कोरोनाभाइरस: संसद‍्मा जरूरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल

प्रतिनिधि सभा

तस्बिर स्रोत, RSS

कोरोनाभाइरस सङक्रमणको जोखिम नेपालमा पनि उच्च रहेको भन्दै सरकारले विभिन्न प्रयासहरू गरेको बताइरहँदा सो विषयमा संसदमा छलफल भएको छ।

सरकारले सङ्क्रमण रोक्नको लागि के गरिरहेको छ, भोलि सङ्क्रमण देखिए त्यसका लागि तयारी के छ भन्नेबारे बुझ्नका लागि उक्त प्रस्ताव पेश गरिएको प्रस्तावक काङ्ग्रेस नेता गगन थापाले बताएका छन्।

"अहिले मानिसहरूमा कोरोनाभाइरसलाई लिएर सन्त्रास देखिएका बेला सरकारले कसरी काम गरिरहेको छ भन्ने थाहा पाउकालागि यो प्रस्ताव पेश गरेको हो," थापाले बीबीसीलाई भने।

कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि सरकारले रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा एउटा उच्चस्तरीय समिति गठन गरेको छ।

शुक्रवार पेश भएको प्रस्तावले उक्त समितिले कसरी काम गर्दैछ, सरकार कति तयारी अवस्थामा छ लगायतका विषयमा सरकारलाई सोध्ने र उसको जवाफ जान्न खोजिएको थापाले बताए।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले गठन गरेको समितिको कामको निरीक्षण गर्ने समिति पनि संसद्‌ले गठन गर्नुपर्ने माग गरेका छन्।

"हाम्रा दुवै छिमेकमा सङ्क्रमणको असर देखिसक्दा हामीमा अहिलेसम्म त्यो देखापरेको छैन भन्नुको मतलब हामीसँग तयारी गर्ने समय छ," थापाले भने।

इरानमा जस्तो एकाएक सङ्क्रमण व्यापक देखिए त्यसको सामनाकालागि पनि नेपाल तयार रहनुपर्ने सुझाव रहेको उनको भनाइ छ।

सरकारलाई सुझाव

- स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर सुरक्षाका विषयमा तयारी अवस्थामा राख्नुपर्छ। परिस्थिति जस्तो आए पनि काम गर्नसक्छु भन्ने मनोबल उनीहरूमा विकास गर्नुपर्छ।

-राष्ट्रिय प्रयोगशालासँगै अरू दुई/तीनवटा प्रयोगशालालाई पनि तयारी अवस्थामा राख्नुपर्छ।

-प्रत्येक अस्पतालमा अनिवार्य रुपमा आइसोलेसन अर्थात् बिरामीका लागि छुट्टै कक्षको व्यवस्था गर्ने अवस्था बनाउनुपर्छ। अस्थायी अवस्थाका लागि त्यस्तो व्यवस्था गर्न खासै गाह्रो पनि छैन।

-आवश्यकता अनुसार सघन उपचारका लागि पनि उपकरण, ठाउँ र सुविधा भएका अस्पताललाई तयार राख्नुपर्छ।

-स्वास्थ्य प्रविधिसम्बन्धी सामग्री नियन्त्रण कार्यविधि लागु गर्न सके बजारमा देखिएको सन्त्रासको समाधान आउँछ।

-सरकारले जनतालाई सङ्क्रमण रोकथाम वा देखिएको अवस्थामा गर्न लागेका कुराबारे जनतालाई आश्वस्त पार्नुपर्छ।

-स्वास्थ्य मन्त्रालयकै नेतृत्वमा एउटा समिति बनाएर जनताले सङ्क्रमणको जोखिमका बेला के के गर्नुपर्छ भन्नेबारे निरन्तर रुपमा सन्देश दिनुपर्छ।

-विदेशबाट घर फर्किएको मानिस 'सेल्फ आइसोलेसनमा' घरमै बस्ने विषयमा प्रोटोकल तयार गर्नुपर्छ।

प्रस्तावको महत्त्व

सत्तारूढ नेकपाका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले छलफलले सरकारलाई कोरोनाभाइरसबारे आइरहेका प्रश्नबारे जवाफको मौका दिने बताए।

"यस्तो सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्दा जनताको प्रत्यक्ष सरोकारका विषयमा संसद् छलफल गरिरहेको छ र जनताप्रति जवाफदेही छ भन्ने सन्देश जान्छ," अधिकारीले भने।

सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएपछि त्यसमाथि सांसदहरूले धारणा राख्ने अनि सरकारले त्यसमा जवाफ दिने अभ्यास छ।