कोरोनाभाइरस: चीनबाट उद्धार गरिएका यात्रु चढेका गाडीहरूमा युक्रेनमा भयो आक्रमण

  • 21 फेब्रुअरी 2020
युक्रेन तस्वीर कपीराइट Reuters

युक्रेनको एउटा सहरमा प्रदर्शनकारीहरूले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित चीनबाट उद्धार गरिएका मानिसहरू चढेका सवारीसाधनमा आक्रमण गरेका छन्।

ती मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारन्टीनमा राख्न लगिँदै थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन्।

युक्रेनको सुरक्षा निकायका अनुसार रक्षा मन्त्रालयलाई उद्धृत गरिएको एउटा इमेलमा उद्धार गरिएका केही मानिसमा कोभिड-१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको मिथ्या दाबी गरिएको थियो।

सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको एउटा विज्ञप्तिमा उल्लेख छ।

कसको भएको थियो उद्धार?

चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो।

उनीहरूलाई छवटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका थिए।

स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको बताएका छन्।

तस्वीर कपीराइट Reuters

युक्रेनको कूटनीतिक नियोगका अनुसार तीन युक्रेनी र एक कजाकस्तानी नागरिकलाई ज्वरो आएको पाइएपछि चीनमै छोडिएको थियो।

तनाव बढेपछि प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र आन्तरिक मामिलामन्त्रीले उक्त नगरको भ्रमण गरेका थिए।

स्थानीय सञ्चारमाध्यममा प्रकाशित एउटा भिडिओमा आन्तरिक मामिलामन्त्रीले प्रदर्शनकारीहरूलाई सङ्क्रमित व्यक्तिहरूलाई नल्याइएको भनेर आश्वस्त बनाउन खोजेको देखिन्छ।

तस्वीर कपीराइट Reuters

राष्ट्रपति जेलेन्स्कीले देशवासीलाई करुणा देखाउन र विरोधप्रदर्शन नगर्न आग्रह गरेका छन्।

"अधिकांश यात्री ३० वर्षमुनिका छन्। हामी धेरैका लागि उनीहरू सानै छन्," उनले विज्ञप्तिमा भनेका छन्।

"तर एउटा खतराबारे म उल्लेख गर्न चाहन्छु। हामी सबै मानव भएको र हामी सबै युक्रेनी भएको बिर्सिने खतरा। महामारी फैलिएको बेला वुहान पुगेका समेत हामी सबै।"

तस्वीर कपीराइट Reuters

अहिलेसम्म ७६,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भएको छ भने २,२४७ जनाको मृत्यु भएको छ।

अधिकांश सङ्क्रमण र मृत्युका घटना चीनमा भएका छन्।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार