'ठट्यौली गरेर प्रधानमन्त्री पन्छिन खोजेको' काङ्ग्रेसको आरोप

  • 15 फेब्रुअरी 2020
नेपाली काङ्ग्रेस तस्वीर कपीराइट facebook/Nepali Congress

प्रधानमन्त्री केपी ओलीले दुई वर्षको उपलब्धिमा कुनै ठोस कामले पूर्णता पाएको देखाउन नसकेकाले नेपाली जनताका लागि थप निराशाजनक चित्र छाडेको नेपाली काङ्ग्रेसका नेताहरूले बीबीसीलाई बताएका छन्।

निर्वाचन घोषणापत्रमा दुई वर्षलाई आफ्ना सफलताहरू देखाउने एउटा समय मानिएकोमा प्रधानमन्त्रीले त्यसको कुनै छनक मन्तव्यमा दिन नसकेको प्रमुख प्रतिपक्षी दलकी सचेतक पुष्पा भुसालले बताइन्।

उनले भनिन्: "कालापानी, एमसीसीदेखि मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिलाको सङ्ख्या पुर्‍याउने कुराहरू जुन महत्त्वका साथ उठइएका थिए त्यसलाई प्रधानमन्त्रीले निकै हलुका जवाफ दिएर पन्छिन खोज्नुभयो।"

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको झण्डै दुई तिहाईको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिवार संसद्‌लाई सम्बोधन गर्दै ओलीले विभिन्न उपलब्धिहरूको फेहरिस्त सुनाएका थिए।

'हलुका र हचुवा'

यति समूहलाई सरकारी जग्गा भाडामा दिने प्रकरण प्रधानमन्त्रीको मन्तव्य र त्यसपछिका प्रश्नोत्तरका बेला उठेका थिए।

तर त्यसलाई सरकारले 'कानुनसम्मत, उचित एवम् स्वतन्त्र ढङ्गले मूल्याङ्कन गराएर भाडामा दिइएको' ओलीले बताएका थिए।

अवधि सकिएपछि मात्र भाडामा दिँदा विकास अवरूद्ध हुन सक्ने भन्दै केही वर्षअगावै नवीकरण गरिएको उनको भनाइ थियो।

भुसालले भनिन्, "नेपाल ट्रस्टको कानुन बनाउँदा सरकारी सम्पत्तिलाई मुलुकको आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्छ भन्ने मान्यता थियो। तर प्रधानमन्त्रीले त्यसलाई निकै हलुका र हचुवा पारामा सम्बोधन गर्नुभयो।"

"सरकारले जसरी प्रक्रिया ढाकछोप गरेर एवम् नेपाल ट्रष्ट ऐनको दुरूपयोग गरेर सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दियो। प्रधानमन्त्रीबाट जनताले त्यस्तो अपेक्षा गरेका थिएनन्।"

विपक्षीले देखेको सरकारका कमजोरी

काङ्ग्रेसकै अर्का सांसद मीनबहादुर विश्वकर्माले प्रधानमन्त्रीको जवाफ 'जवाफ मात्र दिनका लागि गरिएको ठट्टा र रमाइलो'को रूपमा आएको बताए।

उनले भने, "वहाँका सबै प्रस्तुतिमा सपना छ तर सपनाभित्र योजना छैन। योजना कार्यान्वयनको क्षेत्र थुप्रैतिर अलपत्र अवस्थामा छ। वहाँका थुप्रै तथ्याङ्कहरू आफैँ पनि भ्रमपूर्ण अवस्थामा देखिन्छन्।"

श्रमबजार, आर्थिक वृद्धि, सुशासनजस्ता क्षेत्रमा प्रधानमन्त्रीले भ्रम सिर्जना गर्ने विवरणहरू प्रस्तुत गरेको बीबीसीसँग कुरा गरेका काङ्ग्रेस नेताहरूको भनाइ थियो।

तस्वीर कपीराइट RSS

विकास निर्माणका कतिपय कामहरूमा विदेशी अनुदान आउन नसक्दा थुप्रै परियोजनाहरू अगाडि बढ्न नसकेको प्रधानमन्त्रीले बताए पनि त्यससँग मेल नखाने गरी बेरोजगारी घटेको तथ्याङ्क दिएको नेतृ भुसालले आरोप लगाइन्।

जनताको दैनिक महँगीसँग जोडिने विषयलाई तथ्याङ्कमा घटेको देखाएर मात्र पन्छिनुलाई सरकार त्यसबारे गम्भीर नभएको रूपमा बुझ्नुपर्ने उनीहरूले बताए।

सचेतक भुसालले जनताको पेट भर्न कठिन भइरहेको महँगीलाई कम गर्ने उपाय र त्यसतर्फ सरकारले गरेका प्रयासहरूतर्फ नगएर सरकारले दम्भ देखाएको बताइन्।

दुई वर्षमा समेत जनताले दुई तिहाईको सरकारबाट के अनुभूति गरे भन्ने स्पष्टता प्रधानमन्त्रीको मन्तव्यमा नहुनु नै त्यसको असफलता रहेको उनको भनाइ थियो।

राष्ट्रिय मुद्दामा 'पक्षपात'

राष्ट्रिय सहमति कायम गर्दै देशव्यापी सुधारका कार्यक्रम अगाडि लैजानुपर्नेमा त्यसमा समेत पक्षपात र पूर्वाग्रह देखिएको प्रतिपक्षी काङ्ग्रेसका नेताहरूले बताए।

अमेरिकी अनुदानको एमसीसी परियोजना संसद्‌मा सभामुखले निर्णयार्थ पेस गर्ने बित्तिकै पारित हुने बताइए पनि त्यसमाथि उनकै दलभित्र रहेका मतभेद र विवादका कुरा प्रधानमन्त्रीले लुकाएको प्रतिपक्षीको आरोप छ।

तस्वीर कपीराइट parliament of nepal

नेकपाभित्रै केही साथीहरूलाई अध्ययनका लागि समय दिइएको मात्र भन्दै सभामुखले पेस गर्नसाथ पारित हुने भन्दै आफ्नै सहकर्मीहरूलाई 'धम्कीको भाषा' प्रयोग गरेको नेता विश्वकर्माले बताए।

संविधान संशोधनका विषयमा ओलीको मन्तव्यलाई सङ्केत गर्दै विश्वकर्माले थपे, "मधेसी दललाई समेत वहाँले कपटपूर्ण ढङ्गले जवाफ दिनुभयो।"

ओलीले संविधान संशोधन हुनसक्ने कुरालाई समेत अस्वीकार नगरे पनि 'संशोधन आवश्यक छ भन्दैमा संविधान स्वीकार्दिन भन्नु नाजायक कुरा भएको' बताएका थिए।

कालापानीका विषयमा समेत नेपालले आफ्नो नक्सा सार्वजनिक गर्नेबारे अनिर्णित हुने जवाफ दिएको काङ्ग्रेसको आरोप छ।