कोरोनाभाइरस: सङ्क्रमण फैलिएको बेला पनि चिनियाँ पर्यटकका लागि थाईल्यान्डको ढोका खुला
- वाशिरानोन थोङ्थेप र वासवात लुखाराङ
- बीबीसी न्यूज थाई

तस्बिर स्रोत, Getty Images
पतायामा पर्यटक कुरिरहेका एक कर्मचारी
थाईल्यान्डमा वर्षभरि नै पर्यटकहरूको चहलपहल हुन्छ। अझ नोभेम्बरको अन्त्यदेखि एप्रिलको आरम्भसम्मको समय पर्यटनका लागि विशेष मानिन्छ। त्यो अवधिमा पर्यटकहरू सुक्खा मौसम र ठिक्कको तापक्रमबाट आकर्षित भई थाईल्यान्डका धार्मिक स्थल, समुद्री तट तथा रिजोर्टतिर घुम्न जान्छन्।
तर हिजोआज थाईल्यान्डका प्रमुख गन्तव्य स्थलहरूको कथा फरक छ। चर्चित र कुनै बेला निकै व्यस्त रहने गरेका ठाउँहरू शान्त र निर्जीव देखिन्छन्।
ब्याङ्कक, पताया, फुकेट र चियाङ माई सहरमा कुनै बेला अभिन्न मानिने चिनियाँ पर्यटकहरू हिजोआज देखिँदैनन्।
पछिल्लो समय थाईल्यान्डको पर्यटन उद्योग मात्रै नभई त्यहाँको जनस्वास्थ्य पनि नराम्ररी प्रभावित भएको छ।
चिनियाँ मुख्य भूभागबाहिर कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकको सूचीमा थाईल्यान्ड पाँचौँ स्थानमा छ।
यो रिपोर्ट तयार पार्ने बेलासम्म त्यहाँ ३५ जना व्यक्तिमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।
गत वर्ष तीन करोड ९७ लाख पर्यटकले थाईल्यान्डको भ्रमण गरेका थिए जसमध्ये चिनियाँ पर्यटकको सङ्ख्या २७ प्रतिशत थियो।
अहिले फूल बेच्ने मानिसहरूदेखि पर्यटक पथप्रदर्शक, सडकछेउमा व्यापार गर्ने मानिसहरू र होटल सञ्चालकसम्म सबैले आआफ्नो व्यापार घटेको गुनासो गरिरहेका छन्।
नराम्ररी प्रभावित
तर नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन चीन सरकारले कडा कदम चालेका कारण लाखौँ चिनियाँहरू विदेश भ्रमणमा जानबाट रोकिएका छन्।
तस्बिर स्रोत, EPA
चिनियाँ पर्यटकमाथि एकदमै भर पर्ने थाईल्यान्डको पर्यटन उद्योगलाई अहिले ठूलो झट्का लागेको छ।
फिच सलूशन्सका अनुसार थाईल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन उद्योगको मात्रै १३ देखि १४ प्रतिशतसम्म योगदान छ।
केही वर्षयता युरोपेली पर्यटकहरूको सङ्ख्या घटिरहँदा थाईल्यान्ड घुम्ने चिनियाँ पर्यटकको सङ्ख्यामा चाहिँ उल्लेख्य वृद्धि भइरहेको छ।
यसै कारणले होला अरू छिमेकी देशहरूले चिनियाँ पर्यटकमाथि प्रतिबन्ध लगाइरहँदा थाईल्यान्ड ठिक त्यसको उल्टो दिशामा गएको छ।
स्वागत सन्देश
सरकारी निकाय तथा स्थानीय व्यापारिक क्षेत्रहरूले चिनियाँ पर्यटकहरूका लागि आफूहरूका ढोका खुलै रहेको सन्देश पठाइरहेका छन्।
नयाँ कोरोनाभाइरसको प्रकोप देखिएपछि थाईल्यान्डको पर्यटन प्राधिकरण र ब्याङ्कक महानगरीय प्रशासनजस्ता सरकारी निकायले चिनियाँ नागरिकहरूप्रति नैतिक समर्थन रहेको भन्दै भिडिओ बनाएका छन्।
थाईल्यान्डकै सबैभन्दा ठूलो ड्यूटी-फ्री विक्रेता तथा लेस्टर सिटी फुटबल क्लबको मालिक किङ पावरले चिनियाँ नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नै भिडिओ बनाएको छ।
त्यो भिडिओमा लेस्टर सिटीका खेलाडीसहित पर्यटन व्यावसायीहरूले चिनियाँ भाषाका शब्दावलीहरूसहित चीनको झण्डा फहराउँदै गरेको देखिन्छ।
त्यसको सन्देश चाहिँ एउटा राम्रो व्यवहार दर्शाउनु अथवा ऐक्यबद्धता जनाउनुभन्दा पनि बढी रहेको छ।
तस्बिर स्रोत, Wasawat Lukharan/ BBC
एरावन धार्मिक स्लथमा नृत्य गर्नेहरू पहिलाजस्तो व्यस्त छैनन्
थाईल्यान्ड चिनियाँ पर्यटनमाथि निकै नै निर्भर छ र नयाँ कोरोनाभाइरसको सङ्क्रमण तत्काल नियन्त्रणमा नआए उसको अर्थतन्त्र नराम्ररी प्रभावित हुन सक्छ।
असोसीएशन अफ थाई ट्राभल एजन्ट्सका अनुसार नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण सन् २०२० को पहिलो त्रैमासिकमा थाईल्यान्डलाई १.६ अर्ब डलर बराबरको घाटा हुन सक्छ।
अझ सिङ्गो वर्षमा ९.६ अर्ब डलर बराबरको घाटा हुन सक्ने प्रक्षेपण गरिएको छ।
'हिरोबाट जिरो'
"हाम्रा लागि चिनियाँ पर्यटकहरू हिरो (नायक) थिए, तर उनीहरूको सङ्ख्या अहिले जिरो (शून्य) मा झरेको छ," थाई-चिनियाँ टुरिजम अलाईअन्स असोसीएशनका अध्यक्ष रोनारोङ चेविन्सिरिआम्नुआई भन्छन्।
उनी थप्छन्, "चिनियाँ नागरिकहरूलाई विदेश भ्रमणमा चीन सरकारले लगाएको प्रतिबन्ध कहिले हट्छ भन्ने कुरा हामीलाई थाहा पनि छैन, तर यति कुरा हामीलाई थाहा छ त्यसले हाम्रो व्यापारमा असर पारेको छ र कामदार कटौतीको अवस्था पनि आउन सक्छ।"
व्यावसायिक पर्यटक पथप्रदर्शकको स्थानीय सङ्गठनका एक प्रतिनिधि चाहिँ रोजगारीमा असर पर्न थालिसकेको दाबी गर्छन्।
आफ्नो नाम खुलाउन नचाहने उनका अनुसार चिनियाँ पर्यटकका लागि काम गर्ने २५ हजार पथप्रदर्शकहरूसँग अहिले चिनियाँ पर्यटक नै छैनन्।
बलौटे तट, खाली कोठा
समुद्री तटहरूका लागि परिचित पतायास्थित थाईल्यान्ड्स ईस्टर्न गल्फ कुनै बेला चिनियाँ नागरिकका लागि "तटीय खेलकुद मैदान" का रूपमा लोकप्रिय थियो।
तर गत हप्ता मात्रै बीबीसी थाईलाई थाहा भएअनुसार ३०० वटा बेड रहेको एउटा होटलका जम्मा चारवटा कोठामा पर्यटक थिए।
अनि तीमध्ये कोही पनि चिनियाँ नागरिक थिएनन्।
तस्बिर स्रोत, Getty Images
कुनै बेला चिनियाँ पर्यटकले भरिभराउ रहने पतायामा 'स्पीडबोट'हरू रित्ता देखिन्छन्
ब्याङ्ककस्थित एक हिन्दू धार्मिक स्थल एरावन चिनियाँ पर्यटकहरू पुग्नैपर्ने एउटा गन्तव्यमा पर्छ।
त्यहाँ माला बेच्दै आएकी एक महिलाले नयाँ कोरोनाभाइरस देखिएयता फूल किन्ने विदेशी भक्तजनहरूको सङ्ख्या आधाले घटेको बीबीसी थाईलाई बताइन्।
उनले भनिन्, "नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिनुअघि मैले दैनिक ३२ डलरको व्यापार गर्थेँ, तर अहिले १६ डलर मात्रै कमाउने गरेकी छु।"
एक्लो नृत्य
त्यो धार्मिक स्थलमा परम्परागत नृत्य गर्ने दुई महिलाले फूल बेच्ने महिलाले जस्तै अनुभव सुनाए।
"बिल्कुलै मेरो आम्दानी ५० देखि ६० प्रतिशतले घटेको छ। मसँग अहिलेसम्म वैकल्पिक योजना छैन। आशा गरौँ अबका केही महिनापछि सब ठिक होला। नभए मेरो बचत सकिन थाल्छ," सुवाना थोङ्पिवले भनिन्।
"उदाहरणका लागि शुक्रवार बिहानको सत्रमा नृत्य गर्नेले २०० देखि २५० वटासम्म नृत्य गर्नुपर्ने हुन्छ। तर आजको शुक्रवार दिउँसो सवा दुई बजिसक्दा मैले जम्मा १२० वटा नृत्य गरेकी छु,"उनले थपिन्।
तस्बिर स्रोत, AFP
ब्याङ्ककस्थित वात आरुन मन्दिर खाली देखिनु असामान्य हो
सुवानाकी सहकर्मी थानातचानोक थुसारानोनका अनुसार पर्यटकको सङ्ख्या आधाले घटेको छ।
"मैले अर्को जागिर पनि खोज्नुपर्ने र खर्चमा कटौती गर्नुपर्ने हुन सक्छ," उनले भनिन्।
त्यहाँदेखि पाँच किलोमिटर टाढा पर्ने एउटा रात्रिकालीन बजारमा सीफूड बेच्ने एक महिलाले चीनमा त्यहाँका नागरिकको विदेश भ्रमणमा लगाइएको प्रतिबन्धका कारण आफ्ना ग्राहकको सङ्ख्यामा ७० प्रतिशतले कमी आएको बताइन्।
ग्राहकको सङ्ख्यामा त्यति ठूलो कमी आएपछि कामदार कटौती समेत गरिसकेको उनले बताइन्।
प्रतिबन्ध छैन
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट बढ्दो दबावका बीच गत महिना थाईल्यान्डका जनस्वास्थ्यमन्त्री अनुतिन चार्न्भिराकुलले चिनियाँ पर्यटकहरूको आगमनसम्बन्धी विद्यमान भिसा प्रणाली तत्कालका लागि निलम्बन गर्न प्रस्ताव गरे।
तर सोही दिन थाई सरकारले उनको प्रस्तावलाई अस्वीकार गरिदियो।
मन्त्री आफैँले पनि तत्कालै मनस्थिति परिवर्तन गरे जस्तो देखियो। त्यसको मात्र एक हप्तापछि उनले चिनियाँ पर्यटकहरूमाथि प्रतिबन्ध लगाएर सङ्क्रमण नियन्त्रणमा सरकारलाई सहयोग नहुने बताए।
मेकोङको पीडा
जाङ नुएन, बीबीसी भियतनाम सम्पादक
चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको असर मेकोङ नदी क्षेत्रमा पर्ने थाईल्यान्डको पर्यटन उद्योगलाई मात्रै परेको छैन।
भियतनामको पर्यटन उद्योगले पनि ठूलो स्तरमा क्षतिको सामना गरिरहेको छ।
नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिनुअघि गत वर्ष भियतनाम र चीनबीच हुने व्यापार अनुमानित १०६ अर्ब डलरजति पुगेको थियो।
र, सन् २०१९ मा १५.५ करोड पर्यटकले भियतनामको भ्रमण गरेकोमा त्यसमध्ये करिब ३० प्रतिशत चिनियाँ नागरिक थिए।
तस्बिर स्रोत, AFP
दानाङनजिक पर्ने बा ना हिल्सस्थित गोल्डेन ब्रिज चिनियाँ पर्यटकहरूमाझ लोकप्रिय मानिन्छ
हनोईस्थित जिङ न्यूज पोर्टलका अनुसार चिनियाँ नयाँ वर्ष सुरु हुनुअघि एक महिनामा भियतनाम भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या ७२.६ प्रतिशतले बढेको थियो।
तर नयाँ कोरोनाभाइरसको सङ्क्रमणले त्यो क्रमलाई रोकिदिएको छ। हुन त चिनियाँ नागरिकको भियतनाम प्रवेशमाथि त्यस्तो कुनै प्रतिबन्ध चाहिँ लगाइएको छैन।
चिनियाँ सरकारले चाहिँ आफ्नो देशबाट भियतनाम हुने कैयौँ हवाई उडान रोकिदिएको छ।
भियतनामको राष्ट्रिय ध्वजावाहकले पनि चिनियाँ प्रमुख गन्तव्य सहरहरूको हकमा त्यस्तै कदम चालेको छ।
'महान् मित्रता'
तस्बिर स्रोत, EPA
संयुक्त राष्ट्रसङ्घको विश्व पर्यटन सङ्ठनका अनुसार सन् २०१८ मा चिनियाँ पर्यटकहरूले विदेशमा २७७.३ अर्ब डलर खर्च गरेका थिए
थाई-चिनियाँ टुरिजम अलाईअन्स असोसीएशनका अध्यक्ष रोनारोङ चेविन्सिरिआम्नुआई सरकारको त्यो निर्णयको प्रतिरक्षा गर्छन्।
छिमेकी देशहरूले चीनसँग निकट सम्बन्ध कायम राख्ने र निकटतालाई थप सुदृढ बनाउने कदम भएको उनको तर्क छ।
"चिनियाँहरूका लागि हाम्रो सिमाना खुलै राखेर हामीले हाम्रो मित्रता महान् रहेको देखाएका छौँ," उनी थप्छन्।
तर त्यो निर्णय सर्वसम्मत चाहिँ छैन। थामासात विश्वविद्यालयको राजनीतिशास्त्र विभागका सहप्राध्यापक प्रजाक कोङ्किराती चीनको मामिलामा स्वास्थ्य समस्यासँग सम्झौता गरिएको भन्दै सरकारी निर्णयको आलोचना गर्छन्।
"जनस्वास्थ्यका कुरा र अन्तर्राष्ट्रिय सम्बन्ध फरक कुरा हुन्। राम्रो सम्बन्धका लागि मानवीय सहायता लगायत अनेकौँ उपाय छन्," उनी भन्छन्।
"जनस्वास्थ्यको विषयलाई पहिलो प्राथमिकता दिनुपर्छ," सहप्राध्यापक कोङ्किराती जोड दिन्छन्।