दमक नगरपालिका: सबै सरकारी कार्यालयमा साङ्केतिक भाषाका दोभाषे

  • 19 फेब्रुअरी 2020
साङ्केतिक भाषामा कुरा गर्दै कर्मचारी

झापाको दमक नगरपालिका कार्यालयमा उपप्रमुख गीता अधिकारी न्यायिक समितिमा उजुरी दिन आएका एकजना सेवाग्राहीलाई सम्झाउने प्रयास गरिरहेकी थिइन्।

तर उनले बोलेको ती व्यक्तिले सुनिरहेका थिएनन्। उनी त छेउमै रहेकी कार्यालय सहयोगी रञ्जु तिवारीलाई हेर्दै टाउको हल्लाइरहेका थिए।

नगरपालिकाकी कार्यालय सहयोगी तिवारीले हातको इशारामा उपप्रमुखले बोलेको कुरा ती व्यक्तिलाई साङ्केतिक भाषामा बुझाइरहेकी थिइन्।

दमक नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सरकारी कार्यालयमा साङ्केतिक भाषा सिकाएर कर्मचारी खटाएको जनाएको छ।

सुन्न तथा बोल्न नसक्ने नागरिकहरूका लागि भाषाका 'सेतु' बनाउन प्रत्येक कार्यालयका कर्मचारीहरूलाई डेढ महिनाको साङ्केतिक भाषाको तालिम दिइएको थियो।

उनीहरूले गर्दा बोल्न र सुन्नमा समस्या भएका नागरिकहरूलाई सरकारी कार्यालयमा सेवा प्राप्त गर्न सहज भएको बताइएको छ।

पुरानै कर्मचारी, नयाँ काम

दमक नगरपालिकाकी उपप्रमुख अधिकारीका अनुसार नयाँ कर्मचारी भर्ना गर्दा अन्य सरकारी कार्यालय तथा दमक नगरपालिकालाई ठूलो आर्थिक भार पर्ने भएकाले कार्यरत कर्मचारीलाई नै साङ्केतिक भाषाको तालिम दिइएको हो।

अहिले नगरपालिका कार्यालयमा दुईजना तथा इलाका प्रहरी, ट्राफिक प्रहरी, इलाका प्रशासन र नगरपालिकाका सबै वडा कार्यालयहरूमा साङ्केतिक भाषा बुझ्ने एक-एकजना कर्मचारी छन्।

उपप्रमुख अधिकारी भन्छिन्, "तालिम शीर्षकमा धेरै बजेट हुन्छ। त्यो पैसा अनुत्पादक क्षेत्रमा खर्च गर्नुभन्दा साङ्केतिक भाषाको तालिममा सदुपयोग गर्‍यौँ।"

अस्पतालहरूमा समेत साङ्केतिक भाषा जान्ने कर्मचारीको व्यवस्था गरिएको नगरपालिका कार्यालयले जनाएको छ।

एउटै कोठाबाट सबै सेवा

नगरपालिका कार्यालयको भुइँतलामै अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै कोठाको व्यवस्था गरिएको उपप्रमुख अधिकारीले बताइन्।

सुन्न र बोल्न नसक्ने मानिस कार्यालयमा पुगेपछि एउटै कोठामा सबै सेवा प्राप्त गर्न सक्छन्।

उनीहरूलाई आवश्यक सेवा दिन निश्चित फाँटका कर्मचारी साङ्केतिक भाषा जान्ने कर्मचारीका साथ त्यहीँ पुग्छन्।

अधिकारीले भनिन्, "अब उहाँहरूका कुरा बुझ्न हामीलाई समस्या छैन। तीन तलामाथि रहेको हाम्रो कोठासम्म उहाँहरू पुग्दै पर्दैन।"

'झन्झट होइन, सेवाभाव'

तर दमक नगरपालिका कार्यालयमा दोभाषेको काम गर्ने तिवारीलाई झन्झट थपिएको लागेको छैन बरु 'ठूलो सेवाको काम गरेको' अनुभव भइरहेको छ।

तिवारी भन्छिन्, "मैले तालिम लिएर आठ जनालाई सहयोग गरेँ, एकदमै खुशी छु। उहाँहरूले सरल तरिकाले सेवा पाउनु भयो।"

दमक अपाङ्ग सहयोग समितिका सचिव मदन बोहोराका अनुसार कर्मचारीलाई तालिम दिइएपछि सुन्न र बोल्न नसक्नेहरूले सरकारी कार्यालयमा काम गराउन सजिलो महसुस गर्न थालेका छन्।

उनले भने, "अपाङ्गता भएका मानिसहरूका लागि पनि सरकार छ भन्ने अनुभव भएको छ।"

दमक नगरपालिका वडा नम्बर ८ की राम्ररी बोल्न नसक्ने चम्पा न्यौपानेले 'सरकारी कार्यालयमा आफूहरूको भाषा बुझ्ने मान्छे देख्दा' खुशी लागेको बताइन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
टिकटकले दिएको आवाज

सम्बन्धित सामग्री