गुवे मिनहाइ: चीनमा स्वीडेनी नागरिक पुस्तक विक्रेतालाई दश वर्षको जेल सजाय

  • 25 फेब्रुअरी 2020
गुवे मिनहाइ एउटा प्लाकार्डमा तस्वीर कपीराइट Getty Images
Image caption गुवे वर्षौँदेखि चीनको जेलमा पर्ने र मुक्त हुने भइरहेका छन्

एउटा चिनियाँ अदालतले पुस्तक विक्रेता रहेका स्वीडेनका नागरिक गुवे मिनहाइलाई "विदेशीलाई गैर कानुनी रूपमा गोप्यसूचना प्रवाह" गरेको भन्दै दश वर्षको जेल सजाय सुनाएको छ।

गुवे सन् २०१५ मा थाइल्याण्डमा बिदा मनाउने क्रममा हराएयता कैयौँपटक चिनियाँ नियन्त्रणमा पर्ने र मुक्त हुने क्रम चलेको थियो।

पहिले हङ्कङमा पुस्तक विक्री गर्ने उनलाई पछिल्लोपटक बेइजिङ जाने क्रममा सन् २०१८ मा नियन्त्रणमा लिइएको थियो।

गुवे, ५६, ले चिनियाँ कम्युनिष्ट पार्टी नेताका व्यक्तिगत जीवन सम्बन्धी पुस्तक प्रकाशन गरेको बताइन्छ।

दोहोरो नागरिकता

हङ्कङमा एउटा सानो पुस्तक पसल चलाउने पाँचजना मालिकमध्ये उनी एक हुन्। सन् २०१५ मा पाँचैजना फरकफरक समयमा हराउन पुगेका थिए, तर पछि गुवे बाहेक अरू मुक्त भएका थिए।

चीनको उक्त अदालतले सोमबार एउटा विज्ञप्तिमा उनलाई पाँच वर्षसम्मका लागि राजनीतिक अधिकारबाट बञ्चित गरिएको बताएको छ। विज्ञप्तिमा उनले अदालतको निर्णय विरुद्ध पुनरावेदन नगर्ने पनि जनाइएको छ।

अदालतले उनको चिनियाँ नागरिकता सन् २०१८ मा पुनर्स्थापित गरिएको बताएको छ। गुवेले उनको स्वीडेनको नागरिकता त्यागे नत्यागेको स्पष्ट छैन तर चीनले दोहोरो नागरिकतालाई मान्यता दिँदैन।

जबर्जस्ती स्वीकारोक्ति?

गुवे सन् २०१५ मा थाइल्याण्डबाट हराएर चीनमा भेटिएपछि समाचार बनेका थिए।

उनी हराएपछि गैर कानुनी प्रक्रिया मार्फत् चिनियाँ एजेन्टहरूले अन्तर्राष्ट्रिय सीमाबाट उनको अपहरण गरेको आरोप लगाइएको थियो।

चिनियाँ अधिकारीहरूले भने गुवे र अरू चार जना पुरुषहरू सबै चीनमा आफैँ गएको बताउँछन्।

यी पुस्तक विक्रेताले एक दशक अगाडि एउटा घातक ट्राफिक दुर्घटनामा संलग्न भएको स्वीकार गरेका छन्- उनका समर्थकहरूले त्यो स्वीकारोक्ति बलपूर्वक गराइएको ठान्छन्।

त्यसपछि उनले दुई वर्ष जेलमा बिताउनुपर्‍यो। तर जेलमुक्त भएको केही महिनापछि दुईजना स्वीडेनी कुटनीतिज्ञहरूसँग बेइजिङ जाँदै गर्दा उनलाई पुन: गिरफ्तार गरिएको थियो।

चीनले पछि गुवेसँग लिइएको भिडिओ अन्तर्वार्ता जारी गरेको थियो। त्यसमा उनले स्वीडेनलाई उनको मुद्दा "सनसनीपूर्ण बनाएको" आरोप लगाएका थिए।

एमनेष्टी इन्टरन्याशनल सहितका मानव अधिकारवादी समूले उनको अन्तर्वार्तामा जबर्जस्ती स्वीकार गर्न लगाइएका तत्वहरू रहेको बताएका थिए।

चीनमा अपराध संदिग्धहरूका "स्वीकारोक्ति" भिडिओहरू जारी हुँदै आएको पाइन्छ।

सम्बन्धित सामग्री