प्रधानमन्त्रीको जन्मदिन पहिलोपटक जन्मघरमा, के-के छन् कार्यक्रम

  • 23 फेब्रुअरी 2020
प्रधानमन्त्री ओलीको घर तस्वीर कपीराइट Prakash Lamichhane

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन पुर्ख्यौली घर तेह्रथुमको आठराईमा मनाउने भएका छन्।

जन्मदिन मनाउन आइतवार उनी पाँचथर हुँदै तेह्रथुमको आठराई जाने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले बीबीसीलाई बताए।

"पाँचथरमा खानेपानी आयोजनाको उद्घाटन गरेर त्यसपछि हेलिकोप्टरबाट उहाँ जन्मघर आउने कार्यक्रम छ," भण्डारीले भने।

प्रधानमन्त्रीसँगै उनको जन्मघर पत्नी र बुवा एवम् अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई त्यता जाँदै गरेको आयोजकहरूले बताएका छन्।

तस्वीर कपीराइट Prakash Lamichhane

तयारी कहिलेबाट?

प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाका अनुसार जन्मदिनका लागि ३/४ महिना अघिदेखि नै तयारी शुरू भएको थियो।

"हामीले ३/४ महिना अघिदेखि नै उहाँको जन्मदिन मनाउने योजना अनुसार हेलिप्याड बनाउने र गाडी पार्किङका लागि ठाउँ सम्याउने काम थालेका थियौँ," कन्दङ्वाले बीबीसीलाई भने।

ओलीको घरमा केक काट्ने कार्यक्रम समेत रहेको बताइएको छ।

तस्वीर कपीराइट Prakash Lamichhane

कार्यक्रम के के छन्?

प्रधानमन्त्री ओलीले २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेको पनि कन्दौवाले बताए।

"कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि प्रहरी र सेना गरी २०० सुरक्षाकर्मी खटेका छन्। त्यसबाहेक २०० स्वयंसेवी भाइबहिनी पनि छन्," कन्दङ्वाले भने।

अघिल्लो साता एन्जियोग्राफी गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको पनि उनले बताए।

ओलीले तेह्रथुमको सुकेपोखरी-ढुंगेसाँघु सडकको शिलान्यास गर्ने र नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गर्ने बताइएको छ।

"उहाँले शिलान्यास र बैंक उद्घाटन सकेपछि घरमा आफ्ना बाल्यकालका साथीसहित बसेर केक काट्नुहुन्छ," कन्दङ्वाले भने, "साथीभाइसँग एकछिन भेटघाट र कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ।"

जन्मदिनमा करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने गरी तयारी भएको पनि कन्दौवाले बताए।

तस्वीर कपीराइट Prakash Lamichhane
Image caption प्रधानमन्त्रीले नेपाल बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ

प्रधानमन्त्री जन्मदिन मनाउन आठराई पुग्दा त्यहाँ विभिन्न विकास निर्माणका कार्यक्रमहरूको शिलान्यास र उद्घाटन रहेकाले आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरूमा विदा समेत दिइएको गाउँपालिकाले जनाएको छ।