कोरोनाभाइरस: सङ्क्रामक रोग रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई प्रणय दिवसमा 'प्रेम सन्देश'

  • 14 फेब्रुअरी 2020
प्रेम सन्देश तस्वीर कपीराइट JUDITH PERERA-LEE

कोरोनाभाइरस सङ्क्रमण एउटा ठूलो समस्याका रूपमा देखिएका बेला सिङ्गापुरमा मानिसहरू भ्यालेन्टाइन डेको हस्तलिखित सन्देश स्वास्थ्यकर्मीहरूलाई दिँदै धन्यवाद भनिरहेका छन्।

सिङ्गापुरमा ५० जनामा कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमण भएको बताइएको छ। सरकारले सङ्क्रमण फैलिन नदिन कदम चालिरहेको छ।

विद्यालय जाने बालबालिका तथा अन्य मानिसले सामाजिक सञ्जालबाट स्वास्थ्यसेवाका अधिकारीहरूको मनोबल बढाउन माया र समर्थनसहितका सन्देश लेखिरहेका छन्।

वाली थम @StandUpForSG नामक फेसबुक समूह चलाउने व्यक्तिमध्ये एक हुन्।

उक्त फेसबुक पेजमा सिङ्गापुरका सामाजिक मुद्दाहरूको उठान गरिन्छ।

स्वास्थ्यसेवामा अधिकारीहरूलाई प्रेमपूर्ण सन्देश पठाउने योजना गत साता सुरु गरिएको थियो।

केही स्वास्थ्यकर्मीहरूले विभेदको सामना गरिरहेको हुन सक्ने सुनेपछि वालीले त्यसविरुद्ध एउटा अभियान थाल्न चाहेको बताए।

उनले ह्याशट्याग #braveheartsg प्रयोग गरेर त्यस्तो अभियान सञ्चालन गरिरहेका छन्।

"रेल वा लिफ्टमा स्वास्थ्यकर्मीलाई भेट्दा कोरोनाभाइरस सर्न सक्छ कि भन्ने डरका कारण उनीहरूलाई सिङ्गापुरका मानिसले विभेद गरेको भन्ने सुनेको छु। मानिसहरूको त्यही चिन्ता हटाउनका लागि यस्तो गरिएको हो। #braveheartsg थालेको चाहिँ हामीलाई थप यस्तै साहसी मुटु चाहिएको छ भनेर हो।"

"हामीलाई अहिले हिम्मत र साहस चाहिएको छ र त्यो काम स्वास्थ्य अधिकारीहरूले गरिरहेका छन्," उनले भने।

तस्वीर कपीराइट EPA
Image caption सङ्क्रमणबाट जोगिनका लागि मानिसहरू सिङ्गापुरमा मास्क लगाएर हिँड्छन्

शनिवारयता उक्त ह्याशट्याग हजारौँ पटक प्रयोग भएको छ।

सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले पनि आफ्नो फेसबुकमा सोही ह्याशट्याग प्रयोग गरेका छन्।

"एकअर्कालाई प्रोत्साहित गर्न हामी सबैले आफ्नो ठाउँबाट केही गरौँ। सबै मिलेर अहिलेको समय हामी पार लगाउँछौँ," उनले लेखेका छन्।

एउटा सानो सहरजत्रो राज्यमा सन् २००३ को सार्स भाइरसको प्रकोपको सम्झनाले अझै पनि ठूलो असर पारेको देखिन्छ।

उक्त भाइरसको सङ्क्रमण सयौँ मानिसमा देखिएको थियो र धेरैले ज्यान गुमाएका थिए।

कोभिड-१९ को प्रकोप कम भयावह देखिए पनि सिङ्गापुर सरकारले सार्वजनिक आक्रोशलाई थाम्नका लागि मेहनतपूर्वक काम गरिरहेको छ।

तर यस्ता प्रयासले सधैँ काम गरेका भने छैनन्। गत साता देशमा सतर्कता बढाइएपछि सिङ्गापुरका मानिसहरू सुपरमार्केटमा गएर सामानहरू किन्ने हतारो देखिन्थ्यो।

अझै पनि आफ्नो तर्फबाट पनि केही गर्न चाहनेछन्।

स्ट्यान्ड अफ फर एसजी फेसबुक समूहका लागि ८०० भन्दा बढी सन्देशहरू पठाइएका छन्।

वालीले भ्यालन्टाइन्ज डेमा सकेजति सन्देश छापेर गरेर स्वास्थ्यसेवा उपलब्ध गराउने स्थानमा बाँडिने आशा व्यक्त गरे।

तस्वीर कपीराइट FELICIA PANG JIA XUAN
Image caption "भोलिको सिङ्गापुरको लागि तपाईँहरू सच्चा नायक हो," फेलिसिया पंग जिया जुआनले लेखिन्

तेह्र वर्षीया फेलिसिया पङ जिया जुआनले समर्थनको सन्देश विद्यालयको अभ्यासअन्तर्गत शेअर गरेकी थिइन्।

"उनीहरू भाइरसविरुद्ध लडिरहेका छन्, तर मानिसहरू उनीहरूलाई पनि सङ्क्रमण छ कि भनेर हेला गर्छन्।"

"म पक्का छु कि उनीहरू पनि भाइरसबाट डराएका छन्," उनले भनिन्।

तस्वीर कपीराइट @MISSNIO

सिङ्गापुरमा शिक्षण गर्ने ब्रेन्डा नियोले भनिन्, "म यसमा सहभागी हुन चाहन्थेँ किनभने अहिले कोरोनाभाइरसका कारण ठूलो त्रास छ। डरले स्वार्थ र विभेद निम्त्याउँछ।"

"हामीले सँगै मिलेर काम गर्‍यौँ भने एकअर्काको सहायता पाउँछौँ। दया, आशा, प्रोत्साहन र साहसको सन्देश फैलाउन जे सकिन्छ मलाई त्यो गर्न मन थियो," उनले भनिन्।