पत्रकार वीरेन्द्र साह हत्या: मुख्य अभियुक्त १२ वर्षपछि पक्राउ, पत्नी भन्छिन्, 'बाँकी दुई जना पक्राउ परे बल्ल पूर्ण न्यायको अनुभूति'

  • माधुरी महतो
  • बीबीसी न्यूज नेपाली
प्रहरी

बाराका पत्रकार वीरेन्द्र साहको हत्याका प्रमुख अभिमुक्तलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले कुन्दन फौजदार भनिने ४५ वर्षीय नरेन्द्र फौजदारलाईआइतवार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

फरार रहँदै आएका बारागढी गाँउपालिका-६ गढहलका फौजदारलाई प्रहरीले आइतवार बिहान २ बजे उनकै गाउँबाट पक्राउ गरिएको जनाएको छ।

उनलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले अवरोध गरेपछि हावामा गोली हान्नुपरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

कसरी भएको थियो हत्या?

पंगेनीका अनुसार पक्राउ परेका फौजदारमाथि कर्तव्य ज्यान, डाँका, लागुऔषध लगायतका मुद्दा पनि छन्।

शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) सँग आबद्ध कुन्दन नेतृत्वको टोलीले टाँगियाबस्ती जङ्गलमा लगेर साहको हत्या गरेको आरोप छ।

फौजदारसम्बन्धी मुद्दा मुल्तबीमा रहेकाले उनलाई अदालतमा बुझाइने बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

यसै घटनामा संलग्न जितपुर-सिमरा उपमहानगरपालिका-२० बसडिलवाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गत वर्ष छुटेका थिए।

रामएकबाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक पंगेनीका अनुसार साहको हत्यामा संलग्न मुख्य योजनाकारमध्येका लालबहादुर चौधरी र इनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्।

के भन्छिन् पत्नी?

पत्रकार साहको हत्या हुँदा उनका दुई सन्तानमध्ये छोरा चार वर्षका थिए भने छोरी अढाइ वर्षकी थिइन्।

त्यति बेला आफ्नोभन्दा बालबच्चाको जीवन बचाउन त्रासमा नै जिन्दगी बिताउन परेको साहकी पत्नी उमरामवती देवीले भनिन्।

हत्यामा संलग्न भनिएका पाँच जनामध्ये तीन जना पक्राउ परेपछि दिवङ्गत पतिको आत्माले केही हदसम्म भए पनि शान्ति पाउने उनको भनाइ छ।

यद्यपि बाँकी दुई जना पनि पक्राउ परेको दिन मात्रै पूर्ण न्यायको अनुभूति हुने उनी बताउँछिन्।

"श्रीमान् अपहरणमा परेको खबरले नै मनमा चिन्ता बढेको थियो। पैँतीस दिनपछि शव फेला परेदेखि हालसम्म मेरो जीवन सङ्घर्षमा बितिरहेको छ।"

"मसहित मेरा बालबच्चालाई बेसहारा बनाइदिएका दोषीलाई छोड्नुहुन्न।"

तस्बिरको क्याप्शन,

वीरेन्द्र साहका छोरा

हाल उनका छोराछोरी बारा जिल्लाबाहिर अध्ययन गरिरहेका छन्।

'हत्याको शोकमा बुवाको निधन भयो'

भैयाराम साह, हत्या गरिएका पत्रकार शाहका कान्छो भाइ

एभिन्यूज टेलिभिजनमा कार्यरत मेरा दाइलाई २०६४ साल असोज १८ गते दिउँसो ३ बजेतिर पाँच जनाको समूहमा आएका व्यक्तिहरूले पिपरा बजारबाट अपहरण गरी लगे।

बाराको घरमा भाउजू, दाइका दुई साना छोराछोरी, बूढो बुवा र बूढी आमा मात्रै हुनुहुन्थ्यो।

त्यति बेला वीरगन्जस्थित एउटा ब्याङ्कमा मैले जागिर खाएको डेढ महिना मात्रै भएको थियो।

दाइ अपहरणमा परेको थाहा पाएपछि काम छोडेर म पनि खोजीमा लागेँ।

तस्बिरको क्याप्शन,

भैयाराम साह

अपहरण भएको ३५ दिनपछि उहाँको शव डुमरवानामा पर्ने टाँगियाबस्तीको जङ्गलमा गाडिएको अवस्थामा २०६४ साल कार्तिक २३ गते फेला पर्‍यो।

चार दाजुभाइमध्ये माइलो सन्तानका रूपमा रहेका मेरा दाइ शालीन स्वभावका र हरेक दिन खोजमूलक समाचार खोज्ने पत्रकार हुनुहुन्थ्यो।

दाइको हत्याको शोकमा ८५ वर्षीय बुवा काजकिरियाकै क्रममा ११ औँ दिनमा बित्नुभयो। उहाँलाई कुनै रोग थिएन।

घर छोडेर जिल्लाबाहिर जाने अवस्था नदेखिएपछि र दाइको हत्यारालाई चुनौती दिन भन्दै मैले पनि पत्रकारिता पेसा रोजेँ।

मुख्य योजनाकारमध्ये अर्का एक जना पक्राउ परेको खबरले अलिकति भए पनि अहिले राहत महसुस भएको छ।