गण्डकीका केही जिल्लामा नरभक्षी चितुवाको आतङ्क, दुई वर्षमा १० बालबालिका भए सिकार

चितुवा
तस्बिरको क्याप्शन,

खोरमा परेका सातवटा चितुवालाई सुरक्षित रूपमा अन्यत्र लगिएको छ

तनहुँ जिल्लाको भानु नगरपालिकाको केही वडामा सीमित नरभक्षी चितुवाको त्रास दुई वर्षको अवधिमा कास्कीमा पनि विस्तार भएपछि यसको नियन्त्रण सरकारका लागि चुनौती बनेको छ।

चितुवा खोरमा पनि परेका छन्, स्थानीय प्रशासनले आदेश दिएपछि मारिएका पनि छन् तर पनि तिनले मानिसलाई सिकार बनाउन भने छाडेका छैनन्।

यसको अर्थ नरभक्षी चितुवा एक-दुईवटा मात्र होइन, धेरै छन् भन्ने केहीको तर्क छ।

कतै जङ्गलमा भएका सबै चितुवा आहाराको कमीले नरभक्षी बन्ने अवस्थामा पुगेका त होइनन्? यो प्रश्न पनि उठ्ने गरेको छ।

किन बढ्यो द्वन्द्व?

तनहुँ जिल्ला डिभिजनल वन कार्यालयका प्रमुख केदार बराल चितुवाको सङ्ख्या बढेको स्वीकार्छन्।

चितुवा नरभक्षी बन्नुको कारणबारे बीबीसीको जिज्ञासामा उनले विभिन्न कारण ‌औँल्याए।

तस्बिरको क्याप्शन,

फलामे खोरमा परेको चितुवा

यसबारे वैज्ञानिक अनुसन्धान नभए उनका अनुसार निम्नलिखित कारणले गर्दा मानिस र चितुवाको द्वन्द्व बढेको हुन सक्छ:

  • चितुवाले खाने वन्यजन्तु जङ्गलमा कमी हुनु
  • पानीका मूलहरु सुक्नु
  • जङ्गलमा जताततै बाटो बन्नु
  • कतिपय ठाउँमा विद्यालय तथा स्वास्थ्यकेन्द्र आदि भौतिक संरचना बनेर चितुवाको वासस्थान अतिक्रमणमा पर्नु
  • कतिपय जग्गामा खेतीपाती गर्न छाड्दा वनबुट्यान बढेर चितुवा बस्तीनजिक आउनु।

बालबालिका किन बढी पीडित?

दुई वर्षको अवधिमा चितुवाले १० जनालाई आफ्नो सिकार बनायो। उनीहरू सबै १० वर्षमुनिका बालबालिका हुन्।

चितुवाले समान्यतया आफूभन्दा होचो र कमजोरलाई मात्र आक्रमण गर्ने भएको हुँदा कम उमेरका मानिस यसको हिंसक व्यवहारमा परेको वन अधिकृत बरालको ठम्याइ छ।

चितुवा मानिसबाट टाढै बस्न रुचाउँछ। तर जम्काभेट हुँदा भयका कारण वयस्कलाई पनि झम्टिन सक्छ।

तनहुँको भानु नगरपालिकाबाट चितुवाले नरभक्षी व्यवहार प्रदर्शन गर्न सुरु गरेको हो।

पहिलो पटक २०७४ फागुन १ गते भानु नगरपालिका दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ चितुवाको सिकार भए।

गत कात्तिकमा फुस्रेटारका रितिक रोकाको चितुवाले ज्यान लियो। तर त्यसपछि भानु नगरपालिकामा नरभक्षी चितुवाको आतङ्क रोकिएको र यसले आफ्ना हिंसक गतिविधि अन्य गाउँ र नगरपालिकामा बढाएको वन अधिकृत केदार बरालले जानकारी दिए।

Map

पुस १४ मा कास्कीसँग जोडिएको शुक्लागण्डकी नगरपालिकाको रातमाटामा ११ महिने दूधेबालक रबिन नेपाली, पुस २० मा आँबुखैरेनी गाउँपालिका रानागाउँका आठ वर्षीय पूजन सिन्जाली र माघ १३ मा बन्दीपुर गाउँपालिका लोहीपाखाका इशक सुनार सिकारमा परे।

दुई वर्षको अवधिमा चार बालबालिका र एक महिला चितुवाको आक्रमणमा परेर घाइते भए।

किन बढ्यो चिन्ता?

पछिल्लोपटक चितुवाले गत माघ २३ गते पोखरा महानगरपालिका ३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई सिकार बनाएपछि चितुवा नियन्त्रणको जिम्मा लिएका वनका अधिकारीहरूलाई चिन्तित बनाएको छ।

तस्बिरको क्याप्शन,

चितुवालाई समात्ने परम्परागत काठेखोर

कास्कीका डिभिजनल वन अधिकृत रामकाजी श्रेष्ठ सीमावर्ती शुक्लागण्डकीमा आतङ्क मच्चाउने चितुवाका भालेपोथी कास्कीतिर आएर नरभक्षी बनेको बताउँछन्।

कास्कीमा घटना हुनु केही दिनअघि मात्र एउटा भाले चितुवा समातेर वन्यजन्तु आरक्ष पठाइएको पनि उनले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका प्राध्यापक डा. तेजबहादुर थापा वृद्ध भएपछि सिकार गर्न नसकेर घाइते भएका र माउसँग छुट्टिएका तर आफ्नो क्षेत्र नजमाइसकेका दुई-तीन वर्षका चितुवाले पनि बालबालिकालाई सिकार बनाउने सम्भावना हुने बताए।

तनहुँमा नियन्त्रणमा लिइएका सबै चितुवा नरभक्षी हुन् भन्न नसकिने उनको बुझाइ छ।

चितुवा समात्न परम्परागत काठेखोर

चितुवालाई नियन्त्रणमा लिन सरकारले विभिन्न प्रयास गर्दै आएको छ।

परिणामस्वरूप तनहुँबाट सातवटा चितुवा नियन्त्रणमा लिई चितवन राष्ट्रिय निकुञ्ज र बुटवलको पार्कमा हस्तान्तरण गरिएको जानकारी वन अधिकृत बरालले दिए।

नियन्त्रणको क्रममा फलामको खोरमा चितुवा नपरेपछि परम्परागत काठेखोर प्रयोगमा ल्याइयो। त्यसमा चितुवा पर्न थाले।

यसमा खोरको एकापट्टि सुरक्षितरूपमा बाख्रा राखिन्छ र चितुवा पस्न अर्कोपट्टि बाटो राखिन्छ। चितुवा बाख्रा खान खोरमा पसेपछि ढोका आफैँ बन्द हुन्छ।

यसरी काठेखोरमा छवटा र पछिल्लो पटक फलामेखोरमा पनि एउटा चितुवा परेको छ।

चितवनबाट चितुवा समात्न १२ वटा फुटट्रयाप अर्थात् पासो ल्याएर प्रयोग गरिएको भए पनि सफल हुन नसकेको बताइएको छ।

क्षतिपूर्तिको व्यवस्था के छ?

बालबालिकालाई चितुवाले आक्रमण गर्न थालेपछि सचेतना अभियान पनि वन कार्यालय र स्थानीय निकायले सञ्चालन गरेका छन्।

घरवरपर भएका झाडी फाँड्ने, बत्तीको प्रबन्ध गर्ने, साँझ परेपछि घरभित्रै बस्ने आदि उपाय सुझाइएको छ।

जङ्गलको बाटो भएर विद्यालय जानु वा घर फर्किनु पर्दा अभिभावकले बालबालिकालाई समूहमा लाने ल्याउने उपाय अपनाइएको आँबुखैरेनी गाउँपालिका ढकालटारकी रजनी चुमानले बताइन्।

वन्यजन्तुको क्षति राहत निर्देशिका २०६९ अनुसार मान्छेको ज्यानै गएको अवस्थामा रु १० लाखसम्म दिने र घाइतेलाई दुई लाख रुपैयाँसम्म दिने प्रावधान छ।

तदनुरूप ६५ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको तनहुँका वन अधिकृत केदार बरालले जानकारी दिए।

तर पछिल्ला केही घटनाको क्षतिपूर्ति दिन बाँकी रहेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ,

बर्दियाका जङ्गलमा बाघ यसरी घुम्छन्