कोरोनाभाइरस: स्थलमार्गबाट धेरै विदेशी नेपाल आउने बेलहिया नाकामा स्वास्थ्य जाँचको स्थिति के छ

  • माधव नेपाल
  • बीबीसी न्यूज नेपाली
नाका

नेपालमा विदेशबाट कोरोनाभाइरसको सङ्क्रमण भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने बताएको छ भने भारत र चीनसँगका सीमानाकाहरूमा स्वास्थ्य सहायता कक्षहरू संचालन गरिरहेको छ।

कोभिड-१९ को संक्रमणको त्रास फैलिरहँदा हवाई मार्गबाट विदेशबाट मानिसहरू नेपाल भित्रिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका सीमानाकामा स्वास्थ्य जाँच गर्ने जनशक्त‌ि, उपकरण लगायतका व्यवस्थामा सर्वसाधारणले पनि विशेष चासो अनि चिन्ता व्यक्त गरिरहेका छन्।

चिन्ताका प्रसंगमा कोरोनाभाइरस संक्रमण रहे नरहेको जाँच गर्नका लागि यात्रुहरूको संख्याको अनुपातमा स्वास्थ्य जनशक्ति, उपकरण, क्वारन्टीन गर्ने प्रकृया, संक्रमण रोक्न सघाउने 'स्यानिटाइजर' जस्ता औषधि आदिको अपर्याप्तता जस्ता कुरा उठ्ने गर्छन्।

विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोभिड-१९ संक्रमणको उच्च जोखिम रहेको देश मध्येमा पर्ने बताएको सन्दर्भमा सरकारी पक्षले परीक्षण तथा सावधानीका उपयुक्त र आवश्यक व्यवस्था गरिएको दावी गर्ने गर्दछ।

यसै सिलसिलामा स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटकहरू नेपाल भित्रिने भारतसँगको एक प्रमुख नाकामा बेलहियामा अध्यागमन र स्वास्थ्य कर्मचारीहरूले कस्तो अवस्थामा काम गरिरहेका छन् त?

अध्यागमन कार्यालय बेलहियाका अनुसार बिहीवार बिहान करिब १० बजे सो नाका हुँदै भारतबाट ७२ जना पर्यटकहरुको एक टोली नेपाल प्रवेश गरेको थियो।

अध्यागमन कार्यालयले स्वास्थ्य जाँचको सामान्य प्रक्रिया पुरा गरेर उनीहरुलाई नेपाल प्रवेशको अनुमति दिएपछि उनीहरू पोखरातर्फ लागेका थिए।स्वास्थ परीक्षण गर्दा उनीहरुलाई ज्वरो आएको पाइएन। सर्सर्ती परीक्षणमा उनीहरूमा रुघाखोकी जस्तो फ्लुका लक्षणहरू पनि नदेखिएको उपस्थित स्वास्थ्यकर्मीले बताए।

सो नाका हुँदै भारतीयका साथै विभिन्न तेस्रो देशका मानिसहरू नेपाल भित्रिने क्रम वा प्रकृयामा कुनै परिवर्तन गरिएको छैन।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले भने, "कोरोनाभाइरस सङ्क्रमण देखिएका देशका पर्यटकहरू आइरहेका छन्। हामीले सामान्य स्वास्थ्य परीक्षण गरेपछि उनीहरूलाई प्रवेशको अनुमति दिँदै आएका छौँ।

"भाइरस सङ्क्रमण नेपाल प्रवेश गर्छ कि भन्ने त्रास त हुन्छ तर हामी उनीहरूलाई रोक्न पनि सक्दैनौँ किनभने सरकारले रोक्न भनेको छैन।"

उपकरण जनशक्ति

अध्यागमन कार्यालय नजिकै जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सहायता कक्ष राखेको छ र जाँचको सबै काम एक जना स्वास्थ्य सहायकले गरिरहेका छन्।

उनीसँग रक्तचाप र ज्वरो नाप्ने उपकरण रहेको छ।

बिहीवार बिहान १० बजेसम्म चौधरीले ७५ जना पर्यटकहरुको स्वास्थ्य परिक्षण गरिसकेका थिए।

चौधरीका अनुसार सबै पर्यटकहरू त्यति बेलासम्म सामान्य स्वास्थ्य अवस्थामा नै रहेका पाइएको थियो।

"शङ्का लागेमा समान्य रुघाखोकी ज्वरो र श्वासप्रश्वासको जाँचिरहेका छौँ। उनीहरू सबै ठिकै छन् जस्तो लागेर नेपाल प्रवेश गर्न पनि दिइरहेका छौँ," चौधरी बताउँछन्।

विदेशी वाहेक नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई भने यहाँ जाँचको व्यवस्था छैन र उनीहरू कति आउँछन् कति जान्छन् भनेर अभिलेख राख्ने संयन्त्र पनि नरहेको बताइएको छ।

बेलहिया नाकाका अध्यागमन कार्यालयका अनुसार बेलहियाबाट वर्षेनी एक लाख पचास हजारको हाराहारीमा पर्यटकहरू नेपाल आउने गर्छन्।