कोरोनाभाइरस: चीनसँग स्पष्ट सम्बन्ध नभईकनै सङ्क्रमण फैलिँदा विश्व स्वास्थ्य सङ्गठन चिन्तित

  • 22 फेब्रुअरी 2020
बेरुत तस्वीर कपीराइट EPA

चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

कोभिड-१९ का कारण इरानमा थप दुई जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे प्रतिक्रिया दिएका हुन्। इरानमा यसअघि पनि दुई जनाको मृत्यु भएको थियो।

उनले उक्त भाइरस नियन्त्रण गर्ने अवसर "साँघुरिँदै गएको" टिप्पणी गरे।

इरानी अधिकारीहरूका अनुसार इरानका सबै सहरहरूमा उक्त भाइरस फैलिसकेको हुन सक्छ।

अहिलेसम्म चीनबाहिर कुल २६ देशमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसका कारण दक्षिण कोरियामा थप दुई जनाको मृत्यु भएको छ। त्यहाँ शनिवारसम्म सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०० नाघेको छ।

चीन र जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजबाहेक अन्यत्र दक्षिण कोरियामा कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक छ।

इटलीमा एक ७८ वर्षीय वृद्धको मृत्यु भएको शुक्रवार चिकित्सकहरूले बताएका थिए। त्यहाँ थप १६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

प्रभावित क्षेत्रहरूमा विद्यालय र कार्यालय बन्द गरिने तथा खेलकुदका गतिविधि स्थगित हुने स्वास्थ्यमन्त्रीले बताएका छन्।

चीनमा अहिलेसम्म ७६,००० जनाभन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये २,३४५ जनाको मृत्यु भइसकेको छ।

के भने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले?

डा. गेहब्रेयससले चीनबाहिर कोरोनाभाइरस सङ्क्रमण भएका मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि सङ्क्रमणको तरिका चिन्ताजनक भएको बताएका छन्।

प्रभावित क्षेत्रको यात्रा गरेको वा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएको जस्ता रोगसँग कुनै स्पष्ट सम्बन्ध नभएका बिरामीको सङ्ख्याका कारण आफूहरू चिन्तित भएको उनले बताए।

उनका अनुसार इरानमा भएका मृत्यु र सङ्क्रमणका नयाँ घटना धेरै चिन्ताका विषय हुन्।

तस्वीर कपीराइट AFP

तर उनले चीन र अन्य देशले रोग नियन्त्रण गर्न अवलम्बन गरेका उपायका कारण उक्त भाइरसलाई थप फैलिन नदिने सम्भावना भएको टिप्पणी गरे।

सम्भावित महामारीसँग सङ्घर्ष गर्न उनले देशहरूलाई थप स्रोत परिचालन गर्न आग्रह गरे।

इरानमा कस्तो छ स्थिति?

राजधानी तेहरानभन्दा दक्षिणमा अवस्थित कोम सहरमा कोभिड-१९ फैलिएको छ। उक्त सहर शिया मुस्लिमहरूको तीर्थस्थल हो।

उक्त सहरमा बिहीवार दुई र शुक्रवार दुई गरी चार जनाको मृत्यु भयो।

इरानभरि कुल १८ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

तस्वीर कपीराइट EPA

कोमबाट बेरुत फर्किएकी एक अधबैँसे महिलामा पनि कोरोनाभाइरस भएको पुष्टि भएको छ। उनी लेबननमा भेटिएकी प्रथम सङ्क्रमित व्यक्ति हुन्।

यूएई, इजेरल र इजिप्टमा पनि सङ्क्रमित मानिस भेटिएका छन्।

इरानबाट भर्खरै फर्किएकी एक महिलामा पनि भाइरसको सङक्रमण भएको क्यानडाका अधिकारीहरूले बताएका छन्। त्यहाँ अहिलेसम्म नौ जनामा भाइरस भेटिएको पुष्टि भएको छ।

दक्षिण कोरियामा के हुँदैछ?

दक्षिण कोरियाम थप १०० जनामा सङ्क्रमण भएको र दोस्रो व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्री चुङ स्ये-क्यूनले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्।

त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या २०४ पुगेको छ।

दक्षिणी सहर डाएगु र चेओङ्डोलाई 'विशेष हेरचाह क्षेत्र' घोषणा गरिएको छ।

अहिले डाएगुमा सडकहरू लगभग रित्ता देखिन्छन्।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९,००० सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्।

चेओङ्डोबाट रोग फैलिएको अधिकारीहरूको आशङ्का छ। त्यहाँ उक्त धार्मिक समूहका संस्थापकका आफन्तको अन्तिम संस्कारमा धेरै अनुयायीहरू सहभागी भएका थिए।

तस्वीर कपीराइट EPA

शुक्रवारसम्म उक्त समूहका ४०० जनाभन्दा बढी मानिसमा रोगका लक्षण देखिएको तर थप परीक्षण भइरहेको डेएगुका नगरप्रमुखले बताएका छन्।

चीन र अन्यत्रको स्थिति के छ?

चीनका कारागारमा पनि कोरोनाभाइरस फैलिएको छ। विभिन्न कारागारभित्र रहेका ५०० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

तीमध्ये वुहानस्थित महिला कारागारमा भएका २३० जना छन्।

पूर्वी प्रान्त शान्डोङ र दक्षिणपूर्वी प्रान्त जेजियाङका कारागारमा भएका कैदी पनि सङ्क्रमित भएका छन्।

तस्वीर कपीराइट Reuters

बेइजिङस्थित एउटा अस्पतालमा भर्ना भएका ३६ जनामा पनि कोरोनाभाइरस भएको पुष्टि भएको छ।

जापानको योकोहामामा १४ दिन रोकिएको एउटा पानीजहाजबाट कोरोनाभाइरस नभएको पुष्टि भएका यात्रुहरूलाई निस्किन दिइएको छ।

तर उक्त पानीजहाजबाट आएका ११ अमेरिकी नागरिकमा स्वदेश आइपुगेपछि सङक्रमण भएको पुष्टि भएको अधिकारीहरूले बताएका छन्।

डाइमन्ड प्रिन्सेस नामक उक्त क्रूज पानीजहाजबाट ३०० भन्दा बढी अमेरिकीहरू स्वदेश फर्किसकेका छन्।

त्यसैगरी १५० भन्दा बढी अस्ट्रेलियालीहरूलाई उक्त पानीजहाजबाट उद्धार गरेर डार्विन लगिएको छ। उनीहरूलाई त्यहाँ दुई हप्ता क्वारन्टीनमा राखिनेछ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
कोरोनाभाइरसबारे थाहा पाउनुपर्ने पाँच कुरा