भारतको प्रगतिबारे ट्रम्पले गरेका विभिन्न सातथरी दाबी कुन हदसम्म सत्य छन् त?

  • 25 फेब्रुअरी 2020
ट्रम्पको भारत भ्रमण तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो भारत भ्रमणको आरम्भमा गुजरात राज्यको अहमदाबादस्थित क्रिकेट रङ्गशालामा भेला भएका दशौँहजार मानिसहरूलाई सम्बोधन गरेका थिए।

उनले त्यो भाषणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उच्च प्रशंसा गरेका थिए र देशको अवस्थामा सुधार ल्याउन उनले लागु गरेका नीतिहरूको सफलता पनि उल्लेख गरेका थिए। ती मध्ये केही दाबी कति सत्यको नजिक छन् त भन्ने परीक्षण तल गरिएको छ।

दाबी १: ट्रम्पले भने " यो शताब्दीको आरम्भदेखि नै, भारतको अर्थतन्त्रको आकारमा छ गुणाले वृद्धि भएको छ।"

रिआलिटि चेक: कुल गार्हस्थ उत्पादन (जीडिपी) को आधारमा मापन गर्दा - अर्थतन्त्रमा उत्पादन भएका वस्तु तथा सेवाको योगफलको हिसाबले राष्ट्रपति ट्रम्पको भनाइ सही छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २००० मा भारतको जीडिपी ४७७ अर्ब डलर थियो। सन् २०१९ मा त्यो अङ्क बढेर २,९४० अर्ब डलर पुगेको छ।

दाबी २: "एउटा दशकमा, भारतले २७ करोड १० लाख मानिसहरूलाई गरिबीबाट मुक्त गरेको छ।"

रिआलिटि चेक: सन् २०१८ मा प्रकाशित एक राष्ट्रसंघीय प्रतिवेदनका अनुसार,अघिल्लो दशवर्षको दाँजोमा, २७ करोड १० लाख कम मानिसहरू सन् २०१६ को राष्ट्रसंघीय व्याख्या अनुसारको गरिबीको सूचकांकभन्दा मुनि रहेका छन्।

तर त्यही प्रतिवेदनले गरिबी न्यूनीकरणको प्रयासमा उपलब्धि हासिल भएको भएतापनि "३६ करोड ४० लाख भारतीयहरू स्वास्थ्य, पोषण, विद्यालय शिक्षा र सरसफाइको क्षेत्रमा चरम अभावको अवस्थामा रहिरहेका छन्" भनेको छ।

तस्वीर कपीराइट AFP

दाबी ३: "प्रधानमन्त्री मोदीको शासनकालमा, पहिलोपल्ट, भारतको प्रत्येक गाउँमा विद्युत सेवा पुगेको छ।"

रिआलिटि चेक: सन् २०१८ मा भारत सरकारले प्रत्येक भारतीय गाउँमा बिजुलीबत्ती पुर्‍याउने आफ्नो लक्ष्य पूरा भएको घोषणा गरेको थियो। तर त्यस्तो दाबीको वास्तविक अर्थ के हो भन्ने बुझ्न जरूरी छ।

यदि कुनै एउटा गाउँको १० प्रशित घरहरूका साथै विद्यालय, स्वास्थ्य केन्द्र जस्ता सार्वजनिक स्थलहरू विद्युत ग्रीडमा जोडिएका छन् भने त्यो गाउँ पूर्ण रूपमा विद्युतीकरण भएको भनेर भारत सरकारले परिभाषित गर्ने गरेको छ।

सन् २०१४ मा नरेन्द्र मोदीले सत्ता सम्हाल्ने बेलामा नै भारतका छ लाख गाउँहरू मध्ये ९६ प्रतिशतमा विद्युतिकरण भैसकेको थियो।

दाबी ४: "राजमार्गहरू निर्माण गर्ने गति दुईगुणाभन्दा बढीले बढेको छ।"

रिआलिटि चेक: प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी सत्तामा आएयता देशमा राजमार्गहरूको कूल लम्बाइ उल्लेख्य रूपमा बढेको सत्य हो।

भारत सरकारले सन् २०१८-१९ मा करिब १०,००० किमी राजमार्ग बनाएको थियो। जुन सन् २०१३-१४ मा अघिल्लो कंग्रेस सरकारको अन्तिम वर्षमा निर्मित राजमार्गको दाँजो दोबरभन्दा बढी हो।

दाबी ५: " ३२ करोड भन्दा बढी भारतीयहरू अहिले इन्टरनेटमा जोडिएका छन्।"

रिआलिटि चेक: यहाँ इन्टरनेट कनेक्शन भनेर भन्न खोजिएको केलाई हो पूर्ण रूपमा स्पष्ट छैन। भारतमा हाल साठी करोडभन्दा बढी इन्टरनेटका नियमित ग्राहकहरू रहेका छन् - भारतको टेलिकम रेगुलेटरी अथोरिटिले यसैलाई इन्टरनेट प्रयोगको मापन भनेर प्रकाशित गर्ने गर्दछ।

यो तथ्यांक हालैका वर्षहरूमा तीब्र रूपमा बढेको छ, राष्ट्रपति ट्रम्पले उल्लेख गरेका ३२ करोडभन्दा पनि बढी।

दाबी ६: "थप साठी करोड मानिसहरूसम्म आधारभूत सरसफाको पहुँच पुगेको छ।"

रिआलिटि चेक: सन् २०१४ को अक्टोबर महिनामा, प्रधानमन्त्री नरेन्द्र मोदीले "स्वच्छ भारत" अभियान आरम्भ गरेका थिए।

यो अभियान अन्तर्गत आधारभूत सरसफाइसम्म पहुँच नभएका घरहरूमा सरकारले शौचालय निर्माण गरिदिएको थियो।

भारतको खानेपानी तथा सरसफाइ विभागको पछिल्लो तथ्यांक अनुसार १० करोड भन्दाबढी शौचालयहरू निर्माण गरिएका छन्। यस हिसाबले हेर्दा ६० करोडको तथ्यांक कताबाट आयो थाहा पाउन सकिएन, तर एउटै शौचालय एकभन्दा बढी मानिसहरूले प्रयोग गर्न सक्दछन्।

तस्वीर कपीराइट Getty Images

दाबी ७: "सातकरोड थप घरधुरीमा, यसलाई विचार गर्नुस्, खाना पकाउने इन्धनको पहुँच पुगेको छ।"

रिआलिटि चेक: सन् २०१६ मा प्रधानमन्त्री मोदीले आरम्भ गरेका एक योजना अन्तर्गत गरिब घरपरिवारलाई खाना पकाउने ग्यास प्रदान गरिएको थियो।

यो योजना अन्तर्गत,निश्चित न्यून आम्दानीको तहभन्दा मुनि रहेका परिवारलाई पाँच करोड तरलीकृत पेट्रोलियम ग्यास (एलपिजि) कनेक्शन दिइने र तीन वर्षसम्म ग्यास सिलिण्डरहरू भर्नकालागि थप आर्थिक सहुलियत प्रदान गर्ने भनिएको थियो।

पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको वेबसाइटका अनुसार, भारत सरकारले यो लक्ष्य प्राप्त गरेको छ, र गत वर्षको सेप्टेम्बर महिनासम्म आठ करोडभन्दा बढी ग्यास कनेक्शनहरू स्थापना भएका थिए।