कुवेतको निर्माणस्थलमा हालै भएको नेपाली कामदारको मृत्युले उब्जाएका प्रश्न

  • 14 फेब्रुअरी 2020
कुवेत तस्वीर कपीराइट OfficialKfsd

कुवेतको एउटा आवास निर्माण कम्पनीमा बालुवा र ढुङ्गाको ढिस्कोले पुरिएर छजना नेपाली कामदारले ज्यान गुमाएपछि त्यसले श्रमिक सुरक्षाको सवालमा गम्भीर प्रश्नहरू खडा गरेको जानकारहरूले बताएका छन्।

बुधवार कुवेतको एउटा प्रमुख बस्ती निर्माणस्थलमा ढुङ्गा र बालुवाको ढिस्को खस्दा पुरिएर अन्य दुईजना नेपाली र एक भारतीय कामदार घाइते भएका थिए।

उक्त दुर्घटनाबारे अनुसन्धान अघि बढाइएको कुवेती अधिकारीहरूलाई उदृत गर्दै त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

नेपाली पक्षले आफूले उक्त अनुसन्धानको निष्कर्षलाई कुर्ने र कुनै लापरवाही देखिए त्यसबारे कूटनीतिक रूपमा कुरा उठाउने प्रतिक्रिया दिएको छ।

कुवेत घटना के भइरहेको छ?

कुवेतस्थित नेपाली दूतावासका अनुसार अल मुत्ला सिटी प्रोजेक्टमा बुधवार भएको दुर्घटनाका बारेमा कुवेती अधिकारीहरूले अनुसन्धान थालिएको जानकारी दिएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले दिएको जानकारी अनुसार चाइना गेजुबा ग्रुप कम्पनीले जिम्मा लिएको उक्त बस्ती निर्माण परियोजनामा दुर्घटना निम्त्याउने कारणबारे अनुसन्धान गर्न तीन सदस्यीय टोली गठन गरिएको छ।

उक्त निर्माणस्थलमा खटिएका श्रमिक सुरक्षा हेर्ने दुईजना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको ती अधिकारी बताउँछन्।

तस्वीर कपीराइट OfficialKfsd

कुवेती सरकारले अघि बढाएको उक्त परियोजनामा काम गर्ने लगभग पाँच हजार विदेशी श्रमिकमध्ये करिब १६ सय नेपाली रहेको बताइन्छ।

कुवेतस्थित नेपाली राजदूतावासकी सूचना अधिकारी जानकी ओझाका अनुसार शुक्रवार र शनिवार सार्वजनिक बिदा पर्ने भएकाले पहिचान खुल्न बाँकी दुई नेपाली कामदारको फरेन्सिक जाँचको प्रतिवेदन आइतवारसम्म आउन सक्छ।

उनी भन्छिन्, "दुर्घटनाको कारण खोज्न अनुसन्धान अघि बढाइएको थाहा पाएका छौँ र हामीलाई यदि सुरक्षा सावधानी नअपनाइएको वा सरकारी स्तरबाट नै हेलचेक्र्याइँ गरिएको रहेछ भने उहाँहरूलाई पनि क्षमा नहुने भनिएको छ।"

मृतक कामदारहरूको शव फरेन्सिक परीक्षण सम्पन्न भएलगत्तै सम्भवत: अर्को साताको बीचसम्ममा नेपाल पठाइसक्ने दूतावासको अपेक्षा छ।

प्रश्नहरू

नेपाली श्रमिकका सवालमा अध्ययन गर्ने सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबीलीटीका अनुसन्धान संयोजक अर्जुन खरेल भन्छन्, 'समाचारहरूमा हेर्दा बालुवामा भासिने ठाउँमा कामदारहरूलाई पठाएको देखिन्छ। त्यो हेलचेक्र्याइँ हो। तर यस्तै खालका कैयौँ दुर्घटना समाचारमा नै आउँदैनन्। के कारणले कामदारले ज्यान गुमाए भन्ने नै थाहा पाउन सकिँदैन।"

उनले गन्तव्य देशमा कामदारले ज्यान गुमाएको विषयलाई नेपालले गम्भीर रूपमा उठाएको जस्तो नदेखिएको बताए।

खरेल भन्छन्, "के कारणले कामदारले ज्यान गुमाइरहेका छन् भन्ने यकिन तथ्याङ्क नेपाल सरकारसँग छैन। हाम्रो देशमा ल्याएर शवको परीक्षण पनि गरिँदैन। के कारण भनेर खुलाउँदा कम्पनी आफू जिम्मेवार नठहरियोस् भनेर ठूलो सङ्ख्यामा प्राकृतिक कारण पनि भन्ने गरिन्छ।"

तर अधिकारीहरू चाहिँ कामदारको सुरक्षाको विषयमा आफूहरू गम्भीर रहेको र यसलाई ध्यान दिएर गन्तव्य देशहरूसँग श्रम सम्झौताहरू गरिएको बताउँछन्।

उनीहरूका भनाइमा कार्यस्थलमा हुन सक्ने सम्भावित जोखिमबारे वैदेशिक रोजगारीमा जानुअघि अभिमूखीकरण गर्ने गरिएको छ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता सुमन घिमिरे भन्छन्, "काम गर्दा अपनाउनुपर्ने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य जाँचलाई हामीले अनिवार्य बनाएका छौँ। विभिन्न देशको अवस्था फरक रहेकाले देशगत रूपमा नै हामीले जानकारीहरू उपलब्ध गराउने गरेका छौँ। कामदारको सुरक्षा पहिलो भन्ने हाम्रो नीति हो।"

उनी थप्छन्, "कुवेतमा कसको गल्तीले त्यस्तो दुर्घटना भयो, त्यो अनुसन्धानपछि थाहा हुन्छ। दुर्भाग्यवश दुर्घटना भइसकेपछि अरू सावधानी अपनाउनुपर्ने कुरालाई प्रभावकारी रूपमा यो हेरिदिनुपर्‍यो भनेर कूटनीतिक माध्यमबाट हामी त्यसमा समन्वय गर्छौँ।"

तथ्याङ्कले यसो भन्छ

सरकारी तथ्याङ्कले पछिल्ला दश वर्षमा सात हजारभन्दा बढी नेपाली कामदारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको देखाउँछ।

अघिल्लो आर्थिक वर्षमा ७५३ जना मृतक कामदारका आफन्तलाई राहत बापतको रकम उपलब्ध गराइएको र यो आर्थिक वर्षको पहिलो छ महिनामा ३३२ जनालाई राहत उपलब्ध गराइएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका महानिर्देशक राजन श्रेष्ठ बताउँछन्।

उनका अनुसार ज्यान गुमाएका प्रत्येक मृतक कामदारका आफन्तले बोर्डमार्फत् सात लाख रुपैयाँ र बीमामार्फत् १३ लाख रुपैयाँ पाउने गरेका छन्।

तस्वीर कपीराइट REUTERS

तर अधिकांश अवस्थामा गन्तव्य देशबाट कामदारका परिवारले बीमा वा क्षतिपूर्ति बापतको रकम नपाउने उनले बताए।

उनी भन्छन्, "साधारणतया खाडी देशमा कामदारहरूको बीमा गराउने चलन हुँदैनरहेछ। केही कम्पनीहरूले क्षतिपूर्ति भनेर दिएका घटना पनि छन्। कतिपय दुर्घटनामा पाएको भन्ने पनि छ। तर त्यो सङ्ख्यामा एकदमै सानो छ।"

सङ्ख्यात्मक हिसाबले बढी नेपाली कामदारले ज्यान गुमाउने देशहरूमा मलेशिया, साउदी अरेबिया र कतार रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको अभिलेखले देखाउँछ।

सडक र कार्यस्थलमा हुने दुर्घटना, हृदयाघात एवम् अन्य प्राकृतिक कारणले हुने मृत्यु र आत्महत्या नेपाली कामदारहरूले वैदेशिक रोजागरीमा ज्यान गुमाउने प्रमुख कारण रहेको अधिकारीहरू बताउँछन्।

सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबीलीटीका अनुसन्धान संयोजक खरेल नेपाली श्रमिक जाने देशमा मृत्युदर घटाउने विषय सरकारको प्राथमिकतामा नपरेको ठान्छन्।

उनी भन्छन्, "गन्तव्य देशले जे भनेको छ यहाँ क्षतिपूर्ति दिँदा पनि त्यसैलाई मृत्युको कारण भन्ने गरिन्छ। गन्तव्य मुलुकहरूले केही सुधार गरे पनि जति गर्नुपर्ने त्यो भएको छैन।"

"उदाहरणका लागि आत्महत्यालाई मृत्युको एउटा प्रमुख कारण भनिए पनि श्रमिक पठाउने देश, गन्तव्य मुलुक र रोजगारदाता कम्पनीबाट मानसिक स्वास्थ्यमा सुधार ल्याउन कार्यक्रमहरू गरेजस्तो मलाई लाग्दैन।"

सम्बन्धित सामग्री