चिनियाँ लोककथाको उदाहरण दिँदै ओलीले भने- 'सबै प्रकरणको निष्पक्ष छानबिन हुन्छ'

  • 15 फेब्रुअरी 2020
प्रधानमन्त्री ओली तस्वीर कपीराइट RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा चिनियाँ लोककथा र एउटा गीतको स्मरण गर्दै ललिता निवास, सुन तस्करी, वाइडबडी, नेपाल ट्रस्ट्रलगायतका प्रकरणहरूको निष्पक्ष छानबिन हुने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको झण्डै दुई तिहाईको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा संसद्‌लाई सम्बोधन गर्दै ओलीले त्यस्तो धारणा राखेका हुन्।

उनले भने, "म स्पष्ट पार्न चाहन्छु सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही छैन र हुँदैन। आग्रह र पूर्वाग्रह बेगर चर्चामा ल्याइएका वा चर्चामा रहेका सुन तस्करी, वाइडबडी, न्यारोबडीलगायतका विभिन्न प्रकरणहरूको निष्पक्ष छानबिन हुन्छ। म आश्वस्त पार्न चाहन्छु।"

उनले उक्त सम्बोधनमा सरकारले गरेका विभिन्न उपलब्धिहरूको फेहरिस्त सुनाएका थिए।

त्यसक्रममा विरोधीहरूप्रति आलोचनात्मक शब्दहरू खर्चेका उनले अहिलेको सरकारले "भद्रगोल स्थिति र प्रणालीविहिन अवस्थामा रहेको मुलुकलाई ट्रयाकमा ल्याउन खोजेको" रूपमा अर्थ्याउँदै सबैलाई संयमित हुन आग्रह गरे।

चिनियाँ लोककथा

ललिता निवास प्रकरणलाई जोडेर उनले चिनियाँ लोककथा सुनाएका थिए।

उनले सुनाएको कथा अनुसार चीनमा रहेका एकजना युवाले हरेक दिन ड्र्यागनको भक्ति गर्ने गर्थे।

उनले जताततै ड्र्यागनको तस्बिरहरू बनाएर राखेका थिए। एकदिन उनको भक्तिभावले प्रसन्न भएर ड्र्यागन उनी समक्ष वरदान दिन उपस्थित भयो।

तर त्यसबाट उक्त युवा डराएर भागाभाग भयो।

उनले ललिता निवास प्रकणरलाई जोड्दै भने "… आरोपितहरू विरुद्ध जब मुद्दा दायर भयो, देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्र्यागनप्रेमी युवाको जस्तै भयो। एउटा गीत सम्झन्छु म, 'देखाउनेले दाग देखायो किन रुवावासी' भन्ने एउटा गीत।"

प्रगतिको फेहरिस्त

संसद्‌लाई सम्बोधन गर्दै ओलीले दुई वर्षमा सरकारले गरेका वभिन्न कामहरूको फेहरिस्त प्रस्तुत गरे।

तस्वीर कपीराइट RSS

सम्बोधनको सुरुमै उनले सरकारले ७ सय ३१ दिन पूरा गर्नु नै एउटा उपलब्धि भएको बताएका थिए।

उनले विगत दुई वर्षमा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, विकास, न्याय, शान्ति सुरक्षालगायतका सबै क्षेत्रमा प्रगति गरेको विवरण प्रस्तुत गरेका थिए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
अमेरिकी सहयोग बारेको सम्झौता एमसीसीमा विवाद किन

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण हुने प्रसारण लाइन राष्ट्रिय गौरवको आयोजना बन्ने भन्दै उनले अमेरिकी सरकारको ५५ अर्ब र नेपालको १४ अर्बको उक्त परियोजना पाँच वर्षभित्र आयोजना पूरा हुने जनाए।

सरकार बनेपछि विगत दुई वर्षमा कसैले चिसोले ज्यान गुमाउनु नपरेको सन्दर्भलाई पनि सरकारको उपलब्धिको रूपमा प्रस्तुत गरे।

देशका मुख्य मुद्दामा सांसदहरूलाई यस्तो जवाफ

सीमा विवादबारे उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालको भूभाग आफूहरूले नछाड्ने बताए।

उनले भने: "काली नदीको मुहान र कालापानी क्षेत्रबारे वार्ताको माध्यमबाट समस्या समाधान गरिनेछ। भू-भाग नै फिर्ता ल्याउने तयारीमा छौँ, नक्साको कुरा त एकै छिनमा छापिन्छ।"

उनले संविधान संसोधन हुनसक्ने कुरालाई समेत अस्वीकार नगरे पनि 'संसोधन आवश्यक छ भन्दैमा संविधान स्वीकार्दिन भन्नु नाजायक कुरा भएको' बताए।

आफूले देश समृद्ध भइसक्यो नभनेको ओलीले बताए।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
राजेश्वर ज्ञवाली र गगन थापाबीच

यति होल्डिङ्गसँग सरकार सती गएको भनेर आलोचना गर्दै प्रश्नहरू सोधिएको पृष्ठभूमिमा उनले सरकार उद्योगी, व्यापारीहरूको विरूद्धमा नभएको स्पष्ट पार्न आवश्यक रहेको बताए।

"यति होल्डिङ्सलाई सरकारले अहिले कानुनसम्मत, उचित एवम् स्वतन्त्र ढङ्गले मूल्याङ्कन गराएर [लीजमा] दिएको छ।"

अवधी सकिएपछि मात्र लिजमा दिँदा विकास अवरूद्ध हुन सक्ने भन्दै केही वर्ष अगावै नविकरण गरिएको उनले बताए।

उनले विपक्षी दललाई सङ्केत गर्दै त्यसबारे विगतमा गरिएका निर्णयहरू समेत हेर्न आग्रह गरे।

अमेरिकी सहायताको एमसीसीबारे बहस र छलफल हुँदै गर्ने भए पनि सभामुखले निर्णयार्थ पेस गर्नेबित्तिकै पारित हुने ओलीको संक्षिप्त जवाफ थियो।

निजी दूरसञ्चार कम्पनी एनसेल प्रकरणबारे सरकारले अदालतको आदेशहरू पालना गरिरहेको भन्दै विस्तृत स्पष्टिकरण दिएनन्।

विगत एक दशकमा ९ प्रतिसतले मूल्यवृद्धि हुने गरेकोमा अहिले ६ प्रतिसतमा झरेको उनको भनाइ थियो।

ओलीले संसद्‌मा व्यक्त गरेका केही मुख्य कुराहरू

  • लामो समयसम्म सात/आठ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको आयु २४ महिना पार हुनुलाई पनि एउटा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अवस्था आउँदो रहेछ।
  • दोस्रो वर्षलाई सरकारले विकासको आरम्भ वर्षका रूपमा लिएको छ।
  • विखण्डनको माग लिएर आन्दोलनरत समेत मूलधारमा आएकाले संविधानको स्वीकार्यतामा कुनै समस्या छैन।
  • तोकिएको समय सीमाभित्र कानुन निर्माणसँगै मौलिक हक कार्यान्वयनमा आएका छन्।
  • नेपाल अहिले उच्च आर्थिक वृद्धिदर हासिल गरिरेहका विश्वका १० प्रमुख मुलुकहरूको पङ्क्तिमा समावेश भएको छ।
  • लोकतन्त्रप्रति आफ्नो र सरकारको पूर्ण प्रतिबद्धता रहेको छ। लोकतन्त्र नै सिध्याउन लाग्यो भनेर आलोचना गर्नेहरूले पूर्वाग्रही भएर लगाएको आलोचना हो।
  • श्रम बजारका समस्याहरू समाधान भएका छन्। रोजगारी बढेको छ।
  • ब्याङ्किङ, शिक्षा, स्वास्थ्यको पहुँच बढेको छ।
  • तुइन विस्थापित भएको छ। तुइनको संख्या अब मुलुकभर डेढ दर्जन पनि बाँकी छैन।
  • विदेशी लगानी र व्यापार विविधिकरणमा वृद्धि भएको छ।
  • यो सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भइरहेको छ।
  • लोडसेडिङ अन्त्य भएको छ। विद्युत उत्पादन बढेको छ र केही वर्षमै नेपालको विद्युत निर्यात हुनेछ।
  • राष्ट्रिय सभा निर्वाचनमा पनि नेकपालाई जनताले साथ दिए। त्यसैले सरकारको सफलतालाई देखाउँछ।
  • देश विद्युतीय सुशासनमा गएको छ। सबै जिल्लामा फोरजी सेवा पुगेको छ।
  • भूकम्प पछिको पुनर्निर्माणमा भएको सफलता अङ्क पनि हो अनुभूति पनि हो।
  • जाँडोमा कठाङ्ग्रिएर कोही पनि मर्नुपर्ने अवस्था अब छैन।
  • नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश भएको छ।
  • सामाजिक सुरक्षाको दायरा बढेको छ।
  • भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त भएको छ। कसैलाई पनि पूर्वाग्राही ढङ्गले कारबाही अघि बढाइएको छैन।
  • मिचिएका सरकारी तथा सार्वजनिक जग्गाहरू फिर्ता ल्याउन थालिएको छ। त्यसमा संलग्नहरूलाई कारबाही सुरु भएको छ।
  • मेरो सरकारले थालेका कामहरूमा र राष्ट्रिय अभियानमा पूर्वाग्रह राखेर टिप्पणी गर्ने गरिएको छ।
  • कतिलाई त यो सरकार 'अन वान्टेड गेस्ट' अर्थात् 'चाहना नगरिएको पाहुना' जस्तो बनेको छ।
  • रेलमार्ग, सुरुङमार्ग र नेपालले आफ्नै पानी जहाज चलाउनेजस्ता कुरा गर्न समय लाग्छ। तर यी सबैको थालनी भएको छ।
  • राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुँदैछन्।
  • कूटनीतिक सम्बन्ध विस्तार र सुधार भएको छ।
  • सीमा विवाद समाधानमा सरकार लागिपरेको छ।
  • शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ। सङ्क्रमणकालिन न्यायको काम सकिनै लागेको छ।
  • सरकारले बिरुवा रोप्ने काम गरेको छ। कतै उम्रिदै छन्, कतै टुसाउँदै छन्, कतै बिरुवा हुर्किंदै पनि छन्। सबै एकैचोटि त हुँदैन। भनाइ नै छ नि, 'रोम वाज नट बिल्ट इन वान् ड' अर्थात् एकै दिनमा त रोम पनि बनेको थिएन।