संसदमा सरकारलाई विपक्षीका तीन प्रश्न, प्रधानमन्त्रीको जबाफ माग

  • 25 फेब्रुअरी 2020
संसद तस्वीर कपीराइट RSS

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका विपक्षी दलले संसदको अवरोध अन्त्य गर्दै भ्रष्टाचार सहित सरकारमाथि उठेका आफ्ना प्रश्नहरूबारे जबाफ दिन प्रधानमन्त्रीसँग माग गरेका छन्।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनीहरूले सरकार र सत्तारूढ दल जोडिएका कतिपय पछिल्ला विवादले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गराएको उल्लेख गर्दै त्यसबारे प्रश्न गरे।

विपक्षीहरूले हालै सतहमा आएका आर्थिक अनियमितताका आरोपदेखि तामझाम सहित मनाइएको प्रधानमन्त्रीको जन्मदिन र संविधान संशोधनका चर्चाबारे जबाफ दिनु पर्ने बताए।

कांग्रेस सहित समाजवादी पार्टी र राजपाले पनि मङ्गलबारको बैठकमा सरकारको चर्को आलोचना गरेका थिए।

सभामुख अग्नि सापकोटाले विपक्षीका प्रश्नबारे सरकारको ध्यानाकर्षण गराएका थिए।

भ्रष्टाचारबारे यस्ता प्रश्न उठे

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले देशमा भ्रष्टाचारले सीमा नाघेको उल्लेख गर्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको सेक्युरिटि प्रिन्टिङ् प्रेस खरिदबारेको विवादमा जबाफ दिन माग गरे।

उनले नेपाल ट्रष्टका भवनहरू यती होल्डिङ्सलाई 'लामो सम्बन्धका आधारमा' भाडामा दिने निर्णय गरेकाले त्यसमा भ्रष्टाचार भएको पनि बताए।

त्यसबाहेक नेपाल वायुसेवा निगमका लागि 'वाइड बडी' जहाज खरिद गर्दा अनियमितता भएको ठहर संसदीय समितिले गरेको उल्लेख गर्दै उनले त्यसबारे सरकारले छानबिन अघि नबढाएको बताए।

बालुवाटार प्रकरणमा सरकारले अख्तियारलाई प्रभावित गरेको उल्लेख गर्दै रिजालले सरकारले आफ्नो गुटका नेतालाई संरक्षण गर्न खोजेको आरोप लगाए।

नेपाली कांग्रेसका अर्का नेता गगन थापाले प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिन भने पनि व्यवहारमा त्यस्तो नदेखिएको उल्लेख गरे।

उनले भने, "प्रधानमन्त्रीले थाहा पाएर चुप लाग्नुभएको हो भने त्यो पाप हो। थाहा पाउनु भएको छैन भने त्यो असक्षमता हो।"

नेपाली कांग्रेसका नेता रिजालले अझै पनि प्रधानमन्त्रीलाई शंकाको सुविधा दिन आफ्नो दल तयार रहेको बताएका थिए। त्यसका लागि प्रधानमन्त्रीले संसदमा आएर भ्रष्टाचार नहुने सहितका विषयमा आश्वस्त पार्नु पर्ने उनको भनाइ थियो।

कांग्रेसका अर्का नेता थापाले भने प्रधानमन्त्रीलाई आफ्नो दल र सिङ्गो देशको स्वास्थ्यका लागि, उनकै शब्दमाऽ स्वास्थ्य लाभ गर्न सुझाव दिएका थिए।

समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले भ्रष्टाचारबारेमा उठेका प्रश्नका बारेमा प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने, संसदमा जबाफ दिनुपर्ने र संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताइन्।

त्यसको जबाफ दिँदै नेकपाका नेता भिम रावलले भ्रष्टाचारविरूद्ध आफ्नो दल प्रतिबद्ध रहको र पद, पार्टी र पृष्ठभूमि नहेरी कानुनका आधारमा भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गरिने बताए।

कसैलाई पनि पूर्वाग्रह राखेर भ्रष्टाचारी करार गर्न ठिक नहुने भन्दै रावलले भने, "विगतमा यस्ता खालका भ्रष्टाचारका गतिविधि हुँदा कतिपय दलका माथिल्लो ओहदामा बसेका व्यक्तिहरूले त्यो नैतिकता देखाएका थिए कि थिएनन् भन्ने पनि हामीले समरण गर्नुपर्ने हुन्छ।"

प्रधानमन्त्रीको जन्मदिनले राजतन्त्र सम्झायो

यसै साता प्रधानमन्त्री ओलीले आफ्नो जन्म गाउँ तेह्रथुमको ‌आठराईमा मनाएको जन्मदिनले राजा महाराजाहरूले आफ्नो जन्मदिन मनाउने शैलीलाई बिर्साएको भन्दै रिजालले आलोचना गरे।

उनले प्रधानमन्त्रीको जन्मदिनमा 'नयाँ महराजाको सवारी भए जस्तो' ओलीको पुर्ख्यौली घरलाई लागेको हुनसक्ने टिप्पणी गर्दै 'थरी थरीका श्रीपेच लगाएका आफन्तजन र मित्रलाई देख्दा' दिवंगत तात्कालीन एमाले महासचिव मदन भण्डारी के भन्दा होलान् भनेर प्रश्न गरेका थिए।

तस्वीर कपीराइट RSS

विपक्षीहरूले ओलीले मनाएको जन्मदिनले पूर्व राजाले आफ्नो सक्रिय शासन हुँदा देखाउने गरेको वैभवको झल्को मेटाइदिएको टिप्पणी गरे।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीका शुभेच्छुकहरूले आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा उक्त जन्मदिनको कार्यक्रम आयोजना गरेको र त्यसमा राज्यको पैसा खर्च नभएको प्रतिक्रिया दिएको थियो।

उक्त जन्मदिनको कार्यक्रममा सैयौँको संख्याका सहभागीहरूलाई पोशाक र विद्यार्थीहरूलाई डायरी र पेन उपलब्ध गराइएको साथै भोज खुवाइएको विवरण आएका छन्।

संविधान संशोधन

नेकपाले आफ्ना उपाध्यक्ष बामदेव गौतमलाई लक्षित गरि राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था सहित संविधान संशोधन गर्न लागेको विषयलाई समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीका सांसदहरूले विरोध गरेका थिए।

राजपा नेपालका सांसद प्रमोद शाहले संविधान त्रुटीपूर्ण भएको भन्दै तराईमा पटकपटक आन्दोलन भएपनि सरकारले संविधान संशोधन अघि नबढाएको बताए।

उनले नागरिकताको विषयमा कानुन संशोधन नहुँदा तराईमा कैयौँ मानिसहरू राज्यविहीन बनेको उल्लेख गरे।

सत्तारूढ नेकपाका नेता रावलले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षालाई सर्वोपरी राखेर नागरिकता विधेयकलाई अन्तिम रूप दिइनुपर्ने उल्लेख गरे।

व्यक्तिविशेषलाई लक्षित गरि संविधान संशोधन गर्न खोजिनु दु:खद भएको उनले बताए।

नेकपाको सचिवालयले हालै संविधान संशोधनका लागि कार्यदल बनाएको भनिएपनि त्यसका सदस्य भनिएका नेताहरूले नै आफू जानकार नरहेको बताएका छन्।