नेपालको सशस्त्र द्वन्द्व: माओवादी हिंसामा गिरिजाप्रसाद कोइरालाको समर्थन रहेको प्रचण्डको दाबीप्रति नेपाली कांग्रेसको आपत्ति

  • 14 फेब्रुअरी 2020
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा सन् २००६ नोभेम्बर (विसं २०६३ मंसिर) हस्ताक्षर गरेपछि सशस्त्र द्वन्द्वको अन्त्य भएको थियो तस्वीर कपीराइट DEVENDRA M SINGH/AFP/GETTY IMAGES
Image caption तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा सन् २००६ नोभेम्बर (विसं २०६३ मंसिर) मा हस्ताक्षर गरेपछि नेपालको सशस्त्र द्वन्द्वको अन्त्य भएको थियो

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनलाई अप्ठ्यारोमा पार्न नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालाले हिंसा बढाउन आफूलाई आग्रह गरेको भन्ने तत्कालीन नेकपा माओवादीका 'सर्वोच्च नेता' पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले अहिले विभिन्न प्रश्न उठाइदिएको छ।

सत्तारूढ नेकपाको नेकपाको कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन सात दल र नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीको पृष्ठभूमि सुनाउने क्रममा त्यस्तो अभिव्यक्ति दिएका हुन्।

उक्त समझदारीपछि कोइरालासँग दिनदिनैजसो फोनमा आफ्नो कुराकानी हुने गरेको सुनाउँदै प्रचण्डले भने, "उहाँले फौजी आक्रमण अझ बढाइदिनुपर्‍यो भन्नुहुन्थ्यो र अलि सदरमुकाम हान्नुपर्‍यो, अलि ठूल्ठूलो आक्रमण गर्नुपर्‍यो भन्नुहुन्थ्यो।"

तर कोइरालाको दल नेपाली कांग्रेसले औपचारिक रूपमै त्यसको खण्डन गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, "गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो।"

"तर उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढङ्गले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।"

तस्वीर कपीराइट Getty Images

नेपालमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वमा उनका पूर्वसहयोद्धा तथा पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि प्रचण्डको भनाइ र राजनीतिक चरित्रप्रति कटाक्ष गरेका छन्।

कोइरालाको मृत्यु भइसकेको र प्रचण्डले भनेको कुराको कोही साक्षी पनि नभएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रचण्डको भनाइलाई "अनुत्तरदायी" सङ्ज्ञा दिँदै आलोचना गरेका छन्।

कोइरालाका 'विश्वासपात्र' नेता के भन्छन्?

बाह्रबुँदे समझदारी भएको बेला र त्यसपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला कोइरालाको विश्वासपात्र नेता मानिन्थे।

उनले बीबीसीसँग कुरा गर्दै उनले गिरिजाप्रसाद कोइरालाले "त्यस्तो कहिल्यै नभनेको" र प्रचण्डले 'गलत कुरा गरेको' बताए।

सिटौलाले भने, "दुईवटा बन्दुकको बीचमा जनता परेका छन् र त्यो बन्दुकको मारबाट जनतालाई निकाल्नुपर्छ, शान्ति स्थापना गर्नुपर्छ भन्ने उहाँ (गिरिजाप्रसाद कोइराला) को मूल लक्ष्य थियो।"

"त्यसैले प्रचण्डको कुरा गैरजिम्मेवार छ। कुनै पनि हालतमा कसैले पनि विश्वास नगरे हुन्छ।"

तत्कालीन सत्ताधारीले 'आतङ्ककारी' घोषणा गरेको माओवादीसँग समझदारी गरेर संसदीय अभ्यासमा रहेका दलले हिंसालाई समर्थन गरेको आरोप लगाउने गर्थे। त्यसलाई बल पुग्नेगरी प्रचण्डको अभिव्यक्ति आएको छ।

कोइरालाको 'विचित्र आग्रह'

कोइरालाको 'आग्रह' प्रचण्डको दृष्टिमा पनि 'विचित्र' थियो।

तस्वीर कपीराइट RSS

उनले भने, "यस्तो संसारमा कमै हुन्छ। यही विचित्रको परिस्थितिले नै नेपालमा २५० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अवसान गर्ने वातावरण बन्यो र देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो।"

शाही शासनलाई कमजोर बनाउने उद्देश्यले कांग्रेसले भित्रभित्र माओवादी हिंसाको साथ खोजेको त होइन?

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, "कांग्रेसको त्यस्तो नीति कहिल्यै थिएन।"

"हामीले त माओवादीलाई हिंसात्मकबाट शान्तिपूर्ण आन्दोलनमा ल्याउन खोजेको हो। शान्तिपूर्ण आन्दोलनमा जाऊँ भनेका हौँ।"

हिंसालाई १२ बुँदेको अनुमति?

राजाले शासनसत्ता हातमा लिएपछि भारतको राजधानी दिल्लीमा १२ बुँदे समझदारी भएको थियो।

जसमा 'निरङ्कुश राजतन्त्रविरोधी सम्पूर्ण शक्तिहरुले निरङ्कुश राजतन्त्रका विरुद्ध आआफ्ना ठाउँबटट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर पूर्ण लोकतन्त्र स्थापना गर्ने' उल्लेख थियो।

समझदारीको पहिलो बुँदामा उल्लिखित 'आआफ्ना ठाउँवाट प्रहार केन्द्रित गर्ने' वाक्यले उक्त समझदारीपछिका माओवादीका हिंसात्मक कदमलाई कांग्रेस सहितका दलले अनुमति दिएको वा अनुमोदन गरेको भएन?

तस्वीर कपीराइट DEVENDRA M SINGH/AFP/GETTY IMAGES
Image caption माओवादी लडाकुहरूले गरेका कतिपय आक्रमण र हत्या अमानवीय भएको र राज्यपक्षबाट पनि गैरन्यायिक हत्या भएको आरोप लाग्ने गरेको छ

कांग्रेस नेता सिटौलाले अस्वीकार गर्दै भने, "त्यो अनुमति दिएको होइन, त्यस्तो समझदारी होइन। त्यो गलत व्याख्या भयो। आन्दोलनको आँधीबेहरी निर्माण गर्ने भनेको सदरमुकाममा फौजी प्रहार गर्ने भन्ने होइन नि।"

बाह्रबुँदे समझदारी र त्यसपछि निर्धारण गरिएका कार्यक्रमले 'पूर्ण रूपले शान्तिपूर्ण आन्दोलन' भनेको उनको तर्क छ।

सात दलसँगको समझदारीपछि माओवादीहरूले 'व्यक्ति हत्या'भन्दा प्राय: आफ्नो निसाना सुरक्षानिकायविरुद्ध केन्द्रित गरेका थिए। केही सर्वसाधारण भने मारिएका थिए।

प्रचण्डको दाबी कति सत्य?

तर प्रचण्डले भनेकै जस्तो अभिव्यक्ति केही वर्षअघि तत्कालीन माओवादीका केही कनिष्ठ नेताहरूले छिटपुट रूपमा दिएका थिए। तीमध्ये एक थिए लेखनाथ न्यौपाने।

उसबेला आफूहरूले पनि प्रचण्डले भनेकै सुनेर आफूले त्यसो भन्ने गरेको उनको भनाइ छ।

तस्वीर कपीराइट RSS
Image caption बिहीवारको कार्यक्रममा प्रचण्डसँगै नेकपाका उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित अन्य नेता उपस्थित थिए

बीबीसीसँग उनले भने, "एउटा सार्वजनिक कार्यक्रममा मैले पनि भनेको हो। तर अहिले त्यसलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छ भन्ने ठान्छु। किनकि त्यसको लिखित आधार छैन। त्यसैले त्यो सत्य पनि हुन सक्छ, नहुन पनि सक्छ।"

तर प्रचण्डले सार्वजनिक रूपमा त्यसबारे थप प्रस्ट ढङ्गले बताएपछि त्यसले एक खालको चर्चा निम्त्याएको छ।

माओवादी पार्टीबाट अलग भएर अहिले समाजवादी पार्टीमा रहेका नेता बाबुराम भट्टराईले पनि प्रचण्डको भनाइमा टिप्पणी गरेका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, "ठाउँ हेरेर त्यहीँको भाकामा गाउने र बढाइचढाइ ढङ्गले विषय प्रस्तुत गरेर तरङ्ग ल्याउने प्रचण्डको जानेमानेको शैली हो! जहाँसम्म गिरिजाबाबुको प्रसङ्ग छ- त्यो सधैँ हैन तर २०६२ मंसीरमा १२ बुँदे सहमति भएपछि ज्ञानेन्द्रले माघमा नगरपालिकाको चुनाव घोषणा गरेको बेला त्यसलाई बिथोल्न आग्रह गर्नुभा'को हो!"

बाह्रबुँदे समझदारीमा पनि 'राजाको निरङ्कुश र अवैधानिक शासनलाई वैधानिकता प्रदान गर्ने कुत्सित उद्देश्यका लागि अघि सारिएको नगरपालिकाको निर्वाचनको घोषणा र संसद्को निर्वाचनको चर्चा एउटा कपटपूर्ण चाल भएकाले त्यसलाई आआफ्नो ढङ्गले सक्रिय बहिष्कार गर्ने घोषणा गर्दै त्यस्तो निर्वाचनलाई असफल बनाउन आमजनतालाई आह्वान' गरिएको थियो।