कोरोनाभाइरस: कतारमा नेपालीलाई आवागमनमा अस्थायी प्रतिबन्ध, सोमवार 'यात्रु लिन मात्रै' नेपाल वायुसेवाको विमान उड्ने

कतार

तस्बिर स्रोत, AFP

कतारले सोमवारबाट लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आवागमनमा अस्थायी प्रतिबन्ध लगाएपछि नेपालको राष्ट्रिय ध्वजावाहकले यात्रु लिनका लागि मात्र सोमवार उडान गर्ने नेपाल वायुसेवा निगम (एनएसी)की प्रवक्ता अर्चना खड्काले बीबीसीलाई बताइन्।

त्यसबाहेक नेपालमा दैनिक तीनवटा उडान गरिरहेको कतार एअरवेज र सातामा चार उडान गर्ने हिमालय एअरलाइन्ससमेत प्रभावित हुने अवस्था सिर्जना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका एक अधिकारी केशव भट्टराईले भने: "तर कतार एअरवेजले अन्य देश यात्रा गर्ने 'ट्रान्जिट' यात्रुहरू भने बोक्ने जानकारी हामीलाई दिएको छ। आज भने कतार एअरवेजका तीनवटै उडान तालिकामा कुनै फेरबदल भएको जानकारी आइपुगेको छैन।"

यद्यपि यसकै कारण कतार एअरवेजका उडान सङ्ख्या भने अब घट्नसक्ने अधिकारीहरू बताउँछन्।

प्रमुख गन्तव्य

एनएसी, हिमालय एअरलाइन्स र कतार एअरवेजले कतारमा दैनिकजसो उडान गर्दै आएकामा यस व्यवस्थाले ती प्रभावित हुने देखिएको हो।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले सोमवार सार्वजनिक विदा भएकाले मङ्गलवार उडानको निरन्तरताका विषयमा निर्णय गरिने बताइन्।

उनले भनिन्: "हामीहरू दुई विन्दूमा मात्र उडान गरिरहेकाले कतारमा नेपाली नै जान नपाउने भएपछि उडान गरिराख्नुको अर्थ देखिँदैन। कतार ट्रान्जिट पारेर हाम्रो विमान सेवाबाट अन्यत्र जानेहरू पाँच प्रतिशतभन्दा कम छन्।"

त्यसैगरी दोहाका लागि सातामा चार उडान गरिरहेको हिमालय एअरलाइन्ससमेत यसको मारमा पर्ने देखिन्छ।

कतारमा तीन लाख ६० हजारभन्दा बढी नेपालीहरू कार्यरत रहेको परराष्ट्र मन्त्रालयको विवरणले देखाउँछ।

यसअघि कतारले इटलीमा भने आफ्ना उडानहरू नै रोकेको थियो।

तस्बिर स्रोत, Embassy of Nepal, Doha

त्यहाँ आइतवारसम्म १५ जनामा कोरोनाभाइरस भेटिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।

यात्रु आवतजावत 'आधाभन्दा कम'

यसअघि नै चीनमा आउजाउ गर्ने तीनवटा विमान सेवाहरू तिब्बत एअर, सिचुआन एअर र हिमालयन एअरलाइन्सले आफ्ना सबै उडानहरू रद्द गरेका थिए।

अनिश्चितकालका लागि रोकिएका ती उडानहरू पुन: सञ्चालन गर्नेबारे अहिलेसम्म कुनै 'छनक नपाइएको' उड्डयन अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

चीनका लागि उडान कायम राखेका बाँकी तीन विमान सेवाले समेत उडान सङ्ख्या दुई तिहाईभन्दा कमले घटाएका छन्।

हवाईयात्रुको सङ्ख्या अन्यत्रसमेत निकै घटेको पाइएको विमानस्थलका अधिकारीहरूले बीबीसीलाई बताए।

विमानस्थलका एक अधिकारीका अनुसार धेरै यात्रु (झण्डै ३ सय) बोक्ने मध्येको थाइ एअरवेजले समेत सोमवार एक सय यात्रु बोकेर काठमाण्डूबाट उडेको थियो।

नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने: "पहिले हप्तामा पाँच दर्जनजति फ्लाइटहरू हुनेमा अहिले एक दर्जनभन्दा कम भएका छन्। त्यसमै पनि यात्रु सङ्ख्या आधाभन्दा कमले घटेको छ।"

कतारस्थित नेपाली दूतावासले समेत सोमवार त्यहाँ रहेका नेपालीहरूका नाममा एक विज्ञप्ति जारी गर्दै 'अत्यावश्यक अवस्थामा बाहेक भेटघाट र भौतिक सम्पर्क नगर्न' अनुरोध गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरस रोक्ने पाँच देशको प्रयास