कोरोनाभाइरस: नेपालमा तेस्रो व्यक्तिमा सङ्क्रमण भएको पुष्टि
- केशव कोइराला र नेत्र केसी
- बीबीसी न्यूज नेपाली

तस्बिर स्रोत, PA
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो
नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।
योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।
प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।
विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको हो।
मङ्गलवार राति परीक्षणको परिणाम आएको गुप्ताले बीबीसी न्यूज नेपालीलाई बताए।
सबै सङ्क्रमितमा के छ समानता?
अहिले सङ्क्रमण भएको पुष्टि भएका व्यक्ति गत साता (चैत्र ६ गते) एअर अरेबियाको विमान G-9537 चढेर यूएईको शारजाहबाट स्वदेश फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि सङ्क्रमण भएको पुष्टि भएका दुई जना पनि विदेशबाट फर्किएका नेपाली नागरिक हुन्।
अपराह्ण आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धादिङ निवासी ती ३२ वर्षीय व्यक्ति कतारबाट आएको बताएका थिए। पछि मन्त्रालयका प्रवक्ताले एउटा विज्ञप्तिमार्फत् ती व्यक्ति आएको स्थानको विवरण संशोधन गरे।
केही दिन काठमाण्डूको एउटा होटलमा बसेर ज्वरो र रुघाखोकी आएपछि उनी आफैँ टेकुस्थित अस्पताल गएको ढकालले बताए।
मन्त्री ढकालका अनुसार उनी बसेको होटल र उनको सम्पर्कमा आएका सम्भावित मानिसको खोज र परीक्षण विधिपूर्वक गरिनेछ।
६८७जाँचिएको नमुनाको सङ्ख्या
६८४सङ्क्रमण भेटिएन
३सङ्क्रमण भेटियो
फेब्रुअरी महिनामा वुहानबाट नेपाल फर्किएका एक विद्यार्थीमा पहिलो पटक सङ्क्रमण देखिएको थियो। अहिले उनी स्वस्थ भइसकेका छन्।
गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा केही दिनअघि सङ्क्रमण भएको पुष्टि भएको थियो।
उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा अहिले उपचार भइरहेको छ।
दोस्रो व्यक्तिमा कोरोनाभाइरस भएको पुष्टि भएपछि सङ्क्रमण फैलिन नदिन सरकारले मङ्गलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
के छ विश्वभरिको स्थिति?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ विश्वका १९६ देश तथा क्षेत्रमा पुगेको पुष्टि भएको छ।
नेपाली समयानुसार बुधवार दिउँसो १:३० सम्म प्राप्त विवरणअनुसार कुल ३,७५,४९८ जनामा सङ्क्रमण भएको र तीमध्ये १६,३६२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
सङ्क्रमितमध्ये एक लाखभन्दा बढी जना निको भइसकेको बताइन्छ।
चीनको वुहानबाट फैलिन थालेको महामारीको केन्द्रबिन्दु अहिले युरोप बनेको छ। युरोपका इटली, स्पेन र फ्रान्स सर्वाधिक प्रभावित देश हुन्।
इटलीमा अहिलेसम्म ६,००० जनाभन्दा बढी र स्पेनमा २,१०० भन्दा बढी बिरामीको ज्यान गइसकेको छ।
चीनमा ८१,७०० भन्दा बढी मानिसमा सङ्क्रमण भेटिएकोमा ३,२८३ जनाको मृत्यु भयो।
तर अहिले त्यहाँ सङ्क्रमणको दर घटेको छ।
के छ दक्षिण एशियाको स्थिति?
दक्षिण एशियाका आठवटै देशमा सङ्क्रमण देखिएको छ। सर्वाधिक सङ्क्रमित व्यक्ति पाकिस्तान र भारतमा छन्।
तस्बिर स्रोत, Getty Images
पाकिस्तानमा सङ्क्रमण भएका मानिसको सङ्ख्या सर्वाधिक छ
कोभिड-१९ का कारण भारतमा सर्वाधिक नौ जनाको मृत्यु भएको छ।
पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या १,००० नाघेको सरकारी तथ्याङ्कले देखाएको छ। तीमध्ये सात जनाले ज्यान गुमाएका छन्।
बाङ्ग्लादेशमा चार जना र अफगानिस्तानमा एक जनाको मृत्यु भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले दिएको छ।
सबै देशले सङ्क्रमण नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।
भारतले मङ्गलवार मध्यरातदेखि लागु हुनेगरी देशभरि २१ दिन हिँडडुल र अत्यावश्यकबाहेक अन्य गतिविधिमा प्रतिबन्ध लगाएको छ।
वास्तवमा कोरोनाभाइरस के हो?