केपी शर्मा ओली: अस्पताल भर्ना हुन जानुअघि प्रधानमन्त्रीले, ‘म अलप हुन्नँ’

प्रम ओली

तस्बिर स्रोत, PM's Secretariat

तस्बिरको क्याप्शन,

अस्पताल भर्ना हुन जानु अगाडि प्रधानमन्त्रीले भिडिओ सन्देश दिएका छन्

बुधवार मिर्गौला प्रत्यारोपण गराउनका निम्ति सोमवार साँझ काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा भिडिओ सन्देशमार्फत् आफू चाँडै निको भएर पूर्ववत् काममा फर्किने विश्वास व्यक्त गरेका छन्।

आत्मविश्वासी देखिएका प्रधानमन्त्री ओलीले विगतको निर्वाचन र त्यसले जगाएका 'सपना'को स्मरण गर्दै आफू बीचमै मैदान छाडेर नजाने दृढता प्रकट गरे।

"जसरी खेलको बीचमा 'राम्रो खेलाडी'ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्नँ।"

"संसारमा कोही पनि अजम्मरी छैन। मेरो यो सङ्कल्प पनि अजम्मरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ," उनले भने।

"म पुनः एक पटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस्।"

देशभित्रै उपलब्ध उपचारमा गौरव

विसं २०६४ साउन महिनामा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीले त्यति बेला देशभित्र प्रत्यारोपणको सुविधा उपलब्ध नभएको स्मरण गरे।

तर अहिले भने देशभित्रै प्रत्यारोपण गर्ने सुविधा प्राप्त भएकोमा उनले गौरव प्रकट गरेका छन्।

"विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल मानिँदैन। यस पटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु।"|

"त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पनि छु।"

नियमित काम नरोकिने

आफू बिरामी भएर अस्पतालमा बसुन्जेल सरकारका नियमित काम नरोकिने प्रधानमन्त्री ओलीले बताएका छन्।

तस्बिर स्रोत, PM's Secretariat

"विश्वलाई नै पिरोलिरहेको कोरोनाभाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भइपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु," उनले भने।

केही दिनको अस्पताल बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्किने प्रधानमन्त्रीले बताएका छन्।

भिडिओ सन्देश दिएको केही समयपश्चात् प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुन गएका थिए।