङ्घर्ष थालेको फाल्गुन १ लाई 'जनयुद्ध दिवस' का रूपमा मनाउने गरेको थियो।

गत वर्षबाट त्यसको नाम 'जनआन्दोलन तथा जनयुद्ध दिवसका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभा' राखिएको थियो।

बिहीवारको कार्यक्रममा प्रचण्डसँगै पहिलो लहरमा नेकपाका उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित अन्य नेता उपस्थित थिए।

अघिल्लो वर्ष पनि पार्टी मुख्यालयमा आयोजित यस्तै कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन्।

यस पटक प्रधानमन्त्री ओली उक्त कार्यक्रममा उपस्थित हुने विवरण नेकपाका कार्यालय सचिवलाई उद्धृत गर्दै सार्वजनिक भएको थियो।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अरू नै पूर्वनिर्धारित कार्यक्रम भएकाले उक्त कार्यक्रममा नगएको बताए।

उनले भने, 'प्रधानमन्त्री पनि उपस्थित हुन सक्ने भन्नुभएको रहेछ। तर उहाँहरूलाई उक्त कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ भनेर हाम्रो तर्फबाट भनिएको थिएन।"

के भन्छन् पूर्वमाओवादी नेता

पार्टी मुख्यालयमा आयोजित समारोहमा उपस्थित माओवादी पृष्ठभूमिका नेता दिनानाथ शर्मा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई 'अन्यथा सोच्नुपर्ने कारण नरहेको' बताए।

उनी भन्छन्, "उहाँको स्वास्थ्यको कारणले आउन नसक्नुभएको हो। त्यसबाहेक अन्यथा सोच्ने केही पनि छैन।"

तस्वीर कपीराइट RSS

अध्यक्ष प्रचण्डनिकट अर्का नेता हरिबोल गजुरेलले यसपालिको कार्यक्रममा ओलीको अनुपस्थितिको कारण पहिलाको जस्तो नरहेको बताए।

उनले बीबीसीलाई भने, "यसपालि अध्यक्ष प्रचण्डले नै तपाईँ जानुपर्दैन भनेर भन्नुभएको थियो। तैपनि प्रधानमन्त्रीले 'म जान्छु' भन्नुभएको थियो। मैले जानेसम्म स्वास्थ्य ठिक नभएर उहाँ अनुपस्थित हुनुभएको हो।"

उनी थप्छन्, "अरू कारण होइन। पहिला अनुपस्थित भएको र अहिलेको अवस्था फरक हो।"

संविधानसभामा नयाँ संविधानका प्रावधानबारेका बहसमा पनि तत्कालीन एमाले र अहिले विपक्षमा रहेको नेपाली कांग्रेसका नेताहरूले 'जनयुद्ध' र त्यससँग सम्बन्धित राजनीतिक शब्दावलीलाई संविधानमा उल्लेख गरेर दशवर्षे द्वन्द्वलाई वैधता दिन नसक्ने बताएका थिए।

त्यस बेला एमाले र कांग्रेससहितका कैयौँ दलहरूले 'जनयुद्ध' माओवादीको शब्द भएकाले शान्ति सम्झौता, अन्तरिम संविधानसहितका दस्तावेजमा प्रयोग भएका सशस्त्र द्वन्द्वसहितका साझा शब्दको प्रयोगमा जोड दिएका थिए।

यो पनि हेर्नुहोस्

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
शहीद दिवस: ‘शहीदका सपना अधुरै’

सम्बन्धित समाचार